जेठ ३ गते २०७७

ताजा समाचार

जेठ ३ गते २०७७

स्मृतिमा अमिट सिद्ध गुफाको परिवेश



जीवनमा सम्झनाका अनेक क्षणहरु आउँछन् ,चाहे ती तिता हुन् या मिठा । खै रहस्यमय मानव जीवनलाई चर्चा गर्ने आ–आफ्नै तरिकाहरु भएपनि यात्राका रुपमा चर्चा गर्नेहरुप्रति सहभाव राख्न विवस तुल्याउँछ कुनै यात्राको परिवेशले । यात्राका सबै क्षणहरु सहज हुँदैनन् तर त्यही असहजता भित्र सहज परिस्थितिको सिर्जना गर्न सके लाग्छ जीवन यात्राका कुनैपनि क्षण निरस बन्दैन ।
सम्झनाका अनेक तरेलीहरुमा तरंगिएर प्रकृतिका मनमोहक, सुन्दर परिवेश नियाल्न गरिने यात्राहरु साँच्चै जीवन्त बनेर रहन्छन् । वसन्त ऋतुको समय रुखहरुमा पलाएका पालुवाहरुसँगैको हरियाली दृश्य नियाल्दै डाँडा पाखामा फुलेका लालीगुराँस र त्यसमा भुलेका भमराहरुसरी प्रकृतिको सुन्दर परिदृश्यमा लिप्त हुन चाहन्छ मान्छे । भौतिक सुख सुविधा जतिनै भएपनि त्यसबाट प्राप्त हुने आनन्दको क्षण भन्दा प्रकृतिको विचरणबाट प्राप्तहुने आनन्द कम नहुने कुरालाई नकार्न सकिँदैन । आजको मान्छे यो भिडभाड र सहरमुखी परिवेशबाट एकैछिन भएपनि प्रकृतिका सुन्दरतामा आफूलाई भुलाएर दुःख भुल्दै आनन्दको श्वास फेर्न चाहन्छ । हो तिनै यात्रीय क्षणहरुमध्येको यात्रा हो सिद्ध गुफाको हाम्रो यात्रा ।

७ जना सहकर्मी मित्रहरुको समसाथ रहेर मोटरसाइकलमा खुल्ला परिवेश नियाल्दै चिसो हावाको स्पर्सका साथ गरिएको यो यात्रा आफैँमा रोचक त छदैँ थियो अर्को तर्फ सिद्ध गुफाको बारेमा सुनिएका कुराहरुले मनमा कूतुहलता पैदा गराएको थियो । पृथ्वी लोकमार्गको बीचभागमा पर्ने तनहुँ जिल्लाको बिमलनगर–६ बन्दीपुरस्थित सिद्ध गुफाको अवलोकनका लागि तल्लिन हाम्रा नयनहरु तत् स्थान नियाल्ने प्रतीक्षामा थिए । यसका लागि पोखराको पृथ्वीचोकबाट बैशाख २३गते शनिबार बिहान ११ बजे सुरु भएको हाम्रो यात्रा बाटा वरपर पर्ने सुन्दर प्राकृतिक छटा नियाल्दै करीब ३ घण्टापछि गन्तव्यस्थलमा पुग्न पुगेर रोकियो ।

प्रकृतिका अनेक सुन्दर रुपहरु,हरियो वन ,पाखा पखेरा, छाँगा छहरा, प्रकृतिको विचरण गर्दै फुत्त–फुत्त निस्कने झरना, अग्ला हिमश्रृङ्खला,नदी लगायतका स्थलहरुमध्ये आश्चर्य लाग्दा गुफाहरु पनि मुख्य हुन् । सुनेका कुरालाई वास्तविक रुपमा आफ्नै नयनले नियाल्न आतुर मन लिएर त्यसतर्फ लागेका हामी बीच बाटामा पर्ने घाँसीकुवा पार्क नजिकै बसेर चिया मन पर्ने गोपाल थापाको प्रस्ताव स्वीकार्दै मीठो चियाको चुस्कीसँगै रमाइला गफ गर्दै विमलनगर पुग्यौँ । विमलनगरमा बाइक राखेर साथीहरु अमर क्षेत्री, दोलकराज पौडेल ,कृष्णहरि कोइराला , कमलराज पौडेल ,शंकर लामिछाने गोपाल थापा र म आफूसहित सात जना भएर करिब ३० मिनेटको उकालो चढ्दै गर्दा बाटामा पर्ने सुन्दर हरियाली जङ्गल ,अग्लो पहाड बाटापारि देखिने मिलेको बस्ती ,सुन्तलाको बगैचा चिसो मिठो पानी आदि सबै कुराले साँच्चै हाम्रो मन प्रफुल्ल थियो ।

भनिन्छ सुन्दरता पदार्थमा होइन नजरमा हुन्छ । जुन वस्तुप्रति जस्तो दृष्टिकोण राख्यो उस्तै लाग्छ । बास्तविकता त त्यही हो तर सबै नजरका लागि सिद्ध गुफाको परिवेश रोचक र आकर्षक नै लाग्छ भन्न मन लाग्यो यो परिवेश नियालेपछि । मनको कूतुहलता मेटाउनका लागि पर्खाइको घडी अब लामो थिएन । उकालो चढिसकेपछि गुफा प्रवेशद्वारमा पुगियो । १० रुपैँयाको टिकट काटेर हामी ७ जना साथी सहित एक जना गाइड लिएर हामी जब गुफाभित्र छि¥यौँ तब अर्को छुट्टै संसारमा प्रवेश गरेको अनुभूति भयो । गुफाभित्रको अध्यारोलाई चार्ज लाइटको उज्यालोले चिर्दै हामी अगाडि बढ्यौँ ।

आकर्षक, मनमोहक गुफा भित्रको परिवेशमा रहेका कुनै सिद्धहस्त कलाकारले कुँदे झैँ लाग्ने विभिन्न झरना ,पहाड, श्रीपेच,चौतारो लगायतका प्राकृतिक दृश्य,विभिन्न पशु पंक्षीको आकृति,धार्मिक पक्षसँग सम्बन्धित आकृतिहरुले साँच्चै गुफाभित्रै बसिरहूँ लाग्ने कुरालाई नकार्न सकिदैन । त्यसमा पनि साथी दोलकको अन्त्यानुप्रास मिलाएर बाल्ने शैली अन्य साथीहरुको ठट्यौलो पारासँगै विगत ५ वर्षदेखि गुफामा रहेर गाइडको काम गर्दै आएका पथप्रदर्शक तीर्थ सुनारको कार्य अनुभवका रोचक प्रसङ्गले गुफा भित्रको १ घण्टाको समय खै कति चाँडै बित्यो पत्तै भएन ।

वि.स. २०४४ चैत १३ गते पत्ता लागेको यो गुफा २०६४ सालबाट प्रचार प्रसारमा आएको हो । प्रचूर पर्यटकीय संभावना बोकेको सिद्ध गुफा संरक्षणका लागि गुफा संरक्षण समिति गठन भै काम हुँदै आएको साथै गुफाभित्र फोहोर हुन नदिन साथै अनावश्यक केर्न र अश्लिल क्रियाकलाप हुन नदिन अनिवार्य गाइड लिएर जानुपर्ने कुराले साँच्चै आउँदा दिनमा पनि गुफा अझै व्यवस्थित हुने कुरामा विश्वास गर्न सकिन्छ । गुफा प्रवेशद्वारसम्म पुग्नका लागि सुविधासम्पन्न बाटो र रेलिङ निर्माण गरिएकोले कुनै अप्ठ्यारो पनको महसुस हुनै पाउँदैन ।

सिद्ध गुफाको उचित प्रचार–प्रसार गरी यसको संरक्षणसँगै व्यवस्थितगर्दै यसको प्राकृतिक स्वरुप नबिग्रने गरी बत्तीको व्यवस्था गर्नसके पर्यटन आगमनमा बृद्धि भई देशको अर्थतन्त्रमा समेत ठूलै सहयोग पुग्ने कुरालाई नकार्न सकिँदैन ।

दैनिक एक हजार भन्दाबढी आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुन थालेको गुफामा प्रवेशका लागि रु.१० को प्रवेश शुल्कसँगै २ सय ५० गाइडका लागि तिर्नुपर्ने गुफाभित्र बत्तीको सुविधा नभएपनि चार्ज लाइट लिएर जान सकिन्छ सो को सुविधा तत् स्थानमा नै रहेको छ । गुफाभित्र बर्खाको बेला पौडिन मिल्ने ताल हुने साथै ब्याटमिन्टन खेल्न मिल्ने फराकिलो मैदान समेत रहेको कुराले अचम्भित तुल्याउँछ । एसिया कै ठूलो यो गुफा कमसेकम एक पटक सबैले हेर्नै पर्छ यसको बास्तविकता बुझ्नका लागि । यतिमात्र होइन कहिले डोरीको सहायताले झुण्डिदै त कहिले भ¥याङ चढ्दै गुफा घुम्नुको मज्जा छुट्टै हुन्छ ।

४ मिटरदेखि ५० मिटरसम्मको उचाइसँगै ४ सय ३७ मिटर लम्बाइमा फैलिएको डाँडाको उच्च भागमा रहेको यो गुफा साँच्चै अनौठो लाग्छ । बर्खाको ४ महिना गुफाभित्रै पौडन मिल्ने ,ब्याटमिन्टन खेल्न मिल्ने मैदान रहेको यो गुफा एसियाकै ठूलो र नमूना गुफा समेत हो भन्न पाउँदा नेपाल र नेपाली हुनुप्रति भन् गर्वको महसुस हुन्छ । नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा मात्र छैन यी र यस्ता अनेकौँ सुन्दर मनमोहक स्थलहरु पनि छन् । भएकाको संरक्षण र नयाँको खोज गर्न सके नेपाल एउटा पर्यटकीय उच्च संभावना बोकेको नमूना मुलुक बन्न सक्छ । सिद्ध गुफाको उचित प्रचार–प्रसार गरी यसको संरक्षणसँगै व्यवस्थितगर्दै यसको प्राकृतिक स्वरुप नबिग्रने गरी बत्तीको व्यवस्था गर्नसके पर्यटन आगमनमा बृद्धि भई देशको अर्थतन्त्रमा समेत ठूलै सहयोग पुग्ने कुरालाई नकार्न सकिँदैन । यी र यस्तै कुराको विश्लेषण गर्दै एउटा नयाँ अनुभूतिका साथ हामी बाहिर निस्क्यौँ ।

केही बेरको फोटो सेसनपछि सिद्ध गुफाको त्यो मनमोहक परिवेशलाई मनभरी सङ्गाल्दै नचाहेर पनि फर्कने तरखरमा थियौँ हामी । चाहेर पनि भुल्न नसकिने सिद्ध गुफाको परिवेश अवलोकनसँगै हामी हरियाली चैते धानका फाँट, मकै बारीमा आँखा डुलाउँदै फर्कियौँ । तनहुँको दमौलीमा आएर खाजा खाएपछि बाटाभरि मोटरसाइकलमा सयर गर्दै साथी दोलक र मेरोबीचमा चलेको रमाइलो दोहोरी गीत प्रस्तुतिको रौनकता कहाँ कम थियो र ? यसरी सिद्ध गुफाको त्यो सुन्दर परिवेशलाई स्मरणमा राख्दै यात्राका क्रममा जोडिएका विविध अविस्मरणीय रमाइला सन्दर्भहरुसँगै बेलुका करीब ७ः३० बजेतिर पोखरा आइपुग्यौँ ।

नुवाकोट, तारकेश्वर गाउँपालिक–१, दाङसिङ

gkfriend8@gmail.com