पोखरा महानगरपालिका वडा नं. २८ मा लकडाउन सुरु भएपछि हालसम्म १० लाख ९५ हजारको राहत बाँडिएको छ ।
वडा कार्यालयले मंगलबार कार्यक्रम गरी राहत विवरण सार्वजनिक गरेको हो । वडामा महानगरको तर्फबाट ४ लाख २२ हजारको राहत वितरण गरियो । कोरोना कहर कम गर्न यो वडामा स्थानीय सरकारलाई जनस्तरबाट उल्लेख्य साथ मिलेको छ ।
महानगरले पठाएको ४ लाख २२ हजारबाहेक अरु सबै रकम जनस्तरबाट जुटेको हो । वडाध्यक्ष निर्मल दियालीले सरकारीभन्दा बढी रकम सामाजिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी र पोखरा २८ घर भई हाल विदेशमा रहेकाहरुबाट जुटेको जानकारी दिए । उनले भने, ‘जनस्तरबाट भएको यो सहयोगले स्थानीय सरकारलाई नागरिकको दरिलो साथ भएको प्रमाणित हुन्छ ।’
अध्यक्ष दियालीले राहतका लागि सहयोग गर्ने प्रतिवद्धता सहयोग जुट्ने क्रम जारी रहेको बताए । पोखरा २८ मा जनस्तरबाट ४ लाख ५९ हजार ६ सय ११ रुपैयाँ राहतका लागि जुटेको छ । यस्तै, कोपिला नेपाल र लेखनाथ निर्माण व्यवसायी संघ दुबैबाट २०/२० प्याकेज गरी १ लाख ८९ हजार बराबारको ४० प्याकेज राहत उपलब्ध भएको थियो ।
वडामा हालसम्म ५ सय ४९ विपन्न तथा मजदुर परिवारका १ हजार ४ सय ६६ जनालाई राहत वितरण गरिएको छ । वडाध्यक्ष दियालीले लकडाउन पालना गरेकोमा वडावासीलाई धन्यवाद दिँदै राहतका लागि सहयोग गर्ने मनकारी व्यक्तित्व, संघ, संस्थाप्रति आभार प्रकट गरे ।

नेकपा पोखरा २८ अध्यक्ष भोलानाथ त्रिपाठीले वडाले पार्टीसँग समन्वय गरी अतिगरिब र मजदुरलाई राहत वितरण गरेकोमा धन्यवाद दिए ।
नेपाली कांग्रेस पोखरा २८ का उपसभापति शिवबहादुर अधिकारीले राजनीतिक दलहरु र स्थानीयको समेत संलग्नतामा पारदर्शी तवरले राहत वितरण भएको बताए । उनले वडाका प्राविधिकले निरीक्षण गरी सत्य, तथ्यका आधारमा गरेका सिफारिसमा पनि महानगरले स्थानीयलाई थप झन्झट दिएको भन्दै प्रक्रिया सरल बनाउन आग्रह गरे ।
कार्यक्रम वडा सचिव झंकनाथ पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा कोराना महामारीलाई मध्यनजर गरी जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मी सहभागी थिए ।






