छुट्टै कोरोना अस्पताल बनाऔं, गण्डकी अस्पतालमा यसको उपचार नगरौं

- यसको अर्थ यो जिम्मेवारी नीजि मेडिकल कलेजलाई दिने कुरा कल्पना समेत गर्न सकिन्न।

केही बर्ष अगाडि हामीले सुन्ने गरेको गण्डकी अस्पताल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का प्रभावशाली नेता खगराज अधिकारी माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनु हुँदा एम.डी.सहित अध्ययन गर्न पाउने पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रूपमा स्थापित र यससँग सम्बन्धित काम शुरु हुनु सिङ्गै गण्डकी प्रदेशका जनसमुदायको लागि निकै ठूलो उपलब्धि ,खुशी र गौरवको कुरा हो । पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान यस क्षेत्रका धेरै जनसमुदायको पहुँचसित जोडिएको स्वास्थ्य शिक्षाको उच्च शैक्षिक केन्द्र र अधिकाङ्श जनसमुदायको स्वास्थ्यसित जोडिएको अस्पताल समेत हो र वर्तमान केपी ओली नेतृत्वको सरकारले अहिलेको (०७६/०७७) को बजेटमा त १००० शैया थपेर स्वस्थ रहन पाउने नागरिकको नैसर्गिक अधिकारलाई थप ब्यवस्थित र प्रभावकारी तुल्याउदैछ। यो झन् बढी खुशीको कुरा हो।

स्वस्थ शरीर बिनाको स्वस्थ मस्तिष्क असम्भव प्रायः हुन्छ। मानव अधिकारको रूपमा रहेको ठूलो जनसंख्यासित सम्बन्धित स्वास्थ्यको समवेदनशीलता ,कोरोना महामारीको शुरूवातको अवस्था ,यसका औषधिजन्य नामहरुको अनुसन्धान र परीक्षण,भ्याक्सिनको आविष्कार पहिले जनसमुदायमा पर्ने भयङ्कर ठूलो मनोबैज्ञानिक असर र प्रभावका कारण यस सिङ्गै पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल ) परिधि भित्रको यसको भूगोलको कुनै पनि क्षेत्रलाई कोरोना अस्पताल वा कोरोनाका बिरामी राख्ने स्थल बनाउने निर्णय तुरुन्तै सच्याउनु पर्छ । यो वर्तमानको अपरिहार्य आवश्यकता हो र यस क्षेत्रसित जोडिएका समग्र जनसमुदायको स्वास्थ्यसित अभिन्न रूपमा रहेको एजेन्डा हो,सबैको आवाज ,वास्तविकता र सच्चाइ हो।

तर ,तत्कालीन परिस्थितिमा नेपालको सर्वोत्कृष्ट, ज्ञान, क्षमता र दृष्टिकोणले युक्त गण्डकी प्रदेश सरकारले परिस्थितिनुरुप कोरोना बिश्वमा कोरोना कहरको बिगबिगी र नेपालमा यसको प्रचारका बेलामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई छनौट गर्नु बिद्वत प्रदेश सरकारका लागि स्वाभाविक नै थियो,गण्डकी प्रदेशका जनसमुदायको मनोबैज्ञानिक उपचारका लागि उपयुक्त नै थियो यद्यपि यसको उल्टो नीजि लगानीमा संचालित मणिपाल र गण्डकी मेडिकल कलेज लगायतका अस्पताललाई कोरोना उपचारको जिम्मा दिनुपर्छ भन्ने चाहिँ किन्चित मेरो आशय हैन। बरु पश्चिमाञ्चल अस्पताल क्षेत्र भित्र कार्यरत सबै दक्ष जनशक्ति अर्को कोरोना बैकल्पिक अस्पताल तुरुन्तै नबनुन्जेल कोरोना महामारी बिरुद्दको लडाइँमा निशङ्कोच ,निरन्तर र उच्च मानवीय र सामूहिक भावनाका साथ निरन्तर लाग्नुपर्छ । नागरिकको स्वास्थ्यको हिफाजतका लागि प्रदेश सरकारको योजनालाई सफलीभूत तुल्याउन दत्तचित्त साथ लाग्नुपर्छ भन्ने हो ।

गण्डकी अस्पताल परिधिभित्रको भूगोलको कुनै पनि क्षेत्रलाई कोरोना अस्पताल वा कोरोनाका बिरामी राख्ने स्थल बनाउने निर्णय तुरुन्तै सच्याउनु पर्छ ।

बालबालिका , सुत्केरी आमादेखि प्रायः सबै बिषयसित सम्बन्धित बिरामीहरु र ब्यवस्थित प्रयोगशाला ,रक्तसञ्चार केन्द्र र ठूलो स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि अत्यावश्यकीय भौतिक पूर्वाधारहरु ,ठूलो क्षेत्रफल ओगटेको यसको परिधिका कारणले पनि भविष्यमा यो नेपालको नमूना स्वास्थ्य शिक्षाको केन्द्र र काठमाडौ लगायतका ठूला शहरको भन्दा ज्यादा प्रबिधिसहितको प्रभावकारी स्वास्थ्योपचार केन्द्र हुने सुनिश्चित छ।

बिरामी हुनु वा रोग लाग्नु कुनै प्राणी वा वनस्पतिको इच्छा भित्र पर्दैन ,स्वस्थ रहनु वा रोग लाग्नु जीव र वनस्पतिको वश बाहिरको बिषय हो। प्रत्येक जीव वा वनस्पतिहरुमा जीवाणु र बिषाणुहरु हुन्छन् नै ।

जीव वा वनस्पतिको प्रतिरोधात्मक क्षमताभन्दा ब्याक्टेरिया वा भाइरसको भूमिका बढी हुँदा जीवहरुमा रोग वा बिरामीपन देखिन्छ । तर, जुनसुकै बिरामीपन किन नहोस् ,बिरामीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ, माया -ममता प्रदर्शित हुनुपर्दछ र सकारात्मक काउन्सेलिङ्ग हुनु पर्दछ। बिरामीलाई हतोत्साहित गर्ने, घृणा वा होचो -हेला गर्ने,छुत वा अछुत जस्तो गर्नु मानवताको हिसाबले घोर अमानवीय, सामाजिक रूपमा निकृष्ट र असामाजिक गतिविधि हो । बिरामी देखी भागाभाग गर्नु,उपचारमा दत्तचित्त नहुनु आफ्नो कर्तव्यबोधबाट च्यूत हुनु हो, यो त घोर अपराधिक क्रियाकलाप हो। फ्रन्ट लाइनमा रहेर जीवन मरणको दोसाँधमा छटपटाइरहेका बिरामीहरुलाई नयाँ जीवन प्रदान गर्ने सेतो वस्त्रधारी सच्चा भगवानको रूपमा रहेका स्वास्थ्यकर्मीहरुबाट यस्ता कमजोरीहरुको कल्पना ,अनुमान र आङ्कलनसमेत गर्न सकिन्न।

फ्रन्ट लाइनमा रहेर जीवन मरणको दोसाँधमा छटपटाइरहेका बिरामीहरुलाई नयाँ जीवन प्रदान गर्ने सेतो वस्त्रधारी सच्चा भगवानको रूपमा रहेका स्वास्थ्यकर्मीहरुबाट यस्ता कमजोरीहरुको कल्पना , अनुमान र आङ्कलनसमेत गर्न सकिन्न।

गण्डकी प्रदेशको राजधानी पोखरा हो। गण्डकी प्रदेशभित्र विभिन्न जातजाति, समुदाय ,वर्ग, अल्पसंख्यक ,उत्पीडित र जनजातिहरुको बसोबास छ। यस प्रदेशभित्रको ठूलो हिस्सा जनसंख्या कृषिमा नै आधारित छ । जनसंख्याको बाक्लो प्रतिशत स्वास्थ्य, शिक्षा र खानपानको आधारभूत आवश्यकता पूर्तिमा समेत धौधौ पर्ने खालको छ। प्रत्येक नागरिकको स्वस्थ रहन पाउने नैसर्गिक अधिकार राज्यले सुरक्षित गर्नु राज्यको अहम् कर्तव्य हो। यसर्थ गरिबीको रेखामुनि रहेका यस प्रदेशका जनसमुदायको स्वस्थ रहन पाउने अधिकार सुनिश्चित गर्न र मानवीय स्वास्थ्यसित जोडिएको स्वास्थ्य सम्बन्धि उच्च शिक्षाको ग्यारेन्टीका लागि पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान र गण्डकी अस्पतालको अझै स्तरोन्नति, थप भौतिक पूर्वाधारहरुको निर्माण, ब्यवस्थित र प्रभावकारी संचालन र चुस्तद्रुस्त अनुगमन अहिलेको प्रमुख आवश्यकता हो।

जनसंख्याको ठूलो भाग धेरै पैसा खर्चेर नीजि अस्पतालमा पुगी महँगो शुल्क तिरी स्वास्थ्य उपचार गराउन असमर्थ छ। सबै जनसमुदायको समान पहुँच, ब्यवस्थित र प्रभावकारी उपचार बिधिको मुख्य केन्द्र पहिलेको गण्डकी अस्पताल (सलरबोर्ड) र केपी ओली नेतृत्वको सरकारका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीको पहलकदमी र नेतृत्वमा स्थापित यो पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान हो । जसले नेपालको स्वास्थ्य क्षेत्रमा करीब आमूल परिवर्तन नै गर्नुभो। यति ठूलो महत्त्व बोकेको र सेवाग्राहीको फराकिलो क्षेत्र ओगटेको यस पश्चिमाञ्चल अस्पताल वा प्रतिष्ठानलाई कोरोना अस्पतालको रूपमा प्रयोग गर्ने कामलाई तुरुन्तै बन्द गर्नु पर्दछ ।

ठूलो महत्त्व बोकेको र सेवाग्राहीको फराकिलो क्षेत्र ओगटेको यस पश्चिमाञ्चल अस्पताल वा प्रतिष्ठानलाई कोरोना अस्पतालको रूपमा प्रयोग गर्ने कामलाई तुरुन्तै बन्द गर्नु पर्दछ ।

गम्भीरतापूर्वक ख्याल् गरी, सूक्ष्म अध्ययन गरी पोखराको अन्यत्रै कुनै स्थानमा कोरोना अस्पतालको निर्माण र कोरोना रोग सम्बन्धि उपचारसेवा शुरु गर्नुपर्दछ । यो जटिल समस्याको तुरुन्तै समाधान गर्नका निमित्त गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिका समेतको सम्लग्नतामा गण्डकी प्रदेश सभाका सबै सभासद र ११ वटै जिल्लाका सङ्घीय संसदको प्रयाप्त राय, सल्लाहमा उपयुक्त निर्णय लिई पोखरामै तर अन्यत्रै कोरोना अस्पतालको निर्माण र उपचार सेवा तुरुन्तै शुरु गर्नुपर्दछ। पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको भूगोलभित्र यसको उपचार र कोरोना बिरामीहरुको ब्यवस्थापन बन्द गर्नु पर्दछ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।