कविता : भोकको प्रश्न

भ्रष्टाचारको भोक
कति अरब खरब
ज्युनार गरिसकेपछि मेटिन्छ ?
सत्ताको भोक
कति पटक सत्तारोहणपछि
टन्न अघाउँछ ?

छिमेकीको भोक
कति हेक्टर माटो मिचेपछि
सन्तुष्ट हुन्छ होला
महामारीको भोक
कति समय हरेपछि
शान्त हुने होला

जनताको भोक
आफ्नै घरभित्र कैद छ
ओहोरदोहोर गरिरहेछ संकट बाटोमा।
महामारीको परिभाषा
कति लासको गन्तिपछि
लेखिन्छ होला ?

भोकाएको मृत्यु
घर घर चहार्दै छ
बजाउँदै घन्टी ।
यतिखेर भोकसित
महाभारत रच्न समय आफै
भोकै बसेको छ
र सोधिनै रहेको छ
एउटा यक्ष प्रश्न
सबैले सबैलाई ।

भ्रष्टाचारको भोक
कति अरब खरब
ज्युनार गरिसकेपछि मेटिन्छ ?