जोमसोममा अब घरको नक्सापास अनिवार्य

मुस्ताङको सदरमुका जोमसोमसमेत रहेको घरपझोङ गाउँपालिकाले नयाँ बन्ने घरका लागि नक्सापास अनिवार्य गरेको छ ।

जोमसोम र आसपासमा केही आधुनिक घर बन्ने क्रम बढे पनि धेरै माटोको छानो भएका घर छन् । नयाँ घरहरू निर्माण गर्दा भवन निर्माणसम्बन्धी नेपाल सरकारको मापदण्ड तथा यस गाउँपालिकाको नक्सापाससम्बन्धी मापदण्ड, २०७५ को अवलम्बन गर्ने नीति लिइने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी आर्थिक वर्षभरीमा गाउँपालिकाभित्र रहेका पुराना घरका लागि घरलाई नम्बर दिई अभिलेखिकरण गर्ने पालिकाको नीति छ ।

गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारीको संक्रमण हुन नदिने, राहत तथा उद्धार र उपचारका लागि आगामी आर्थिक वर्षमा श्रोतको सुनिश्चितता गरिने उल्लेख छ । ‘आवश्यक परेको खण्डमा सबै खर्च शीर्षकहरूबाट कोरोना कोषमा आवश्यक बजेट रकमान्तर गर्न मिल्ने नीति लिइनेछ । जनताको जीउ ज्यानको सुरक्षाको लागि गाउँपालिकाले पहलकदमी लिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रत्येक वडामा कम्तिमा एक स्वास्थ्य संस्था रहने, स्वास्थ्य संस्थाहरूमा औषधीको उपलब्धता सुनिश्चित गरिने, स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई आवश्यकता बमोजिमका तालिमक दिइने पनि पालिकाको नीति छ ।

मुस्ताङ जिल्ला अस्पतालको नयाँ भवन निर्माणलाई तीव्रता दिने पालिकाले जनाएको छ । आगामी आर्थिक वर्षमा कक्षा १ का लागि स्थानीय पाठ्यक्रम तयार पारी नयाँ शैक्षिक सत्रबाट लागू गर्ने पनिे घरपझोङको योजना छ ।

वार्षिक-नीति-तथा-कार्यक्रम-final