यस्तो छ गोरखाका मृतकको कन्ट्रयाक्ट हिस्ट्री

आइतबार बिहान मृत्यु भएका पालुङटारका कोरोना संक्रमित ४ दिनअघि मात्र गोरखा आएका थिए । कतारबाट १७ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका उनी सोही दिन बेलुका पालुङटार आइपुगेका थिए ।

बिहान ७ बजे काठमाडौं आइपुगेका उनी दिउँसो ५ बजे वडा नं. ७ को क्वारेन्टिन पुगेका थिए । पालुङटार वडा नं. ७ का वडाध्यक्ष वसन्तकुमार श्रेष्ठले आफूसँग समन्वय गर्दै नेपाल फर्किएका उनी काठमाडौंबाट डुम्रेसम्म माइक्रोमा आएको जानकारी दिए ।

मधुमेह र कडा निमोनियाका बिरामी ती ४४ वर्षीय पुरुषको अवस्था त्यति बेलै नाजुक भइसकेको थियो । वडाध्यक्ष श्रेष्ठले भने, ‘आउँदा नै उनी निकै बिरामी देखियो । समस्याग्रस्त देखियो । इमर्जेन्सीमा राखेर पिसिआर जाँच गर्न पठाइयो । १९ गते रिपोर्ट पोजेटिभ आयो ।’

अवस्था गम्भीर हुँदै गएको कोरोना पोजेटिभसमेत देखिएपछि उनलाई एम्बुलेन्समार्फत् शुक्रबार राति अस्पताल पठाइएको पालुङटारका मेयर दीपकबाबु कँडेलले जानकारी दिए । उपचारकै क्रममा शनिबार बिहान ५ बजे उनको मृत्यु भयो ।

मृतकको अन्तिम संस्कारको बारेमा छलफल हुँदै गरेको र आफू पनि गोरखा जाँदै गरेको मेयर कँडेलले जानकारी दिए ।

उनी सरकारले व्यवस्था गरेको एउटा माइक्रोमा डुम्रेसम्म आएका थिए । पोखरातर्फै जाने विदेशबाट फर्किएका अन्य नेपाली पनि त्यो समूहमा थिए ।

डुम्रेबाट पालुङटार नगरपालिकाले नै उनलाई त्यहाँ लगेका थियो । त्यहाँबाट उनलाई उनकै घरनजिकको क्वारेन्टिनमा राखियो । पिसिआर परीक्षणका लागि केही दिन लग्ने भए पनि आकस्मिक परीक्षणमा पठाएर भोलिपल्टै रिजल्ट आएको मेयर कँडेलले जानकारी दिए ।

उनले नगरपालिकाभित्र उनी कसैको सम्पर्कमा नआएको तर माइक्रोमा सबारहरु बारे भने जानकारी नभएको बताए । उनले भने, ‘१०÷१२ जना थिए माइक्रोमा भन्ने सुनियो, उनीहरु कहाँका हुन् भन्ने मलाई जानकारी भएन ।’

अब गण्डकीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकीमा थप १६ जनामा संक्रमण पुष्टि भएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।