सीमामा देश फर्कन चाहनेहरुको लाम छ
दुःख पाए नेपाली जनताले भन्नुहुन्छ
क्वारेन्टिनमै पानी पिउन नपाएर नागरिकको मृत्यु भयो
शरणार्थी शिविर जस्तो भयो क्वारेन्टिन भन्नुहुन्छ
बिरामीले अस्पताल जान एम्बुलेन्स पाएनन्
अस्पतालमै टेष्टकीटको अभाव भयो भन्नुहुन्छ
खै, सबै ठीकै देख्छु
खै, सबै ठीकै छ भन्ने सुन्छु
पत्रकारज्यू,
खै, कहाँको के समाचार देखाउनुहुन्छ ?
खै, कस्को के समाचार लेख्नुहुन्छ ?
समाचार देखाउँदा देखाउँदै
किसानले मल नपाएको पनि देखाउनुहुन्छ
किसानका तरकारी
खाल्डोमा पुरिएको पनि देखाउनुहुन्छ
किसानका उत्पादन बोटमै सुकेको पनि देखाउनुहुन्छ
समाचार लेख्दा लेख्दै
श्रमिकहरुको बेहाल भएको पनि लेख्नुहुन्छ
विदेशमा रहेका नेपालीहरुका
मार्मिक कथाहरु पनि लेख्नुहुन्छ
पत्रकारज्यू
खै, कहाँको के समाचार देखाउनुहुन्छ ?
खै, कस्को के समाचार लेख्नुहुन्छ ?
पार्टी फुटाउने विधेयक
जारी गरेर फिर्ता गर्दाको रोमाञ्चक कथा
खै, कता गयो ?
कोरोना सङ्क्रमण बढ्दै गएर
ओम्नीसंग किनेको कमसल स्वास्थ्य सामग्री
प्रयोग गर्नु परेको विवशता
खै, कता ओझेल पर्यो ?
खर्च गर्ने क्षमतै विकास नभएर
खर्च गर्नकै लागि
महँगो गाडी, कार्पेट र आधुनिक बाथरुम नै
बनाउनु परेको हैरानी
खै, किन देख्न नसकेको ?
पत्रकारज्यू
तपाँईहरु बेकार सीमातिर बरालिने गर्नुहुन्छ
विदेशमा दुःख पाएका नेपालीहरुसँग सम्पर्क गर्नुहुन्छ
केही काम नभएझैं
अनावस्यक क्वारेन्टिनतिर भौतारिनु हुन्छ
भोकै वा उपचार पाउन नसकेर
मरेकाहरुको खोजी गर्नुहुन्छ, र
दुःखी, पीडित र समस्यामा परेकाहरुको
समाचार बनाएर प्रसारण गर्नुहुन्छ
पत्रकारज्यू,
तपाँईहरु बेला बेलामा हामीले दिने गरेको
भिडियो सन्देश पनि हेर्नुहुन्न जस्तो छ
हाम्रा मन्त्री,सचिव, वा विज्ञ सल्लाहकारहरुको
नियमित सम्पर्कमा पनि रहनु हुन्न जस्तो छ
हाम्रा प्रवक्ताहरुले दिने नियमित व्रिफिङ्गहरु
झनै बुझ्नै हुन्न जस्तो छ
पत्रकारज्यू,
तपाँईहरु जनताको भीडबाट हैन
सत्ता र सरकारको आँखाबाट
समाचार खोज्ने गर्नुहोस्
सीमा र क्वारेन्टीनबाट हैन
सिंहदर्वार वा वालुवाटारमा क्यामेरा राखेर
मन्त्री वा उच्च पदस्थ कर्मचारीमा फोकस गर्ने गर्नुस्
सफा र खाली सडक
करोडौं मूल्यका गाडीहरु
चिटिक्क मिलेका कपडा
चिल्ला अनुहार
मास्क, पञ्जा अनि स्यानिटाइजर
बैठक, सामाजिक दूरी अनि निर्णय र निर्देशनहरु ।
पत्रकारज्यू, बुझ्नुभो नि
तथ्य थाहा पाउने
जनताको अधिकार हो
सही समाचार पुर्याउने
तपाँईहरुको कर्त्तव्य हो
खै म त सबै ठीकै देखिरहेछु ?
खै म त सबै ठीकै छ भन्ने सुनिरहेको छु
पत्रकारज्यू
खै, तपाँईहरु कहाँको के समाचार देखाउनुहुन्छ ?
तपाँईहरु कस्को के समाचार लेख्नुहुन्छ ?
२१ जेठ २०७७