सुगौली सन्धि नमान्ने भए टिष्टा, काङ्गडा नेपाललाई फिर्ता गर

घरको साध वा आठो जोडिएको छिमेकीसित सबैभन्दा नजिकैको सम्बन्ध हुन्छ नै। आठो-किल्लो जोडिएको छिमेकी नै हरहमेसा काम लाग्ने हो,टाढाकाले खासखास बेलामा मात्र सहयोग र सहानुभूति दिन सक्छन् । यस्ता छिमेकीसितको सम्बन्धमा समस्याहरु पनि सृजना हुन सक्छन् ।साध जोडिएका छिमेकीहरुका बीचमा उचित सम्बन्ध हुन दुबै पक्ष जिम्मेवार र सहनशील हुनु पर्दछ र अर्को पक्षको सम्वेदनशीलतालाई उत्तिकै ख्याल् गर्नु पर्दछ। एउटा पक्ष मात्र सम्वेदनशील ,जिम्मेवार र सहनशील हुने तर अर्को पक्षले समस्या सृजना गरिरहने,आठो, किल्लो र साध मिचिरहने तथा छिमेकीको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहने हो भने सम्बन्ध कुनै हालतमा राम्रो हुन सक्दैन । प्रत्येक देश-देश बीचको सम्बन्धमा यही कुरा लागू हुन्छ।

धनी र गरीबका आधारमा,क्षेत्रफलका आधारमा सम्बन्धको गलत वा अपब्याख्या गरियो भने असल छिमेकीको सम्बन्ध बन्न सक्दैन भन्ने कुरा जीवन्त यथार्थता हो। यिनै बिषयवस्तुको गाम्भीर्यतालाई ध्यान दिन नसक्दा वा बल मिच्चाइ गर्दा नेपाल र भारतको बीचमा देखिएको सीमा समस्या सम्बन्धि बिबाद सदिऔदेखि जस्ताको तस्तै रहेको छ।

सीमानाहरु जोडिएको हिसाबले अत्यन्तै नजिकको छिमेकी देश भारतले अन्तर्राष्ट्रिय सन्धि -सम्झौता र अभ्यासको बेवास्ता गरी मानवीय मूल्य र मान्यताबाट च्यूत भै बारम्बार नेपालमा आर्थिक नाकाबन्दी लगाउछ तर औपचारिक रूपमा त्यसलाई कहिल्यै स्वीकार गर्दैन। तर, नेपालका तर्फबाट भारत विरुद्ध कुनै पनि गतिविधि भएको देखिन्न। यद्यपि नेपाली पक्षलाई भारतीय पक्षले किन कहिल्यै सहज ब्यवहार गर्दैन ? भारत किन आफ्नो आफ्नो मात्र फाइदाको कुरा हेर्छ? भारतले किन नेपाल को आन्तरिक मामिलामा बारम्बार अनावश्यक हस्तक्षेप गरिरहन्छ ?

देशको आकारले राष्ट्रिय स्वाभिमानको मात्रा तय हुँदैन भन्ने साचो कुरालाई तोडमोड गर्न किन खोज्छ ?

भारत र चीन पुरानो प्रतिद्वन्द्वीता र शत्रुतापूर्ण ब्यवहार बिर्सेर नजिक हुँदै जान हुने तर नेपाल र चीन एक आपसमा नजिक हुनै नहुने भारतीय मानसिकता दरिद्र र असहिष्णु चिन्तन हो, भारतीय छुद्रता हो। के नेपाल सधैं भारतीय पक्षबाट हेपिरहन पर्छ भन्ने छ ? के नेपाल आफ्ना नीतिहरु स्वतन्त्रतापूर्वक निर्धारण गर्न सक्षम छैन ? के नेपाली पक्षले प्राकृतिक सिद्धान्त जस्ता आफ्ना अडानलाई जोगाउदै भारतको असल छिमेकी हुन सक्दैन ? नेपालले आफ्नो देशको नागरिकता सम्बन्धि नीति तय गर्दा भारतीय पक्षले किन अनावश्यक चासो लिन्छ ? नेपालमा कस्ता खाले प्रान्त बनाउने भन्ने कुरा नेपालको नितान्त आन्तरिक नीजि मामिला हो भन्ने कुरामा किन धावा बोल्छ? देशको आकारले राष्ट्रिय स्वाभिमानको मात्रा तय हुँदैन भन्ने साचो कुरालाई तोडमोड गर्न किन खोज्छ ?

नेपालमा जुनसुकै पार्टी वा शक्तिका सरकार भएपनि नेपालले सुमधुर सम्बन्ध राख्न खोज्ने कुरालाई बुझ पचाउदै नेपालका सरकारहरुको परिवर्तन मा भारतीय पक्ष खुलेरै मैदानमा उत्रिन्छ ?
यस्ता तमाम प्रश्नहरुका बारेमा महान राष्ट्रबादी नेताहरू पुष्पलाल र बिपी दुबैले भिमसेन थापा ,अमरसिंह र बलभद्र कुवरको रगत र पसिनाले ओतप्रोत माटो मुठ्ठीमा लिएर कसम खादै मुखै फोरेर आमनेसामुनेको कुरा गर्नुहुन्थ्यो ,अझ बिपीको छायाबाट दक्षिण एसियाली सबै समकक्षीहरु त्रसित हुन्थे ,काङ्ग्रेसको त्यो छवि काङ्ग्रेसको नेतृत्व मातृकाप्रसाद मा सरेदेखि धूमिल भएको पाइन्छ। त्यो नेपाली आमासँग जोडिएको असल र देशभक्त संस्कृतिको अनुकरण अहिले नेपाली आमाका महान राष्ट्रबादी सपूत राजनेता केपी ओलीको नेतृत्वमा परिपक्व ढङ्गले गर्नु निश्चितरूपमा खुशीको सङ्केत हो मात्र कहिलेसम्म टिक्छ भन्नेमा चनाखो हुँदै राष्ट्रियता सम्बन्धि बिषयहरुको अभूतपूर्व राष्ट्रिय एकतामा सबै दलहरूलाई खबरदारी गर्नु पर्दछ।

सुमधुर सम्बन्धका नाममा आफ्नो स्वाभिमानलाई बन्दक राख्न सकिन्न। नेपाली वीर पुर्खाले यो देश निर्माण गरे, जोगाएर राखिदिए । यदि अहिलेको पुस्ताले राष्ट्रिय स्वाभिमान कायम गर्न र यसको अस्मिता ,सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई कायम गर्न सकेन भने स्वाभाविक रूपमा नयाँ पुस्ताले यो जिम्मेवारी लिनेछ भन्ने महान राष्ट्रबादी भावनाबाट ओतप्रोत भै सम्माननीय प्रधानमन्त्री केपी ओलीले युगिन अभिभाराको नेतृत्व गर्नुभएको छ। संसारमा पुर्खाले गरेको गल्तीलाई नयाँ पुस्ताले सपार्ने अभ्यासमा यो महान अभियानको नेतृत्व गर्न पाउनु र यो महान अभियानको राष्ट्रिय झण्डा बोक्ने गौरवपूर्ण यात्रामा हस्तेमा हैसे गर्न पाउनु खुशी र राष्ट्रप्रतिको कर्तव्य र गौरवबोध हुनु हो।

अनुदारबादी भारतीयहरुको नजरमा नेपाल भारतको एक भाग मात्र थियो। त्यो भारतीय हेपाहा प्रवृत्तिको नाङ्गो रुप जवाहरलाल नेहरुको `भारतको खोज´नामक लेखमा देखिन्छ ।

सन् १९४७ अगाडि नेपाल र भारत बीचको सम्बन्ध सौहाद्रपूर्ण र क्रान्तिकारी लक्ष्यमा आधारित थियो। नेपालले वास्तवमा सन् १९४२ को आन्दोलन कालमा दर्जनौं क्रान्तिकारी भारतेलीहरुलाई आश्रय दिएको थियो भने हाम्रो मुलुकले समेत राणाशासन बिरोधी आन्दोलनताका भारतबाट राम्रै सहयोग प्राप्त गरेको थियो। भारतेली राष्ट्रिय आन्दोलनले साचो अर्थमा नेपाली जनतालाई समेत लोकतन्त्रको लडाइँ लड्न उत्साहित र उत्प्रेरित गरेको थियो। तत्कालीन राणाहरु र बेलायतीहरुको कडा प्रतिबन्धका बाबजुद पनि दुबै देशका क्रान्तिकारीहरुको बीचमा भेटघाट र साझा बिषयहरुको बारेमा बिचारबिमर्श हुन्थ्यो ।तर, भारत स्वतन्त्र भएपछि दुई देशको बीचको सम्बन्धमा भारतले बेलायती शासकको जस्तै नेपाललाई हेर्ने दृष्टिकोणको देखासिकी गर्‍यो र सम्बन्धमा आशा बिपरित मोड र बिरोधाभाष पैदा भो।

ईष्ट इण्डिया कम्पनीको त्यो गलत नीतिले गर्दा दुई देश बीचको सम्बन्धमा उल्टो प्रभाव पर्‍यो।किन कि, बेलायतीहरुले नेपाललाई संरक्षित राज्यको रूपमा सोच्थे र भारतेली नेताहरू समेतमा त्यो छाप झन् बढी पर्‍यो । अनुदारबादी भारतीयहरुको नजरमा नेपाल भारतको एक भाग मात्र थियो। त्यो भारतीय हेपाहा प्रवृत्तिको नाङ्गो रुप जवाहरलाल नेहरुको `भारतको खोज´नामक लेखमा देखिन्छ । उनी भन्छन् -`उत्तर -पूर्वी सीमानामा रहेको नेपाल नै भारतको एक मात्र सच्चा स्वतन्त्र राज्य हो।´ वास्तवमा उनको यो खेदजनक खोज थियो । उनको निकृष्ट गलत विचारमा नेपाल एक स्वतन्त्र सार्वभौमसत्तायुक्त देश नभै मात्र भारतको एक राज्य थियो। त्यस्ता भारतीय उच्च स्तरका राजनीतिज्ञमा त त्यस्तो गम्भीर त्रुटिपूर्ण भूल र भयङ्कर गलत दृष्टिकोण थियो भने मोदी, उनका आसेपासे,हुक्के,चिलिमे,सूण्डामुसुण्डाहरु यो गलत सोचाइबाट घनिभूत हुनु कुनै नौलो कुरा हैन किन कि,सारा बिश्वका सामू दिउँसोको घाम जस्तै छर्लङ्ग छ ।

नेपाली आमाका वीरयोद्दाहरुले आफ्नो राष्ट्र ,राष्ट्रियता जोगाउन साहसपूर्वक ईष्ट ईण्डिया कम्पनीसित बहादूरी र बीराङ्गनापूर्वक लडेकै हुन् र बेलायती सेनापति अक्टरलोनीलाई वीर अमरसिंहले भनेकै हुन् -“बेलायतीहरु नेपालीहरुलाई सिनो उधिनेर खाने स्याल नसम्झ । हामी नेपालीहरु त बाघको बच्चा डम्मरु जस्ता हौं ,तिमीहरूले बोल्ने र गर्ने ब्यवहारको प्रतिबाद र जवाफ हामी लडाइँको मैदानमा दिनेछौं ।अन्तिमसम्म तिमीहरुसित लडिरहने छौं ,आफ्नो अस्मिता जोगाइछाड्ने छौं ,किन्चित तिमीहरुसित आत्मसमर्पण गर्ने छैनौं । चन्द्र र सूर्य अङ्कित झण्डा झुक्न दिने छैनौं ।” यो लडाइँमा नेपालीहरुले देखाएको बीरताको बेलायतीहरुले खुलेरै प्रशम्सा गरेका छन् । त्यतिबेला भारतको हालत के थियो? याद छ, भारतीय शासकहरुलाई ? असल छिमेकीको मूल्य मान्यताको ख्याल् दुबैले गरे ठीक छ, एक्लै यो सम्भव छैन ।

जवाहरलाल नेहरुको गलत र हेपाहाशैलीको प्रतिबिम्ब उनका हरेक गतिविधि र नेपाललाई हेर्ने बिदेश नीतिमा अहिलेसम्म छ।उनी हरहमेसा संसद होस् वा सदन बाहिर `भारतको सीमाना हिमालय पर्वतसम्म फैलिएको छ´ भन्ने धृष्टता गर्थे। उनको नेपालप्रतिको यति गलत सोचाइ थियो कि, उनी भन्थे-`नेपालमा भारतका बिशेष स्वार्थहरु रहेका कारण नेपाललाई बाह्य आक्रमणबाट बचाई रक्षा गर्नु नै भारत सरकारको मुख्य जिम्मेवारी हो।´ बेलायतीहरुको भारत माथिको उपनिवेश अन्त्य भैसक्दा पनि नेपालप्रतिको भारतको आधिकारिक धारणा उस्तै रहनु निकै असहिष्णु र अमित्रवत हेपाहा प्रवृत्ति हो। त्यस्तै राणाशासनको अन्त्य हुनेबित्तिकै सन् १९५१ मा गोबिन्द नारायणलाई नेपालका लागि भारतीय राजदूत बनाउदा नेपालका राजा र जनताको बीचको भेटघाट को चाजोपाजो मिलाउन नेपालको राजदरबार समेत हेर्ने भनी नियुक्ति गरिएको थियो। यसले नेपाली राष्ट्रियता र सार्वभौमिकतामाथिको भारतको नग्न नाच प्रष्ट हुन्छ नै।

त्यस्तै नेपालमा राणाशासनको अन्त्य पछि अन्तरिम मन्त्रीमण्डलमा मन्त्रीहरुको हेरफेर ,मन्त्रीमण्डल अदलबदलमा तत्कालीन अर्का राजदूत सीपीएन सिहले गृहकार्य गरेर योजना बनाई दिल्ली पठाउथे र उनको सिफारिसमा नेपालको सरकार बन्ने कुरा हस्तक्षेपको पराकाष्ठा थियो ।अन्तरिम सरकारका गृहमन्त्री बिपी कोईरालाले नेपालको सार्वभौमसत्तामाथिको गिद्दे दृष्टि र हस्तक्षेपको जमेर फेश टु फेश बिरोध गरे। त्यतिबेला यस्तो सोचिन्थ्यो कि,नेपालको खास शासक भारतीय राजदूत हो। प्राचीनकालदेखि प्राप्त नेपालको स्वतन्त्रता माथि बेलायतीहरुको बूट,बेलायती दास भारतीयहरुको कड्के नजर हाम्रा पूर्खाहरुका लागि पच्ने कुरै थिएन। जुनबेला बेलायतीहरुले नेपालीहरुको बीरताको उच्च प्रशम्सा गर्थे। अझ अगाडि बढेर नेपाली सेनालाई पुनर्गठन गर्ने नाममा भारतीय सैनिक मिसन काठमाडौमा खटाएर नेपालको सैन्य क्षेत्रमा हस्तक्षेप गर्ने अर्को दुस्साहस समेत भारतले गर्‍यो।त्यही मिसनले नेपाल तिब्बत सीमानामा भारतीय सैनिक चेकपोस्ट राख्ने चाजोपाजो समेत मिलायो।

यी तमामखाले भारतीय ज्यादती र हेपाहा प्रवृतिका विरुद्ध हामी सबै नेपालीहरु एकताबद्ध भै हाम्रो राष्ट्रिय स्वाभिमान जोगाउनका लागि शरीरमा एक मुठ्ठी सास र एकथोपा रगत भैन्जेल लड्नुपर्छ । मातृभूमिको रक्षा गर्नु पर्दछ,बेलायती दास भारतीयहरुलाई लडाइँको मैदानबाट तितरबितर पार्नुपर्छ ।राष्ट्र जोगिए हामी नेपाली जोगिन सक्छौं र प्रत्येक भारतीय र प्रत्येक नेपालीलाई थाहा छकि,बेलायतीहरुका पैतालोका धूलो,बेलायत को दास भारतीय शासकहरुको कत्तिको दम छ वा कति पानीमुनि वा माथि छन् ?

अङ्ग्रेजसङ्ग नेपालले युद्द लडेको तिक्तता भएपनि नेपालले आफ्नो स्वाभिमान जोगाउन नेपालले गरेको प्रतिरोधको सम्मान गरेका थिए।युद्धको मोर्चामा लडिरहेका शत्रुको प्रशम्सा लेख्न वास्तवमा फराकिलो वा ठूलो छाती भएकाले मात्र सक्छन् । अङ्ग्रेजले आफूसँग अन्तिम दमसम्म बलभद्र कुवरको नेतृत्व मा युद्द लड्न तयार नेपाली युवा, महिला र केटाकेटीको साहसको सम्मानमा लेखेको शिलालेख अहिले पनि नालापानीमा छ । यो कुराको हेक्का भारतीय नरेन्द्र मोदी एण्ड कम्पनीलाई छ कि छैन? त्यो बेला भारतीयहरु कसको गुलाम थिए, अनि सन् १८१६ को सुगौली सन्धिनुरुपको सम्पूर्ण भूभाग समेट्ने गरी संविधान संशोधन गरी नेपालको वास्तविक नक्सा प्रकाशित गर्दा भारतको किन टाउको दुख्यो ?

कि ,भारतले कालापानी ,लिपुलेक ,लिम्पियाधुरा लगायत अतिक्रमण गरेको ६०,०००(साठी हजार) हेक्टर जमिन फिर्ता गर्नुपर्‍यो, हैन भने सुगौली सन्धि पहिलेको पूर्वमा टिष्टा र पश्चिममा काङ्गडासम्मको सबै नेपाल फिर्ता गर्नुपर्यो।

कि ,भारतले कालापानी ,लिपुलेक ,लिम्पियाधुरा लगायत अतिक्रमण गरेको ६०,०००(साठी हजार) हेक्टर जमिन फिर्ता गर्नुपर्‍यो, हैन भने सुगौली सन्धि पहिलेको पूर्वमा टिष्टा र पश्चिममा काङ्गडासम्मको सबै नेपाल फिर्ता गर्नुपर्यो। भक्ति थापा जस्ता ७० बर्षका बृद्दले अङ्ग्रेजसङ्ग लडेको युद्दको सम्मानमा भक्ति थापाको लास माथि दोसल्ला ओढाइएको थियो, भारतीयहरुलाई नेपालीहरुको यो बीरता थाहा छ कि छैन ? सुगौली सन्धि पछि नेपालले आफ्नो भूभाग गुमाएता पनि बेलायतले नेपालको अस्तित्व स्वीकार गर्‍यो र सार्वभौमिकताको सम्मान गर्‍यो। वास्तवमा त्यो बेलामानै नेपालको सीमानामा जङ्गेपिलरहरु राख्ने, सीमा सम्झौता गर्ने,भूमि फिर्ता लिने,नेपालको पूर्ण सार्वभौमिकता स्वीकार्ने लगायतका सन्धिहरु भएका थिए, बैमान भारतीय शासकहरुनै दिनदहाडै जङ्गे पिलर सार्न ,नेपालको भूमि अतिक्रमित गर्न उद्दत छन् । सारा विश्व जित्दै आएको बेलायतले अफ्गानिस्तान र नेपाल लगायत केही देशमा मात्र जित्न सकेन भन्ने इतिहास भारतीय शासकलाई याद छ कि छैन?

२०७७ साल जेठ ३१ गते शनिवारको दिन, नेपालको इतिहासमा अत्यन्तै महत्वपूर्ण दिन रह्यो,सन १८१४-१६ मा साम्राज्यवादी अंग्रेजसँग भएको लडॉइको दौरानमा नेपालले सुगौली सन्धिमार्फत पूर्वमा मेचीदेखि टिस्टासम्म र महाकाली पस्चिम कॉगडासम्मको ठूलो भूभाग गुमाउनु परेको थियो । सुगौली सन्धिमा काली पूर्वको भू-भाग नेपालको भनिएको भएता पनि नेपालमा नक्साविज्ञहरू नभएको कारण नक्सा बनाउनका लागि भारतको सहयोग लिनुपर्ने र उसले नेपालको नक्सा बनाउने क्रममा नेपालको सुदूर पश्चिम क्षेत्रमा पर्ने कालापानीदेखि लिपुलेक तथा लिम्पियाधुरासम्मको क़रीब ४०० वर्गकिलोमिटर क्षेत्र छुटाइदिएको र मूलत: सन् १९६२ देखि कालापानीमा भारतले आफ्नो सेना राखी अतिक्रमण गरिरहेको अवस्थामा नेपालले आफ्नै विज्ञहरूद्वारा वि. सं. २०३२ मा पहिलोपटक नक्सा प्रकासन गर्ने क्रममा पनि त्रुटिवस सो क्षेत्र छुट्न गएको र भारतले पनि त्यो ठॉउलाई आफ्नो भू-भाग भनी दावी गर्दै सैन्यबल तैनाथ गरी कब्जा गर्दै आइरहेकोमा नेपाल सरकारको खबरदारी र नेपाली जनताको विरोध हुँदैहुँदै र स्वयं भारतले पनि विवादित भूमिको रूपमा स्वीकार गरेको भएतापनि सन् २०१९ मा सो क्षेत्र भारतले एकलौटीरूपमा आफ्नो नक्सामा गाभेको घटना मात्र होइन त्यहॉ सडक निर्माण गरी सन् २०२० में मा उद्घाटन समेत गरिसकेको परिप्रेक्ष्यमा केपी ओली नेतृत्व सरकार र नेपाली जनताले पटकपटक विरोध गरिरहँदा पनि भारतले त्यसको सुनुवाइ नगरेको कारण नेपालले पनि सो क्षेत्रलाई समेटेर २०७७ जेठ ७ गते नेपालको वर्तमान नक्सा सार्वजनिक गरेको र जेष्ठ ३१ गते नेपालको संघीय संसदबाट निर्विरोध नेपालको संविधानको दोश्रो संसोधन गरी देशको निशान छापमा रहेको नेपालको नक्सामा पूरै भूभाग समेटी प्रकाशित गर्नु हामी सबैका लागि गौरवपूर्ण कुरा हो।

बेलायती उपनिबेशको बूटमुनिबाट आएका भारतीय शासकहरुले सुगौली सन्धिनुसारका अतिक्रमित सबै भू-भागहरु बिना हिच्किचाहट छोडनु तथ्य र कारण मेल खाने प्रमाणहरुको आत्मसात गर्नुहुनेछ,त्यसैमा सारा भारतीयहरुको हित हुनेछ,असल छिमेकी र मित्रताको अर्थ हुनेछ,सदिऔदेखिको सम्बन्धको जगेर्ना हुनेछ। यसकारण नेपालको नयाँ नक्सा सम्बन्धि भारतीय अतिबादीहरु सच्चिनु जरुरी छ, आफ्नो राष्ट्रिय स्वाभिमान जोगाउन अङ्ग्रेजसित त नझुकेको नेपाल भारतसँग कसरी झुक्न सक्छ। हामी हाम्रो भूमी फिर्ता नभैन्जेल अन्तिमसम्म लड्न तयार छौं ,सके हस्तिनापुरको राज हुनेछ, नसके चपरी मुनिको बाँस हुनेछ,तर,हामी हाम्रो राष्ट्र जोगाउने युगिन अभिभारा जुनसुकै हालतमा पूरा गर्छौं ।

राष्ट्र जोगाउने महान अभियानको नेतृत्व गर्ने सम्माननीय प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र यो गौरवपूर्ण यात्रामा अभूतपूर्व एकताका साथ सहयोग र समर्थन गर्ने संघीय संसदप्रति हार्दिक बधाई ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।