१. के जात, के धर्म यो माटोले भन्दैन
को आफ्नो, को पराई यो बाटोले भन्दैन
जात, धर्म सीमामा बाँड्ने सबै मान्छे नै हो
छुत, अछुत भोको पेटमा आटोले भन्दैन ।
२. कति दिन्छस् ठक्कर दे जिन्दगी
दुःख पीडा नभए त के जिन्दगी ?
कहिले तँ लडाउँछस्, कहिले म तँलाई
लड्दै उठ्न सिकेको छु अरे जिन्दगी !
३. जन्माउँछिन् नारीले सन्तान वंश तिम्रै हुने
जन्मजातै बाउबाजेको अंश तिम्रै हुने
सदियौंदेखि पिल्साएर राख्यौ नारीलाई
कस्तो अचम्म अझै पनि दंश तिम्रै हुने ।
४. समयलाई जित्न खोज्छन् यहाँ मान्छेहरु
भगवानलाई किन्न खोज्छन् यहाँ मान्छेहरु
पूरा गर्न सपना र स्वार्थका ती सिँढीहरु
आगोमाथि हिँड्न खोज्छन् यहाँ मान्छेहरु
५. कहिल्यै पूरा नहुने कस्तो चाहना हो यो
मान्छेले मान्छे बेच्ने कस्तो जमाना हो यो
बाँच्न त बाँचेकै छन् गल्लीमा कुकुरहरु पनि
बाँच्नकै लागि इमान्दारिता बेच्ने कस्तो बहाना हो यो ?









