नातावाद : अझै कति ?

प्रतिभाशाली भारतीय कलाकार सुशान्तस्रिह राजपुतको आत्महत्याका कारण त्यहाँको फिल्मी दुनियाँले ‘नेप्पोटिजम’ अर्थात ‘नातावाद’को चर्काे बहस सुरु भएको छ । राम्रोलाई भन्दा हाम्रोलाई स्थान दिने सिमित घराँनिया कलाकारको फन्दामा फिल्मी संसार परेको अभिनेतृ कंगना रनावत लगायतको दाबी छ । उनीहरुका अनुसार बलिउडको रंगिन दुनियाँमा क्षमता र कलाको भन्दा नातावादको व्यापार उम्दा बनेको छ । फिल्मी करियरका कास्टिङ, प्रमोसन, कदर, सम्मान सबै सिमित घरानियाँको ललिपप हुने गरेकाले देहातदेखि संघर्ष गरेका धेरै प्रतिभाशाली व्यक्ति कलाकारिताको दुनियाँमात्र होइन, संसार नै छाड्न विवश भएका छन् ।

आंशिक सत्य, खुला र प्रतिस्पर्धात्मक बजारमा गुणको मूल्य कायम हुन्छ । कलाकार हुन दर्शक, स्रोताले रोजाइमा पर्नु पर्दछ । अर्काे पाटो दर्शक, स्रोतासमक्ष पुग्न सयौ प्रक्रियासँग ठोक्किनु पर्दछ, जुन दर्शक, स्रोताले देख्दैनन् । यी कयौं प्रक्रियामा नातावादको जरा फिजारिएका छन्, जसलाई तोड्न दामी, नामी कलाकार सुसान्तसिंह राजपुतदेखि कंगना रनावतहरुलाई फलामको चिउरा भइरहेको छ ।

फिल्मी दुनियाँ समाजभित्रकै चरित्र हो । जहाँ नातावादको वृक्ष, योग्यता, सक्षमताभन्दा पहिले नै झाँगिएर बसेको छ । नश्लीय एकताको यो रुपले आज पनि हिटलरको नाजी सर्वाेच्चताभन्दा फरक चिन्तन राख्दैन । चरित्र थोर, बहुत, तलमाथि होला तर सारमा उस्तै गरी बलवान् छ ।
राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक लगायतका जुनसुकै क्षेत्र पनि नातावादको गहिरो डुबुल्कीबाट निस्कन सकेका छैनन् । यस सम्बन्धमा क्रिया, प्रतिक्रियाका हरफ भने बाहिर आउन थालेका छन् ।

महाकवि लक्ष्मिप्रसाद देवकोटाले भने जस्तै सयौ भोल्तेयर यहाँ हलो नै जोतेर जीविका गुजार्दथे । कयौ सेक्सपियरहरु गाई गोरु गोठालो गर्दथे ।

इतिहासमा राजाको छोरा राजा हुनेमात्र नभई काजीको छोरा पनि काजी हुने जस्तै सबै राजनीतिक, प्रशासनिक व्यवस्था नातावादमा आधारित थियो । वंशमा आधारित परम्पराले सिमित घर घरानियाँको फलिफाप हुन्थ्यो तर हजारौं व्यक्ति आफ्नो सिर्जनशीलता र योग्यतालाई बाहिर ल्याउन सक्दैनथे । महाकवि लक्ष्मिप्रसाद देवकोटाले भने जस्तै सयौ भोल्तेयर यहाँ हलो नै जोतेर जीविका गुजार्दथे । कयौ सेक्सपियरहरु गाई गोरु गोठालो गर्दथे ।

राज्यका हरेक अंगमा योग्य र सक्षमभन्दा आफ्ना कुल खानदानका मान्छे भरिदा प्रतिफल आएन । जब व्यवस्थाले लगातार आफूलाई किनारामा पार्न थाल्यो, आम व्यक्तिमा विरोधको स्वर उठ्न थाल्यो । हिजोसम्म भगवान् ठानिएका कतिको घाँटी रेटियो, कति सत्ताबाट सदाका लागि फालिए । योग्यताको मानक खोज्न थालियो । जनताको रोजाइमा चुनावद्वारा जनप्रतिनिधि र विशिष्टताको आधारमा कर्मचारीको छनोट गर्ने परम्पराको सुरुवात भयो ।

हाल विश्वका धेरै देशमा चुनावद्वारा जनप्रतिनिधि चुनिन्छ । लिखित, मौखिक लगायतका परीक्षा लिई कर्मचारी भर्ना गरिन्छ । तर के हिजोबाट चलिआएको नातावादमा आधारित व्यवस्थामा तात्विक फरकपन आएको छ ?” यो गम्भीर प्रश्नको अझै पनि हल भएको छैन ।

सम्बन्धको पहेली चढेर पहुँचवाला वर्ग राज्य स्रोतको प्रयोग गर्दछ । आम नागरिकले तिरेको करबाट नातावादको वृक्ष फल्ने फुल्ने गर्दछ ।

नातावाद तपाई, हाम्रो दिमागमा यसरी बसेको छ कि धेरै कुरालाई यसले ओझेलमा छोपिदिन्छ । वंश, नाता, सम्बन्धको मान्छे भनेपछि हामी गुण र योग्यता नै भुलिदिन्छौ । योग्य र सक्षमले पाउनुपर्ने पदहरु पनि नाता र सम्बन्धले पाउन थाल्दछन् । प्रधानमन्त्री, मन्त्री, सांसदका निजि सचिवालय होस् वा सचिवका निजी सचिवहरु आफ्नो नाता, सम्बन्धका ‘विश्वासिला’ मान्छे खोज्न थालिन्छ । आफ्नो नाताका मान्छे त्यति बेला चाहिन्छ, जतिबेला आफूले गरेका गलत कामहरु लुकाउन आवश्यक पर्दछ, होइन भने नियमित काम गर्न योग्य मान्छे नै प्रयाप्त हुन्छन् ।

नातावादको यो जगले विधि, प्रक्रिया र परिणामको धज्जी उडाउँछ । व्यक्तिले दिने प्रतिफलको हिसाब गरिरहनु पर्दैन । व्यवस्थालाई कति सक्षम बनायो भन्ने पनि भएन । सिमित व्यक्तिको स्वार्थ चल्यो कि चलेन भन्ने कुरा नातावादको गहिरो दुश्परिणाम हो ।

संविधान, ऐन, नियमले पहिचान, योग्यता र समावेशीकरणका कुरा बोल्दछ । राज्यका अंगमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिन्छ । नातावादको गहिरो उपस्थितिका अगाडि यससम्बन्धी सिमित कानुन मात्र कार्यान्वयन हुन पुग्छन् ।

नातावाद कहाँ कहाँ छ भन्दा पनि कहाँ पो छैन र ? सामान्य मल, बिउको अनुदानदेखि पुर्ननिर्माण र राहत पाउनसम्म नातासम्बन्ध खोज्नु पर्दछ ।

नातावादको जरो हल्लिने गरी हुनुपर्ने पुर्नसंरचनाका बारेमा खासै बहस भएको पाइदैन । जरो हल्लिने त ल परको कुरा, सामान्य सुधार गर्न सकिने प्रशासनिक संयन्त्र परिचालन, सरुवा बढुवा जस्ता कुरा पनि वैज्ञानिक गरिएका छैनन् ।

आम जनतामा त नातावादको चरित्रबारे बोल्न पनि पर्छ र भन्ने छ । नातावाद कहाँ कहाँ छ भन्दा पनि कहाँ पो छैन र ? सामान्य मल, बिउको अनुदानदेखि पुर्ननिर्माण र राहत पाउनसम्म नातासम्बन्ध खोज्नु पर्दछ । व्यवस्थाका अंगहरुले स्वतस्फूर्त काम नगर्दा शक्तिसँग नाता सम्बन्ध कायम गर्नु र उनीहरुकै भक्ति गर्नु आजको नियति बनेको छ ।

जब नाता, सम्बन्ध व्यवस्था चलाउने माध्यम बन्न पुग्छ, त्यसले नातावादको रुप ग्रहण गर्न पुग्छ । विश्व प्रसिद्ध फोब्र्स पत्रिका लेख्छ, ‘त्यहाँभन्दा माथि जाने अरु कुनै भर्याङ छैन, जसको टुप्पोमा पहिल्यै निश्चित मान्छेहरुको मात्र नाम आरक्षित गरिएको हुन्छ ।” ब्यवस्थाभित्र रहेका आम मानिसले जति नैसुकै राम्रो काम गरेता पनि त्यसको मूल्याङ्कन गलत रुपमा हुन्छ । नाता भित्रकाले जतिसुकै बदमासी गरेता पनि संरक्षण र पुरस्किृत गरिन्छ । नातावादको यस दुश्चक्रलाई बदल्न सकेनौ भने जति नै कानुन र व्यवस्था बदले पनि आम जनतासम्म पुग्ने सेवाको गुणस्तर कमजोर रहन्छ ।

सम्बन्धको पहेली चढेर पहुँचवाला वर्ग राज्य स्रोतको प्रयोग गर्दछ । आम नागरिकले तिरेको करबाट नातावादको वृक्ष फल्ने फुल्ने गर्दछ ।

नातावादको यस चरित्रप्रति आम जनताको असन्तुष्टि सामान्यतया प्रतिक्रियामा मात्र सिमित हुने गरेको छ । उच्च वर्ग र केही हदसम्म मध्यम वर्ग पनि नातावादको कारण फाइदामा रहने गरेको छ । राज्यले पूरा गर्नुपर्ने नियमित दायित्वसमेत पूरा गराउन नाता सम्बन्ध खोजिन्छ । “फलानो नेता वा कर्मचारी आफ्नो मान्छे हो” भन्ने आधारमा समाजमा फरक–फरक वर्गको निर्माण हुन पुग्छ । पँहुच हुने वर्ग, पहुँच नहुने वर्ग । सम्बन्धको पहेली चढेर पहुँचवाला वर्ग राज्य स्रोतको प्रयोग गर्दछ । आम नागरिकले तिरेको करबाट नातावादको वृक्ष फल्ने फुल्ने गर्दछ ।

बंशमा आधारित राणातन्त्र र शाहीतन्त्र त हामी सबैले पढेका, देखेका छौं । जसरी उल्लिखित तन्त्रहरुमा खुलमखुल्ला भाइ, भतिजामात्र राज्यको वरिपरि बस्दथ्ये, आज पनि कुनै न कुनै रुपमा भाइ भतिजा व्यवस्थाको गणमा घुमिरहेका छन् ।

नाता, सम्बन्ध, वंश, परम्पराको मात्र होइन, समाज व्यवस्था सञ्चालनको पनि एक अवयव हो । नाता सम्बन्धको प्रयोग जब गलत फाइदा लिनका लागि हुन्छ। त्यति बेला नातावादको रुप ग्रहण गर्दछ । नाता। सम्बन्ध हुँदैमा नाता भित्रकै व्यक्तिको हित रक्षा प्रचलित कानुनभन्दा बाहिर गएर गर्नु अनैतिक कार्य हो । समतामा आधारित कार्य वातावरण विरोधी काम हो ।

कानुन छ, कार्यान्वयन छैन । प्रतिनिधि छन्, प्रतिनिधित्व छ्रैन । कर्मचारी छन्, सेवा छैन । प्रहरी छ, सुरक्षा छैन ।

नातावादले कोही व्यक्तिलाई जन्मदै असिमित सहुलियत प्रदान गर्दछ । फरक वर्ग, भूगोल र परिवेशमा जन्मेको अर्को व्यक्ति नातावादकै कारण पछाडि पारिन्छ । व्यक्तिलाई आफ्नो कला, क्षमता र योग्यता बढाउन होइन चाकरी र भनसुन गर्न बाध्य पार्दछ । चाकरीबाट आउने व्यक्ति आफ्नो योग्यताले होइन फेरि पनि चाकरी गरेर नै टिक्छ । आफूभन्दा तलबाट पनि चाकरी नै होस् भन्ने चाहन्छ ।

कानुन छ, कार्यान्वयन छैन । प्रतिनिधि छन्, प्रतिनिधित्व छ्रैन । कर्मचारी छन्, सेवा छैन । प्रहरी छ, सुरक्षा छैन । हाम्रो जस्तो देशको व्यवस्था फेल हुनुको ठूलो कारण अरु होइन, नातावादमा आधारित व्यवस्था नै हो । हामीले शासन प्रणाली त फेरिरहेका छौं तर नाता सम्बन्धमा आधारित चरित्र फेरिरहेका छैनौं । तेरो र मेरो भन्ने सोच उस्तै छ । कानुन त छ तर कार्यान्वयन गर्न नाता हेरिन्छ । चुनाव हुन्छ, प्रतिनिधि चुन्न नाता हेरिन्छ । जब सबै कुरामा नातामाथि पर्दछ, व्यवस्था स्वंत तल पर्दछ ।

नातावादमा आधारित व्यवस्थालाई कानुन र योग्यतामा आधारित नबनाई न विकास हुन्छ, न देश नै बन्छ । नाता सम्बन्धलाई सामाजिक हैसियत दिऊ तर कानुनी, प्रशासनिक, आर्थिक, व्यवसायीक जस्ता काम गुणमा आधारित प्रणाली मार्फत लिऊ । देश पक्कै बन्नेछ । नातावादलाई मलजल गर्दै गए अभिनेता सुसान्तसिंह राजपुतले अपनाएको जस्तै नकारात्मक विकल्प मात्र होइन, अनैकौ विकल्प राज्यप्रति तेर्सिन सक्छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।