करिब तीन घन्टा भैसकेको थियो इन्द्रबहादुर लाइनमा बसेको। बसेको के भन्नू र उठेको । लाइन यति लामो थियो कि पालो आउदा दिन पुरै जाला जस्तो लाग्यो उनलाई । मधुमेहको रोगी इन्द्रबहादुर लाई चर्को घामको लाइनमा बस्दा भाउन्न भएर आयो । अस्तिदेखी राम्ररी खाना खाएको पनि छैन , नेताहरुले रासन दिन्छु त भन्छन बाड्दा बाड्दै सकियो भन्ने पो हुन की । आफुले चिनेकालाई धेरै दिने हामीजस्ता लाई थोरै दिने गर्ने पो हुन कि, इन्द्रबहादुरको मनमा शंका उब्जियो ।
भोको पेटले चर्को घाममा उभिन इन्द्रबहादुर लाई अती गार्हो भैरहेको थियो । उता, घरमा कतिखेर चामल ल्याउलान र पकाम्ला भनेर बसेकी इन्द्रबहादुरकि बुढी एक्लै फत्फताउदै थिइन , हैन किन यतिबिधी बेर गर्या हुन यी बुढाले , कतै पैसा दिएछन र त्यै पैसा लिएर कुकुरको मुत खान भट्टी पो पसेकी ? दिनदिनै खानुपर्ने कुकुरको मुत अहिले त खान त के सुघ्न पनि नपाएको सातादिन भैसक्यो । आफुलाई भने भोक लागि सक्यो। चामल मात्रै ल्याए पनी भात र गुन्द्रुक भुर्लुक्क उमालेर खान हुन्थ्यो। हुन त एकाबिहानै गएका उनले पनि के खाएका छन र बरा…
बुढिलाई बुढाको माया लागेर आयो । बरु गुन्द्रुकको अहिल्यै झोल उमाली राख्छु बुढाले चामल ल्याउनेबित्तिकै भात पकम्ला। बुढिले चाडै हुने मेसो गरिन । अघिसम्म १/१ बोरा चामल र त्यही अनुसार अन्य सामाग्री बाडेका लाइनमा अहिले घटेर एक बोरा चामल र एक पोका तेल तीन जनाले बाड्नुपर्ने भयो वा भनौ एक प्याकेज तीन भाग लगाएर राहत बाडेका थिए । पछाडि पर्नेहरु यो सुनेर त्यही जुलुस गरौंला झै गरेका थिए तर त्यहा पुलिसले डण्दा लिएर बसेको हुनाले चुपचाप लाइन अघि बढिरहेको थियो ।
इन्द्रबहादुरको पालो आउन आउन लागेको मात्रै के थियो एकैछिन रहत दिने क्रम रोकियो । राहत बाड्ने टेबुलमा बसेकाहरू दोस्रो पटक दुध, चिया र बिस्कुट खान थाले । बिहान जुरुक्क उठेर पानी पनी नखाई गएकाहरु भोक र तिर्खाले आत्तिएकाले घुटुक्क थुक निल्दै बसे । इन्द्रबहादुर लिलिको बाउको पछाडि थियो । लिलिको बाउको पालो आयो । सहिछाप गरेर राहत बुझ्ने बेलामा भित्रबाट आवाज आयो, सबै चामल सकियो , त्यसैले आज राहत नपुगेकाहरु भोलि आउनुहोला ।
लाइनमा बसेकाहरुले राहत पाउनुको सट्टा आहत पो पाइयो भन्दै कराउन थाले। कोहि त्यही रुवाबासी गर्न थाले । भोक र तिर्खाले क्लान्त इन्द्रबहादुर त्यही फुर्लुङ्ग ढले ।




