जेठ ९ गते २०७७

ताजा समाचार

जेठ ९ गते २०७७

पोखरा २८ मा ७ जनालाई सुत्केरी प्याकेज, विकास, निर्माण जारी



कोरोना महासंकटमा सुरक्षाका उपाय अबलम्बन गर्दै पोखरा २८ मा स्थानीय सरकारका गतिविधि र विकास, निर्माणलाई जारी राखिएको छ । हालै वडामा रहेका ७ सुत्केरीलाई महानगरको तर्फबाट सुत्केरी प्याकेज हस्तान्तरण गरिएको छ ।

सुत्केरीहरुलाई जनही १ केजी घ्यु, तोरीको तेल १ लिटर, हर्लिक्स आधा केजी, साबुन र नगद ५ सय प्रदान गरिएको हो । यसैगरी महानगरको प्रोफाइल बनाउन वडामा २२ जनालाई परिचालन गरिएको छ । वडाध्यक्ष निर्मल दियालीले १५ गतेभित्र महानगरले तोकेका तथ्यांक ल्याउन उनीहरुलाई सुरक्षित रहेर काम गर्न जिम्मेवारी दिइएको बताए । उनले जीविका चलाउनै कठिन भएकाहरुलाई राहत दिन पहल समेत गरिरहेको सुनाए ।

वडामा सञ्चालित अधिकांश विकास, निर्माणका काम जारी छन् । छहरे खाने खानेपानी टंकी निर्माण जारी छ । प्रदेश सांसद मानबहादुर गुरुङको संसद कोषबाट बिनियोजित रकम २५ लाखबाट पर्यटकीय स्थल ठूलाकोटमा भ्यु टावर निर्माण भइरहेको छ ।

पोखरा २८ संघीय शसर्त अनुदान खानेपानी शीर्षक अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयबाट साबिक माझठाना र कालिकाको क्रमगत योजनाबाट माझाठानाको डुडखोलामा टंकी निर्माणाधीन छ । हालै छहरे खानेपानीलाई व्यवस्थापन गर्न टंकी बनाउन प्राबिधिकसहित उपभोक्ता समिति अध्यक्ष दुर्गाप्रसाद गौतमसहितले स्थलगत निरीक्षण गरेका छन् ।

कास्की १ का संघीय सभासद खगराज अधिकारीको पूर्वाधार क्षेत्र बिकास योजना अन्तरगतको १० लाखबाट रैकर बुढाथोकी गाउँ हुँदै डाँडा गाउँ ढलान पैदल मार्गको काम पनि जारी छ ।

सामाजिक दुरी कायम राख्दै स्थानीयले काम गरिरहेको वडाध्यक्ष दियालीले जानकारी दिए । महासंकटमा पनि सुरक्षित रहेर जनताको सेवा आफूहरु क्रियाशील रहेको उनले बताए ।