लघुकथा : अचम्मको जायज निर्णय

विश्वभरिका मान्छेको सातो र प्राण हरण गर्ने अन्तर्राष्ट्रि आतङ्कवादी कोरोना भाइरसले पुरूषप्रधान देशलाई पनि छोडेन । सरकारले कोरोना रोकथाम केन्द्रीय समिति गठन गर्यो । उक्त समितिमा काम नगर्ने तर गफले नारीवादी पुरूषको बाहुल्य थियो ।

छिमेकी राष्ट्रको सिको गर्दै शुरूमा १० दिन लकडाउनको सिफारिस गर्यो सरकारलाई । खाद्य र औषधीजन्य पदार्थबाहेक अन्य सबै बन्द हुॅदा पुरूष वर्ग अतालियो तर महिला वर्गलाई भने झनै भ्याई नभ्याई भयो ।

यस्तैमा नौ दिन बित्यो तर कोरोनाले भने दुलो, गौंडोबाट छिरेर झनै सातो लिन थाल्यो । यसै समस्यालाई मध्यनजर राख्दै उक्त कोरोना रोकथाम केन्द्रीय समितिले अति गोप्य सिफारिस सरकारलाई बुझायो । मन्त्री मण्डलको बैठकमा उक्त सिफारिसउपर टेबुल ठोकाठोकसहित चर्को बहस भयो ।

अन्त्यमा अचम्मको जायज निर्णय भएको देश, विदेशको प्रतिक्रिया आउन थाल्यो । निर्णय यस प्रकार थियो :

जबसम्म वालिग पुरूषले महिलाले गर्दै आएको चुल्हो, चौको बढार कुॅडार सरसफाईको काम गर्दैनन् र १० वर्ष नाघेका बालिकासहित सम्पूर्ण महिलाले तेक्वान्दो, जुडो, करॉते आदि आत्म सुरक्षा कला जान्दैनन्, तबसम्म मुलुकमा लकडाउन जारिरहने छ ।