खानेपानीको पाइप पहिरोले बगाउँदा बागलुङ बजारमा खानेपानी अभाव भएको छ।
अविरल वर्षाका कारण गएको पहिरोले ३ वटा मुहानबाट बागलुङतर्फ ल्याईएको पाइपको ६० मिटर बगाएको छ। भुदी खोला मुहानमा १५ मिटर, दोविल्लामा २५ मिटर, रेशमा १५ मिटर तथा अन्य ठाउँमा पहिरोले करिब २० मिटर पाईप क्षति भएको छ ।
पाइप क्षति भएपछि बजार क्षेत्रभित्र दुई दिनदेखि पानी आएको छैन। बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्राविधिक दीपक शर्माले पटक पटक आएको पहिरोले सदरमुकाममा ल्याएको पानीको पाइप बिभिन्न स्थानमा भएको क्षति मर्मत गर्न केही दिन लाग्ने नेपालदुतलाई बताए ।

मर्मतका लागि आफूहरू आइतबारदेखि खटिए पनि अविरल वर्षाका कारण काम गर्न कठिनाइ भइरहेको शर्माले बताए। पहिरोले रेशको जिरेतीमा सडकसमेत बगाउँदा मर्मत गर्ने स्थानमा पुग्नसमेत कठिनाइ भएको छ ।









