स्याङ्जाका युवाले बनाए बादर धपाउने यन्त्र

नेपालका धेरै गाउँमा बांदर आतंक छ । बालीनालीमा मात्रै होइन, घरमै छिरेर बादरले दुख दिएका घटना छन् ।

जति दुःख गरे पनि बाली भित्र्याउने बेलामा बादरले सत्यनास पारेपछि कतिपय किसानले आफ्नो जग्गासमेत बाझै छोडेका छन्। आफ्नो गाउँमा बादरको बिमाखले हैरान भएपछि साहै चिन्तित थिए पुतलीबजार ३ दोरंगाथर स्याङ्जाका युवा ।

उनीहरुले छिमेकी भारतका युवाले बादर धपाउने यन्त्र बनाएको थाहा पाए। रामचन्द्र दोरंगा, रोशन दोरंगा, नवराज दोरंगा , हुमनारायण शर्मा लगायतका युवाले उत्साहित भएर युटुभबाट त्यस्तो यन्त्र बनाउने तरिका सिके ।

एक दिन सल्लाह गरे यन्त्र बनाउने । मिलेर राम्रोसँग अध्ययन गरे । केही समयको अनुसन्धानपछि जेई पाइप, ग्यास लाइटर, आमाहरुले बजारबाट ल्याउने केरा पकाउन प्रयोग गर्ने औषधि प्रयोग गरेर उनीहरुले यन्त्र बनाए ।

त्यो यन्त्रको परीक्षण गरियो । नतिजा सुखद् निस्कियो । पुतलीबजार नगरपालिका प्रमुख सीमा क्षेत्री लगायत स्थानीय समाजसेवीको उपस्थितिमा उनीहरुले यन्त्र पड्काएर बादरलाई धपाएर देखाए ।यन्त्रले राम्रो काम गरेको देखेर स्थानीय युवालाई हौसला प्रदान गर्दै सय थान यन्त्र बनाइदिन नगर प्रमुख क्षेत्रीले अनुरोध गरिन् ।

नगर प्रमुखले हौसला थपिदिएपछि युवा झनै उत्साहित भए । स्याङ्जाका विभिन्न गाउँपालिका, आमा समूह, युवा क्लबहरुले यन्त्र बनाइदिन अर्डर गरेको नवराज दोरंगाले नेपालदुतलाई बताए ।

स्याङ्जाको बादर आतंक निर्मुल पार्न बनाएको यन्त्र प्रभावकारी हुने भन्दै विस्तारै छिमेकी जिल्लामा पनि यन्त्र सप्लाई गर्ने योजना रहेको अर्का युवा रामचन्द्र दोरंगाले जाकारी दिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।