ठूलो तर सानो सोच राख्छ छिमेकीले
धन, बलको धाकले सीमा नाघ्छ छिमेकीले
मुखमा रामराम बगलीमा छुरा भनेजस्तै
अप्ठेरोमा सधैँ माथ ताक्छ छिमेकीले ।
छिमेकीको महत्व नै नबुझेर होला
अन्यायले सीमा नाघ्दा यो मन कति रोला
पराधीनता भोगेकै हो उसले पनि हिजो
लौरी बिर्से जस्तै ग¥यो तरेपछि खोला ।
अनेकानेक हल्लामात्र छर्छ मेरो देश
निर्विकल्प लकडाउन मात्र गर्छ मेरो देश
कुटनीतिक पहल भन्छ, मस्त निदाउँछ
छिमेकीको पेलाइमा पर्छ मेरो देश ।
यो बजेटले भोको पेट भर्न सक्नुपर्छ
स्वास्थ्य, शिक्षा दिलाइ दुःख हर्न सक्नु पर्छ
सुखी नेपाली, समृद्ध नेपालको नारा पूरा गर्न
दुर्गम परिवेशको विकास गर्न सक्नुपर्छ ।









