अशक्त र वृद्धवृद्धालाई प्राडा सूर्यमणि प्रतिष्ठान र पोखरा इन्जिनियर्सको राहत

कोरोना कहरका कारण जीवन धान्नै मुस्किल पर्नेहरुलाई सरकार सँगसँगै मनकारीहरुले राहत वितरण गरिरहेका छन् । मंगलबार पोखरा १४ का अति विपन्न अशक्त (शारीरिक अपांगता र बिरामी), वृद्धवृद्धा र सुत्केरीलाई राहत वितरण गरिएको छ ।

प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान र पोखरा इन्जिनियर्स ग्रुपले यस्ता ६० परिवारलाई राहत वितरण गरेका हुन् । राहतमा प्याकेजमा चामल, दाल, तेल, गेडागुडी, नून र साबुन छन् ।

पोखरा महानगरपालिका वडा नं. १४ सँग समन्वय गरी राहत वितरण गरिएको हो । पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले सरकारी राहत र दाताहरुसँग समन्वय गरी वडामा राहत बाडिरहेको बताए । उनले जन स्तरका संघ, संस्थाबाट स्थानीय सरकारसँग समन्वय गरी यस खालका कार्यक्रम हुनु प्रशंसनीय भएको बताए ।

प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानका संरक्षक कपिलनाथ कोइरालाले संस्थाको विधानमा भएका उद्देश्य अनुसार परोपकार र लोक कल्याणकारी कार्य गरिएको बताए । उनले भने, ‘संसारले नै भोग्नु परेको महामारीमा सर्वसाधारण मानिसको सुखदुःखसँग जोडिएका हौं । यसरी नै आपसमा सहयोग, सहकार्य र सजगताबाट नै माहामारी मुकाबिला गर्न सकिन्छ ।’

यसअघि, प्रतिष्ठानले पोखरा ९ मा ३८ परिवारलाई राहत बाँडेको थियो । संरक्षण कोइरालाले तेस्रो चरणमा पनि केही अति विपन्न र जीवन धान्नै कठिन परिवारलाई चाडै राहत वितरण गरिने जानकारी दिए ।

कार्यक्रमको अध्यक्षतासमेत गरेकी प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानकी अध्यक्ष ईन्दिरा कोइरालाले प्रतिष्ठान आफ्नो उद्देश्य अनुरुप सधै क्रियाशील हुने प्रतिवद्धता गरिन् ।

कार्यक्रम सञ्चालन पोखरा इन्जिनियर्स ग्रुपका कार्यकारी अध्यक्ष ई शक्ति बरुवालले गरेका थिए ।