लघुकथाः फैसला

बसन्त ऋतु शुरु हुनासाथ रुखका हाँगाहरु पाउलिए र चराचुरुङ्गी सबैले आफ्नो गुँड लगाएर बर्षा शुरु नहुँदै चल्ला कोरली हुर्र्काउँदै थिए । तर ‘कुकुली’ नाम गरेकी पोथी मैनाले बेलामा अल्छि गरी । प्रकृतिको हरियालीमा आनन्द लिदै, मीठामीठा फलफूल खाँदै, अरु चराहरुका गुँडगुँड डुलेर गफ हाँक्दै उसले निक्कै समय बिताई ।

जब बसन्त सिद्धिएर वर्षा शुरु हुन लाग्यो तब उसले हतारहतार गुँड लगाई । हतारमा लगाएको गुँड कमजोर थियो । एकदिन सामान्य हुरी बतासले नै उसको गुँड भत्कियो । कुकुली दुःखी भई, तर निरास भइन । उसले फेरि अर्को गुँड लगाई । तर फुल पार्न नपाउँदै ठूलो हावाहुन्डरी आयो । हतारमा बनाएको गुँड दर्बिलो थिएन । त्यो पनि हावाहुन्डरीले भत्काई दियो । कुकुली निक्कै दुःखी भई । उसलाई फुल पार्न अवेर भइसकेको थियो । सँगैमा उसका साथीहरुका बचेरा उड्न लागिसकेका थिए । कुकुलीले फेरी गुँड लगाई र हतारहतार फुल पारेर ओथारा बसी ।वर्षायाम शुरु भइसकेको थियो । कुकुलीले चल्ला कोरल्ने बेला हुन लागेको थियो ।

एकदिन उ एकछिन चर्न बाहिर निस्केकी थिई त्यति नै बेला ठूलो असिना पानी बर्सियो । उ हतारहतार गुँडमा फर्किई तर उसका सबै फुलहरु फुटीसकेका देखेर उ बिचलित भई । यस पटक भने कुकुलीको धैर्यताको बाँध टुट्यो । प्रकृतिसँग उसलाई साह्रै रिस उठ्यो । उसले सबै घटना विवरण सहित प्रकृति विरुद्ध अदालतमा मुद्दा हाली ।

कुकुली दुःखी भई, तर निरास भइन । उसले फेरि अर्को गुँड लगाई । तर फुल पार्न नपाउँदै ठूलो हावाहुन्डरी आयो ।

अर्को हप्ता अदालतमा दुबै पक्षलाई आ–आफ्ना प्रमाण सहित छलफलका लागि बोलाइयो । कुकुलीले आफ्नो गुँड भत्किएको, फुलहरु फुटेको तस्विरहरु लगायत सबै प्रमाणहरु तयार गरी आफ्नो वकिल सहित अदालतमा उपस्थित भई । बहस शुरु भयो । दुबै पक्षले अ–आफ्ना तर्क, तथ्य र प्रमाणहरु पेस गरे । अन्त्यमा, न्यायधिसले फैसला सुनाए, “दुबै पक्षका तर्क, तथ्य र प्रमाणहरुका आधारमा अदालत यो निर्णयमा पुगेको छ कि कुकुलीको गुँड पटकपटक भत्किएको र फुल फुटेको साँचो ठहरीए पनि उक्त घटना प्रकृतिले नै घटाएको हो भन्ने प्रमाण नपुगेकाले प्रकृतिप्रति मान हानी हुन गएको र समयमा गुँड नबनाई प्रकृतिको नियम उल्लंघन् गरेको ठहर गर्दै नीज कुकुलीलाई १ वर्ष जेल सजाय तोकिन्छ ।”
२०७७/०२/१६