त्यति बेला भर्खरभर्खर कलियुग आउन लागेको थियो तर सत्ययुगले आफ्नो सत्ताहस्तान्तरण गर्न चाहिरहेको थिएन । कलियुग सुरु भैसकेकाले असत्य आफ्नो दाजु सत्यलाई सत्तापरित्याग गरी राज्यहस्तान्तरण गर्ने अनुनयविनय गर्न लागेको थियो । तर असत्यप्रतिको वितृष्णा तथा राज्यसत्तासमेतको मोहमा लट्ठिएको सत्य भने सत्ता छोड्नै चाहँदैनथ्यो ।
सत्ता प्राप्तिका लागि असत्य र सत्यबीच मनोमालिन्य बढ्दै गएर युद्ध अवस्यंभावी भैसकेको थियो । संभाव्य युद्धको विनाशदेखि डराएर समयले सत्य र असत्यबीच मध्यस्थको भूमिका खेल्यो । मध्यस्थ भएपछि समयले एउटा प्रस्ताव राख्यो । प्रस्तावअनुसार पृथ्वीका एक परिवारमा सत्य र असत्य दुवैको पालैपालो परिक्षण गर्ने निश्चित गरियो । जसअनुसार ती दुवैले परीक्षणमा जसको प्रवेशले कलियुगका ती परिवारमा सुख र शान्ति हुन जानेछ, उसैलाई अर्काले सत्ता सुम्पनुपर्ने भयो र दुवै पक्षलाई प्रस्ताव स्वीकार्य भएपछि सर्वप्रथम सत्यको परीक्षण सुरु गरियो ।
पतिपत्नी दुवैले एक अर्कासँग सकेसम्म आफ्ना अतीत लुकाउँदै असत्य बोल्न थाले । विखण्डनका अवस्थामा आइपुगेको त्यस परिवारमा स्वर्गको जस्तो खुसियाली छाउन थाल्यो ।
परीक्षणका क्रममा एक परिवारका पति महोदयले आफ्नी श्रीमतीलाई सत्यगाथा एवं जीवनका सम्पूर्ण रहस्यहरू सुनाउन थाले । उनकी पत्नीले पनि आफ्ना विगतका सम्पूर्ण सत्यहरू आफ्ना श्रीमानसमक्ष ओकल्न थालिन् । आपसी सत्यकथनबाट सुरु भएको गृहकलह क्रमश: चर्कँदै जानथाल्यो । त्यसपछि समयले डराएर असत्यलाई परीक्षणका निम्ति अघि सार्यो । अब असत्यले आफ्नो प्रभाव जमाउन सुरु गर्यो । पतिपत्नी दुवैले एक अर्कासँग सकेसम्म आफ्ना अतीत लुकाउँदै असत्य बोल्न थाले । विखण्डनका अवस्थामा आइपुगेको त्यस परिवारमा स्वर्गको जस्तो खुसियाली छाउन थाल्यो ।
असत्यमाथिको प्रयोग अलिपर बसेर टुलुटुलु हेरिरहेको सत्यले आफ्नो पराजित र पीडित अनुहार कसैलाई देखाउन सकेन । चुपचाप आफ्नो सत्ता परित्याग गरेर लुसुक्क हिँड्यो । त्यसपछि समयले सत्यलाई कहिल्यै भेट्न सकेन ।
कालक्रम बित्दैजाँदा एउटा पत्रिकामा समाचार आयो -‘सत्यको वेवारिसे लास भेट्टियो ।’ तर उसको दाहसंस्कारमा कोही पनि उपस्थित भएन… ।
प्रसाईको लघुकथा संग्रह बयानबाट




