चे : सधै बलिरहने क्रान्तिको मसाल

गुरिल्ला योद्धा चे ग्वेभाराको जन्म इस १४ जुन १९२८ मा पिता अर्नेस्टो ग्वेभारा लिन्च र माता सेलिया डेला सेर्नाको कोखबाट अर्जेन्टिनाको रोजारियामा भयो । उनी मध्यम वर्गीय शिक्षित परिवारमा जन्मे । उनका बाबु अर्जेन्टिनाका निरङ्कुश शाषक पेरोका विरोधी थिए । उनी भूमिगत लडाइँ लड्ने सङ्गठनसँग आबद्ध थिए । आमा पेरो विरोधी प्रदर्शनमा भाग लिँदा दुई पटक गिरफ्तारीमा परेकी थिइन् ।

चे सानैदेखि चिकित्सक बन्ने आकांक्षा बोकेर हिडेका थिए । उनी चिकित्सक बने पनि । तर, मानवीय संवेदनाका धनी चेले गरीब जनताको शोक, भोक र सन्तापबाट मर्माहत भई स्टेथेस्कोप फालेर बन्दुक समाते । उनले अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप देखे ।

त्यहाँ निर्धन जनता र मजदुरमाथि अमेरिका तथा विदेशी कम्पनीद्धारा भइरहेको शोषण, दमनलाई उनले नजिकैबाट नियाले । त्यसैले उनले बन्दुक समातेर अमेरिकी साम्राज्यबादका विरुद्धको क्रान्तिमा होमिए । उनले फिडेल क्यास्ट्रोसँग मिली बाटिस्टा शोषणका विरुद्धमा मोर्चा कसे र क्युवालाई मुक्त गरेरै छाडे । स्वयम् दमका रोगी चे कुशल चिकित्सकका साथै कुशल लडाकु पनि थिए ।

उनी चिकित्सक बने पनि । तर, मानवीय संवेदनाका धनी चेले गरीब जनताको शोक, भोक र सन्तापबाट मर्माहत भई स्टेथेस्कोप फालेर बन्दुक समाते ।

युद्धका क्रममा उनी घाइतेको उपचार गर्थे, भारी बोक्थे, बन्दुक बोकेर लड्थे । उनी कमान्डर थिए । चे भन्थे, “क्रान्तिकारी राज नेताले साधुको जीवन बिताउनुपर्छ, आडम्बरहीन भएर बाँच । समाजवादमा पुँजीवादी वातावरण सिर्जना गर्ने प्रयास नगर ।” क्युवाको मुक्तिपछि उनी क्युबाको नेशनल ब्याङ्कको गभर्नर बने, भूमिसुधार मन्त्री भए । अनेकौं देश डुले तर सम्पत्तिका नाममा एक सरो धागो पनि जोडेनन् । उही खाकी ड्रेसमै सधैं उनी रमाए ।

उनी कठिन परिश्रम गर्थे, मजदुर र किसानलाई प्रशिक्षित पार्थे । उनले क्युबामा क्रान्ति हुनुपूर्व नै फिडेल क्यास्ट्रोसँग शर्त राखे, “क्युबामा क्रान्ति सम्पन्न भएपछि कुनै पनि बहानामा मलाई यहाँ रोकिनै छैन । मैले भन्नासाथ मलाई दक्षिण अमेरिकामा क्रान्ति सम्पन्न गर्नका लागि जान दिनुपर्छ” । उनलाई कुनै कुनै पनि किसिमको मान, सम्मान र ओहोदाले रोक्न सकेन र शर्तबमोजिम उनी बोलिभिया गए ।

चे एक अन्तर्राष्ट्रियवादी क्रान्तिकारी योद्धा थिए । सरलता, निरन्तरता, दृढता र उच्च मनोबल उनको परिचय बन्न पुग्यो । उनका लागि भूगोल एउटै थियो, कुनै देशका सिमानाको अर्थ थिएन ।

२७ जनाको डफ्फासहित बोलिभियाको जङ्गलमा गुरिल्ला युद्ध लड्न पुगेका चे अन्तमा एक जना विश्वासघाती किसानका कारण शत्रुको घेरामा परे । अमेरिकी सिआइए एजेन्टमार्फत तालिम प्राप्त रेन्जरका आधा दर्जनभन्दा बढी गोलीबाट उनको हत्या भयो । सिआइए र निरङ्कुश शासकहरुले उनका विरुद्धमा कानूनी कारबाही चलाउने आँट गर्न सकेनन् । पछि अमेरिका स्वयंले स्विकार्‍यो, “चेमाथि मुद्दा चलाउनुको अर्थ भूकम्प निम्त्याउनु थियो ।” त्यस्तो क्रान्तिकारीलाई अदालतको कठघरामा उभ्याउनु असम्भव थियो ।”

चे एक अन्तर्राष्ट्रियवादी क्रान्तिकारी योद्धा थिए । सरलता, निरन्तरता, दृढता र उच्च मनोबल उनको परिचय बन्न पुग्यो । उनका लागि भूगोल एउटै थियो, कुनै देशका सिमानाको अर्थ थिएन ।

अर्जेन्टिनाको भूमिमा नयन खोल्दै, त्यहींको माटोमा शिक्षाको घाम तापी ग्वाटेमालाबाट क्रान्तिको कखरा सिकी मेक्सिकोबाट क्युबामा गई क्रान्ति सम्पन्न गर्ने महान् अन्तर्राष्ट्रियवादी चेले कङ्गोमा क्रान्तिको बीज छरेर बोलिभियाको क्रान्तिमा इस ९ अक्टोवर १९६७ मा सहादत प्राप्त गरे ।

अन्तर्राष्ट्रिय क्रान्तिकारी योद्धा चेप्रति उच्च सम्मानपूर्वक हार्दिक श्रद्धाञ्जली र जनताको मुक्तिकामी आन्दोलनमा निशर्त निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।