पुष्पलाल : क्रान्तिका सतिसाल


नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लाको भङ्गेरीमा बुवा भक्तलाल र आमा तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो । पुष्पलालका एक दाजु गङ्गालाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवम् बहिनी पुष्पलता हुन् ।

पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो । वि.सं. १९९७ माघ महिनामा आफ्ना दाजु शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा स-परिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ भन्नुभएको थियो र दाजुको त्यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बन्यो।

वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो । संघमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञा पत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो । संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका (सीपमूलकसमेत) तालिम दिन्थ्यो। भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२मा भारत, पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो।

शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा स-परिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ भन्नुभएको थियो

२००३ चैत ३१ गतेदेखि नेपालका विभिन्न स्थानमा सत्याग्रह आन्दोलन शुरु भयो। २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको सो आन्दोलनको नेतृत्व गर्ने क्रममा काठमाडौमा सबैभन्दा ठूलो प्रभाव पर्‍यो जसको नेतृत्व पुष्पलाल श्रेष्ठले गर्नुभएको थियो। यसमा विशेष सहयोग शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो। पाटनक्षेत्रमा नरबहादुर कर्माचार्य र उपत्यका बाहिर निरन्जनगोबिन्द बैद्द्यले गर्नुभएको थियो।

जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे। नेपाली राष्ट्रिय काङ्ग्रेसमा बिपी र रेग्मी गुट भै काङ्ग्रेस बिभाजन हुँदा डिल्लीरमण रेग्मीको नेतृत्वको नेपाली काङ्ग्रेसमा रहेर क्रियाशील रहे पनि नेपालमा राणा बिरोधी क्रान्ति र आमूल परिवर्तनको लक्ष्य त्यस पार्टीबाट हासिल हुन नसक्ने ठहर गरी बिकल्पको खोजी गर्ने मध्येका अगुवा पुष्पलाल हुनुहुन्थ्यो । आफू रहेको काङ्ग्रेसका अध्यक्ष डिल्लीरण रेग्मीलाई भारतको जयनगरबाट चिठी लेख्दै भन्नू भयो-“अपसोसको साथ मलाई भन्नू परिरहेछ कि ,म अब नेपाली काङ्ग्रेसबाट छुट्टी लिन चाहन्छु” भनी नेपाली काङ्ग्रेसबाट बिद्रोह गर्नुभो।

अन्ततः २००५ साल मङ्सिरमा कलकत्ताको वाशिङ्गटन पार्कमा भारतीय कम्युनिस्ट पार्टीले आयोजना गरेको आमसभामा भाग लिन पुगेका नेपाली राष्ट्रिय काङ्ग्रेसका कार्यालय सचिव पुष्पलालको भेट दार्जिलिङ निबासी भारतीय कम्युनिस्ट पार्टी का प्रभावशाली ब्यक्तिहरु गणेशलाल सुब्बा र रत्नलाल ब्रह्मणसित भयो । त्यही बेला पुष्पलाल वहाँहरुबाट प्रभावित हुनुभो,काङ्ग्रेसमा रहदादेखिनै माक्र्सवादी दर्शन र राजनीतिका पुस्तक पढ्न थालेका र भारतीय कम्युनिस्ट पार्टी का नेताहरु अयोध्यासिह , माइला बाजे, नेपेन्द्र चक्रवर्ती आदिको राम्रो सम्पर्क हासिल गरिसक्नु भएको थियो पुष्पलालले।

पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभयो। सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो।

मार्क्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपालकम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो। त्यस्तै २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले समेत उहाँको जीवनमा नयाँ मोड ल्यायो। त्यस बखत पुष्पलाल पश्चिम बंगालका वर्तमान मुख्यमन्त्री ज्योति बसुको पनि नजिक हुनुहुन्थ्यो।
पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभयो। सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो।

उहाँको विवाह साहना प्रधानसँग भएको थियो। २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७मा पार्टी प्रभाव बिस्तार गर्न तेह्रथुम ९लिम्बुवान० बजारमा पुग्नुभयो। २०१६ सालमा उहाँ सोभियत संघमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीनभ्रमण गर्नुभयो।

२०१७ साल पौष १ गते घटित कालो काण्डपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो। नेका र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदैनिधन भयो।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क.पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जली !

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं