मर्न पनि साह्रै गाह्रो !(फोटो फिचरसहित)

पोखरामा मृत्यु भएका स्याङ्जाका कोरोना संक्रमित एक पुरुषको अन्तिम संस्कार करिब २१ घन्टापछि भएको छ ।संक्रमितको शव वडा नं ११ स्थित सेती नदी किनारको रिट्ठेघाटमा व्यवस्थापन गरिएको छ ।

लकडाउन सुरु भएको अढाइ महिनासम्म पनि तीन तहका सरकारले आवश्यक तयारी नगर्दा स्याङजाको वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुषको शव अस्पतालमै राख्नु परेको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यले उनमा मृगौलारोग, मधुमेह, रक्तअल्पता जस्ता समस्यासमेत रहेको जनाएका छन् । आचार्यले संक्रमितको मृत्यु भएको जानकारी आइतबार राति नै सम्बद्ध सरकारी अधिकारीहरुलाई दिइसकेका थिए ।

यसअघि पोखरा–११ को रिठ्ठाघाटमा शव गाड्न खाल्डो खनिसके स्थानियले शव व्यवस्थापन गर्न अवरोध गरेका थिए । प्रहरीले केहीलाई गिरफ्तारसमेत गरेको छ ।

सोमबार बिहान हरियो खर्क अस्पताल नजिक गाड्ने तयारी भएको थियो । स्थानीयले शव गाड्दा संक्रमण फैलिन सक्ने भन्दै विरोध गरेपछि खाल्डो खन्न गएको महानगरको जेसिबी फर्किएको थियो ।

शव व्यवस्थापनका लागि घाट खोज्ने जिम्मा पोखरा महानगरपालिका र व्यवस्थापन गर्ने जिम्मा पोखरा फूलबारीस्थित भगवती दल गणलाई दिइएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माले ती पुरुषको सम्पर्कमा आएका चिकित्सक, परिवार सदस्यलगायत सबैको कोरोना परीक्षण गरिने जनाएका छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।