असार १५ बारे २ गजल


१.गजल

तिमी रोप्थ्यौ म साउथेँ छुट्टै पल थियो ।
मिठो लाग्ने तिम्रो हातको चिसो जल थियो ।।

त्यो क्षण सम्झना भो आज दुबै कता कता ?
मेला छुट्ने बेला आँखा आँसु भल थियो ।।

पाए माग्थेँ म त्यही बालापन जिन्दगीको
नपाइने समयको निर्मम छल थियो ।।

गाउँ गाउँ झै छैन अचेल जमिन रुखो भाछ
रसायनिक होइन छर्ने कम्पोस्ट मल थियो ।।

हिलो खेल्दै रम्थ्यौँ आँप, लिचि खाइन्थ्यो कति
पोको पार्न मखमली तिम्रै सल थियो ।।

सरल, सहज लाग्थ्यो जीवन आज जटिल लाग्छ
समस्याको हलमा रमाइलो छलफल थियो ।।

२. गजल
असार पन्ध्र सँगै हिलो खेलेको सम्झन्छु
खाजा खान सँगै रोटी बेलेको सम्झन्छु ।।

सुख दुःख जीवन यस्तै भनी मन बुझाउँदै
घाम, पानी हुरीसँगै झेलेको सम्झन्छ ।।

मेला जाने बेला बाइक स्टार्ट नभएर
दुबै मिलि वर्कसपसम्म ठेलेको सम्झन्छु ।।

मनका धनी परिश्रमी, लगनशील हामी
तर साहुले गरिब भन्दै पेलेको सम्झन्छु ।।

घाम–पानीले लुकामारी गथ्र्यो घरिघरि
घाममा आँगनभरी मकै रेलेको सम्झन्छु ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं