एकजना कलेजको विद्यार्थिको फेसबूकको वालमा से नो टु सुसाइड लेख्दै एउटा फोटो सहितको पोस्ट राखिएको छ, जसमा डोरी स्पष्ट सग झुण्डिएको छ अनी उनी त्यही डोरिलाई हेरिरहेका छन। सरसर्ती हेर्दा सन्देश सकारात्मक् देखिन्छ तर यो फोटोको प्रभाव चाँही के पर्ला त? आकर्षक तरिकाले राखिएको फोटो कलात्मक तरिकाले प्रशम्शनिय छ तर यसले दर्शकलाई कस्तो प्रभाव पार्ला त? के हामी आत्महत्याको बारेमा सान्दर्भिक र मनोबैज्ञानीक बहस गर्ने स्तरमा छौ त? कतै अहिले भैरहेका बहसहरु एकातिर अपर्याप्त अनी अर्को तिर सतही र प्रत्युत्पादक त छैनन? के हामी कहाँ बिग्यहरु छन, जो हाल मेडियामा भैरहेका आत्महत्या सम्बन्धी कभरेज हरुको सहि मुल्याङ्कन गरेर प्रभावकारी हस्तक्षेप वा निर्देशन् गर्न सक्छन?
विश्व स्वास्थ्य संगठनले यसअघिनै २०३० सम्ममा मानसिक रोग र समस्या एक नम्बरमा देखापर्ने चेताबनी दिदै आएपनी हाल सिर्जित कोरोना महामारी र यसको वहुपक्षिय प्रभावले त्यो समय छिट्टै आइ पुग्ने अनुमान गरिएको छ। लकडाउनको अहिलेको समयमा आत्महत्याको दर बढीरहेको समाचार हरु आइ रहेका छन।
आजको यस् आलेखमा आत्महत्याको मनोबैज्ञानीक बिष्लेषण गर्ने जमर्को गरिएको छ। खासमा यो आलेखको बिषय आत्महत्याको मुल्याङ्कन (एसेस्मेण्ट ) हुनुपर्ने हो। तर नेपाली साहित्यले फ्राइडिएन मनोबिष्लेषण बाहेक मनोबिज्ञानका आधुनिक शब्दहरुलाई पचाइनसकेको हुनाले त्यसो गरिनु प्रभावकारी देखिएन।
आदर्शबादी वा पूर्णता चाहनेहरु (पर्फेक्सनीस्ट) हरु र नकारात्मक सोचाइ बढी भएका ब्यक्तिमा आत्महत्याको दर उच्च पाईन्छ
हाम्रो समाज र हाम्रो मानसिकतामा एउटा भ्रम के छ भने आत्महत्याको बारेमा कुरा गर्नु नै हुँदैन, यसले झन आत्महत्या तर्फ प्रेरित गर्छ। तर अनुसन्धानले यसलाई झुठो प्रमाणित गरिसकेको छ। तर तपाईंले कुरा कसरी गर्नुहुन्छ भन्ने कुरा चाँही महत्वपूर्ण हुन सक्छ। मनोबैज्ञानीक परामर्शको क्रममा सुरुमै ब्यक्तिमा आत्महत्याका विचार हरु छन कि छैनन स्पश्ट सग सोध्नु आबश्यक मानिन्छ। सन २००५ मा गरिएको एउटा सर्बे अनुसार सोधिएका ब्यक्ती मध्य चालिस प्रतिशत ब्यक्तिहरुमा जिबनमा कुनै न कुनै बेलामा आत्महत्या सम्बन्धी बिचार हरु मनमा आएको पाइयो जसमध्य आधा जतिले आत्महत्याको योजना नै बनाएको देखियो।
आत्महत्या सम्बन्धी बिचार आउनुलाई सुसाइडल आइडीएसन भनिन्छ भने यसको योजना बनाउनुलाई सुसाइडल प्लान भनिन्छ। कसैमा आत्महत्या सम्बन्धी बिचार छन कि छैन भनेर स्पष्ट सग सोधियो भने उसमा तुरुन्तै आशाबादी बिचार हरु पलाउने बताइएको छ। तर यसरी सोध्दा एकै वाक्यमा नसोधी मिलाएर सोध्नुपर्छ। कसैलाई समस्या छ जस्तो लाग्यो भने सके सम्म सम्बन्धित मनोबैज्ञानीक/परामर्शदाता वा मानसिक रोग बिशेषग्यलाई संपर्क गरिहाल्नु उचित हुन्छ।
आत्महत्याको मुल्याङ्कन र परामर्शको क्रममा महत्वपूर्ण केही पक्ष हरुलाई तल प्रकाश पार्ने प्रयास गरिएको छ।
१ आत्महत्याको जोखिमको विवरण
जब तपाईं कोही ब्यक्तिलाई उसमा आत्महत्याको बिचार हरु छन कि छैनन भनेर सोध्नुहुन्छ र त्यस्ता बिचार हरु हाल बिद्यमान रहेको पाउनुहुन्छ भने अब तपाईंले उक्त ब्यक्तिमा आत्महत्याको वास्तविक जोखिम छ कि छैन र कती छ भनेर मुल्याङ्कन गर्नुपर्छ। यसको लागि मनोबैज्ञानीक वा परामर्शदाताले सम्बन्धित ब्यक्ती र उनका आफन्तलाई मनोबैज्ञानीक सिद्दान्त अनुसार मिलाएर प्रश्न सोध्छन।
२ आत्महत्याको योजना
आत्महत्याको विचार आउनु भन्दा योजना नै बनाउनु बढी जोखिमपूर्ण कुरा हो भन्ने बिचार गर्नुपर्छ। आत्महत्याको योजना सम्बन्धमा तिनवटा कुरा हरु महत्वपूर्ण हुन्छन। पहिलो, योजना कत्तिको घातक छ भन्ने हो। पश्चिमी देशहरुमा आगो लगाउने कुरा सबैभन्दा घातक पाइएको छ भने त्यसपछी उचाइबाट हाम फाल्ने र झुन्डिने क्रमश घातक मानिन्छन। दोश्रो, आत्महत्याको साधनको उपलब्धता हो, जसमा हतियार, बिख जस्ता कुराहरु पर्छन। तेश्रो, आत्महत्याको योजना कत्तिको स्पष्ट छ भन्ने हो। आफ्नो लेनदेनका कुराहरु मिलाउने/आफन्तलाई बुझाउने, पाल्तु जनवर जिम्मा लगाउने, सम्पत्ती कसैलाई बुझाउने जस्ता कुराहरुले योजना स्पष्ट भएको सन्केत गर्न सक्छन।
यदी कोही ब्यक्तिमा आत्महत्याका बिचार हरु बिद्यमान छन, आत्महत्याको योजना छ, योजना पुरा गर्ने मनस्थिती छ र त्यसको लागि उपायहरु पनि छन भने त्यस्तो ब्यक्तिमा आत्महत्याको जोखिम उच्च रहेको मानिन्छ र उनिहरुलाई तत्काल सहयोगको आवश्यकता छ भनी बुझ्नुपर्छ।
सहयोगको लागि सर्बप्रथम उनिहरुको भावनालाई स्वीकार गर्नुपर्छ। पहिल्यै एस्तो गर्नु राम्रो होइन, केही नराम्रो भएको छैन जस्ता कुराहरु गरेर फाईदा हुँदैन। त्यसपछी आत्महत्याको बिचार वा योजना भएको ब्यक्ती सधैं दुबिधामा हुन्छ भन्ने कुरा बुझ्नुपर्छ र उसको दुबिधा के कुरामा छ भन्ने पहिचान गरेर ब्यक्तिको आशाबादी पहलुतर्फ उसलाई डोर्याउने प्रयास गर्नुपर्छ। साथसाथै, संकट आइ हालेमा के गर्ने भन्ने कुराको तयारी गर्नुपर्छ। र ब्यक्तिलाई मैत्रीपूर्ण बातावरणमा सम्बन्धित मनोबैज्ञानीक परामर्शदाता वा मानसिक रोग बिशेषग्यको संपर्कमा ल्याउनुपर्छ।
३ आत्महत्याको ईतिहास
कसै कसैले पटक पटक आत्महत्याको प्रयास गर्ने गर्छन्। त्यसैले हालको प्रयास वा बिचारको मुल्याङ्कन गर्दा बिगतका यस्ता घटनालाई पनी गम्भिरतापुर्बक मुल्याङ्कन गर्नुपर्छ। त्यतिबेला कत्तिको गम्भिर स्थिती थियो भन्ने कुरा महत्वपूर्ण हुन्छ। साथै, ब्यक्तिका नजिकैका आफन्त, साथी वा कोही रोल मोडेल हरुले यस्तो गरेको भए त्यसले पनि प्रभाव पार्ने कुरा ख्याल गर्नुपर्छ। खासगरी, सेलेब्रिटी वा भावनात्मक रूपले नजिकैको कसैले यस्तो गरेको भए सो कुरा महत्वपूर्ण हुन्छ।
एकपटक भन्दा बढी आत्महत्याको प्रयास भएको छ भने यस्ता ब्यक्तिमा जोखिम बढी हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। यसको त नाटक गर्ने बानी नै हो भन्ने भूल गर्नु हुँदैन।
जन्मदिन, बैबाहिक बर्शगाठ् वा त्यस्तै महत्वपूर्ण मितिहरु आत्महत्याको सन्दर्भमा बढी जोखिमपूर्ण पाइएका छन।
४ मानसिक लक्ष्यणहरु
मानसिक समस्या झेलिरहेका ब्यक्तिहरुमा आत्महत्याको जोखिम बढी हुन्छ। आत्महत्याको तिब्र बिचार बारम्बार आइ रहनु, निराशाबादी भावना तिब्र हुनु, मृत्यु प्रती आकर्शण बढ्नु, र अत्यधिक रक्सी सेवन् गर्नुलाई आत्महत्याको महत्वपूर्ण मनोबैज्ञानीक लक्ष्यण मानिएका छन। यदी कसैलाई दुई हप्ता भन्दा बढी समयसम्म: निद्रा नलाग्ने, अत्यधिक निराश वा गरिरहेको काम प्रती रुची नहुने, कुनै गम्भिर बिषयप्रती आफ्नो गल्ती महशुश हुनु वा आफु केही कुरामा वा बाँच्न लायक नहुनु, र जिबन प्रती तिब्र निराशा हुने जस्ता लक्ष्यण मध्य कुनै पनि लक्ष्यण देखिएमा त्यस्ता ब्यक्तिलाई सहयोगको आवश्यकता छ भनी बुझ्नुपर्छ। र, यदी तपाईंलाई त्यस्तो छ भने सहयोग माग्नको लागि आँफै अग्रसर भैदिनु भयो भने कती जाती!
कतै पनि आश नरहेको होपलेसनेसको स्थितीलाई आत्महत्याको सबैभन्दा जोखिमपूर्ण लक्ष्यण मानिन्छ। त्यसैगरि अत्यधिक रक्सी सेवन् गर्नुले आत्महत्याको जोखिमलाई ५० देखी ७० प्रतिशत सम्म बढाउने उल्लेख गरिएको छ। बिभिन्न खाले औषधी हरु आत्महत्याको क्रममा प्रयोग भएको पाइएको छ।त्यसैले स्थिती हेरेर त्यस्ता औषधी हरुको दुरुपयोग नहोस् भन्नेमा परिवार, औषधी बिक्रेता लगायत सबै सचेत हुनुपर्ने देखिन्छ। र अर्को कुरा कुनै कुनै औषधी स्वयमले साइड इफेक्ट को रुपमा डिप्रेसन गराउने भएकाले यस्तो बेलामा आत्महत्याको जोखिम बढी हुन्छ।
त्यसैगरि स्किजोफ्रेनिया, बाइपोलार डिप्रेसन् र साइकोसिस जस्ता मानसिक समस्या भएका ब्यक्तिमा आत्महत्याको जोखिम उच्च हुन्छ। यदी यस्तो बिरामीहरु अगाडिको सत्य र बातावरण बाट टाढा भएमा वा भ्रामक आदेश( ह्यालुसिनेसन) को लक्ष्यण देखाएमा तुरुन्त अस्पातल पुर्याउनुपर्छ र यि लक्ष्यण बाट मुक्त गराउने प्रयास गर्नुपर्छ। तथ्यले भन्छ कि आत्महत्या गर्ने ब्यक्तिहरु मध्य ९० प्रतिशतमा कुनै न कुनै मानसिक समस्या हुन्छ। यदी तपाईंलाई यस्तो समस्या छ भने पनि यो तथ्य पढेर तपाईं आत्तिनु चाँही पर्दैन। किनकी तथ्यलाई स्वीकर गर्नु उपचार र समाधानको पहिलो खुद्किला हो। र तपाईंले कहिल्यै पनि नबिर्सिनुस् कि मानसिक रोग शत प्रतिसत उपचार र ब्यबस्थापना हुने समस्या हो।
दिन प्रतिदिन यसको उपचारका बिधिहरु पेरिसक्रित हुँदैछन र भनिन्छ कि अबको केही दसकमा नै एकातिर यो समस्या महत्वपूर्ण हुँदैछ भने यसको रोकथाम र उपचार पनि पूर्ण प्रभावकारी हुँदैछ।यहिनेर आत्महत्याको सम्बन्धमा एउटा बुझ्नुपर्ने कुरा छ। त्यो के भने मानसिक समस्या भोगेर निको हुँदै गरेका ब्यक्तिमा लक्ष्यण कमजोर भएसगै ब्यक्तिको शक्ती पनि बढ्ने भएकाले उसमा पहिल्यै आत्महत्याको बिचार र योजना भएका भए त्यसको जोखिम बढी हुने सम्भावना हुन्छ।
५ तनाब र बातावरण
तनाबपूर्ण बातावरणलाई पनि आत्महत्याको कारण मानिन्छ। कसैकसैले तनाबबाट मुक्तिको लागि आत्महत्याको प्रयास गर्छन् भने कसैले चाँही आत्महत्याको कारण देखाई अरुलाई प्रभाव पारेर मनोबैज्ञानीक फाईदा लिन पनि खोज्छन। तर यसरी फाईदा लिन खोज्ने भन्दा तनाब बाट मुक्ती खोज्ने ब्यक्तिहरु आत्महत्याको बढी जोखिममा हुन्छन।
जिबनका महत्वपूर्ण घटनाहरु जस्तै सम्बन्ध बिच्छेद, पारिवारिक सदस्यको मृत्यु, गम्भिर रोग, जागिर छुट्नु वा ब्यापारमा घाटा हुनु, पदोन्नति, र झगडा पारीरहेको सम्बन्धबाट मुक्ती जस्ता बिषयहरु पनि आत्महत्याको कारणमा पर्छन। यि मध्य पहिल्यै जिबनमा घटेका तर उचित सम्बोधन नभएका कुराले पनि अहिले फेरी प्रभाव पार्न सक्छन जसमा शारिरिक् वा मानसिक यातना र सम्बन्धित कोही व्यक्तिको आत्महत्या वा मृत्यु पनि पर्न सक्छ।
६ ब्यक्तित्व एबम जनसान्खिक प्रभाव
आबेगात्मक( इम्पल्शिव ) ब्यक्तित्व भएका मानिसहरुमा आत्महत्याको जोखिम बढी हुन्छ। त्यसैगरि महिलाहरुले पुरुष भन्दा तीन गुना बढी आत्महत्याको प्रयास गर्छन् भने आत्महत्याको प्रयासमा महिला भन्दा पुरुष चार गुना बढी सफल हुन्छन। तन्नेरी र बयस्क जनसंख्यामा आत्महत्याको दर उच्च पाइएको छ। त्यसैगरी अविवाहित भन्दा बिबाहित् ब्यक्ती र आफुमा निर्भर बच्चा भएका ब्यक्तिमा पनि आत्महत्याको दर केही न्युन रहेको देखिन्छ। आदर्शबादी वा पूर्णता चाहनेहरु (पर्फेक्सनीस्ट) हरु र नकारात्मक सोचाइ बढी भएका ब्यक्तिमा आत्महत्याको दर उच्च पाईन्छ।
७ समाधानका श्रोतहरु
आत्महत्याको बिचार वा योजना बाट पीडित ब्यक्तिसग यस् समस्याबाट मुक्त हुनको लागि के कस्ता श्रोत हुन सक्छन भनी परामर्शदाता र सहयोगी पक्षहरुले बिचार गर्नुपर्छ।
पहिलो कुरा ब्यक्ती स्वयम्ले के गर्न सक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। अहिलेको जस्तै अवस्थामा उसले बिगतमा कसरी समस्यालाई सम्बोधन गर्यो, आत्महत्या गरिहाल्नबाट उसलाई केले रोक्न सक्छ, ब्यक्तिको भबिश्य प्रती के आशा र योजना छन, समस्या समाधानका उपायहरु केके हुन सक्छन, ब्यक्ती सग रहेका बिकल्प केके हुन, र मरिहाल्नु र समस्या बाट मुक्त हुनु बिचको भिन्नता के हो जस्ता कुरामा ब्यक्ती स्वयम आश्वश्त हुन सकेमा आत्महत्याको जोखिमलाई तत्काल टार्न सकिन्छ।
दोश्रो कुरा ब्यक्तिको परिवार, समाज र कार्यक्षेत्रमा उसग संपर्कमा रहेका ब्यक्तिहरुको समस्या समाधानमा उल्लेख्य भूमिका हुन सक्छ। यो बहसको बिषय बन्ने गर्छ कि आत्महत्या भनेको स्वास्थ्य समस्या भन्दा बढी सामाजिक समस्या हो।
आत्महत्याको बिचार वा योजना बाट पीडित ब्यक्तिसग यस् समस्याबाट मुक्त हुनको लागि के कस्ता श्रोत हुन सक्छन भनी परामर्शदाता र सहयोगी पक्षहरुले बिचार गर्नुपर्छ।
तेस्रो र हामीकहा खड्किरहेको महत्वपूर्ण कुरा भनेको आत्महत्या लगायत बिभिन्न मानसिक समस्यालाई सम्बोधन गर्न सक्ने स्वास्थ्य सम्रचना र जनशक्तिको अभाव हो। देशका केही ठुला शहरहरुमा केही मानसिक रोग बिशेषग्य र केही मनोबैज्ञानीक परामर्शदाता हरुले क्लिनिक र गैर सरकारी सेवा दिई रहनु भएको छ भने अधिकाम्श जनसंख्या स्वास्थ्य सेवाको पहुच भन्दा टाढा छ।
आत्महत्या रोकथामको लागि बिकशित् देशहरुमा चौबिशै घण्टा निशुल्क क्राइसिस फोन सेवा, इमर्जेन्सी अस्पातल सेवा र प्रसस्त चिकित्सकिय एबम मनोबैज्ञानीक सेवा उपलब्ध हुन्छन।
यदी तपाईं वा तपाईंको कोही आफन्त वा साथीहरुमा आत्महत्याको बिचार वा योजना छ भने खुलेर यस बारेमा कुरा गर्नुस्। एक अर्कालाई सहयोग गर्नुस्। र, मानसिक रोग बिशेषग्य वा मनोबैज्ञानीक परामर्शदाताको सहयोग लिनुस्। यदी तपाईं अङ्रेजी बुझ्नुहुन्छ भने अहिले मोबाइलका एप्प्स हरुमा प्रशश्त मानसिक रोग सम्बन्धी सुचना र आधारभूत थेरापी पाउन सकिन्छ। तर त्यसैलाइ अन्तिम बिकल्पको रुपमा चाँही नलिनुहोला। मलाई ब्यक्तिगत रुपमा संपर्क गर्नु भयो भने अन्लाइन मार्फत सिबिटी र परामर्शको निशुल्क आधारभूत थेरापी एबम सामान्य ज्ञान पाउन सक्नुहुन्छ।









