वैशाख ३० गते २०७७

ताजा समाचार

वैशाख ३० गते २०७७

कोरोना कहर: नेपालको ‘चुनौती’ र ‘अबसर’



यस आलेख नेपाली जिबन र अर्थब्यबस्थामा महत्त्वपूर्ण योगदान दिएका केही महत्त्वपूर्ण (आर्थिक र कृषि) क्षेत्र र त्यस क्षेत्रमा कोरोनाले पार्न सक्ने प्रभावहरु, जोखिम र त्यसको ब्यबस्थापन सरकारले कसरी गर्नुपर्ने हुन्छ भन्ने बारेमा केन्द्रित छ। कोरोना (कोभिड-१९) भाइरस के हो? यसको विशेषताहरु के के हुन? यो कसरी एक ब्यक्तिबाट अर्कोमा कसरी सर्द्छ? आदि जिज्ञासा/प्रश्न तथा यसको सापेक्षित उत्तर बारे वर्तमान समयमा बिश्वका हरेक कुनामा निकै चर्चा भैरहेको छ। चिनको हुवेई प्रान्तको वुहान शहरबाट २३ डिसेम्बर २०१९ सुरुभएको भाइरस समुहको “कोरोना” (कोभिड-१९) लगभग छ महिनाको अबधिमा नै सम्पूर्ण बिश्व यसबाट प्रकोपित भैसकेको छ।

११ मे २०२० सम्म बिश्वको कुल जनसंख्याको ०.०५४ प्रतिशत (४२,१८,८५६) जनसंख्या कोरोना भाइरस संक्रमित रहेको जनाइएको छ।। कुल संक्रमितहरु मध्ये ६.७५ प्रतिशत (२,८४,७९२) मानिसहरूको मृत्यु भैसकेको छ। ३५.७ प्रतिशत (१५,०७,१४२) मानिसहरू उपचार पछी घर फर्केका र बाकी उपचाररत २४,२६,९२२ मध्ये ९८ प्रतिशत (२३,७९,८७०) मानिसहरूको स्वास्थ अवस्था सामान्य/खतरामुक्त रहेको छ भने उपचाररत बाँकी २ प्रतिशत (४७,०५२) मानिसहरूको अवस्था निकै चिन्ताजनक रहेको बिश्व स्वास्थ संगठनले प्रकाशित रिपोर्टमा जनाइएको छ।

हरेक एक सयबर्षको अन्तरमा यस पृथ्वीमा कुनै न कुनै प्रकोप र महामारी आएको र उक्त घटनाहरुले विश्वलाई नै ठुलो सामाजिक, आर्थिक तथा मानवीय क्षति गराउदै आएको इतिहास छ। बिगतका महामारी र युद्धहरुमा निश्चित क्षेत्र र जनसंख्या प्रत्यक्ष प्रभावित भएका थिए भने बिश्वब्यापीकरण, उच्चदरमा भएको अन्तर्राष्ट्रिय गतिविधि (यात्रा/बसाइँसराइ), इकोसिष्टम (पारिस्थितिक अवयव)मा आएको परिवर्तन, बिश्वब्यापी उष्णतामा वृद्धि र मानवीय जिबनशैलीमा आएको परिवर्तनहरुको कारणपनि कोभिड-१९ को प्रभाव र त्यसको असर खतराजन्य र दीर्घकालीन हुनजाने र अन्त्यमा मानवीय जिबन माथीनै ठुलै क्षति पुर्‍याउने देखिन्छ। कुनैपनि देशले हरेक प्रकोपलाई केवल चुनौतीको रूपमा मात्रै नलिई विकल्पहरु अवलम्बन गरि समस्याको समाधान गर्ने र हरेक प्रकोपलाई एउटा अबसरको रूपमा लिएर देशलाई सामाजिक आर्थिकरूपमा अगाडि बढाउन सक्षम देशहरूनै भबिष्यमा समेत सफल हुनेछन्।

कोभिड-१९ लाई बिश्वब्यापी महामारीको रूपमा बिश्वले नै स्वीकार गरीसकेको छ। यस महामारीलाई समयमै नियन्त्रण गर्न सकिएन भने बिगतका विभिन्न समयमा भोगेका महामारीहरुको भन्दा ठुलो क्षति बिश्वले ब्यहोर्नुपर्ने हुन्छ। कुनैपनी महामारी र त्यसले निम्त्याउन सक्ने क्षतिको अनुमान कुनैपनी गणितिय बिधिको प्रयोग गरेर गर्नु उपयुक्त त हुदैन। यदी औषधि बिज्ञान र चिकित्साक्षेत्रमा तत्काल आश्चर्यजनक उपलब्धि हातलाग्यो वा भाइरसको प्रभाव आफै न्यून हुदै गएर मानवीय क्षति कमभयो भने मात्रै ! नभए यो प्रकोपले यो लेख तयारगर्ने समयसम्मको संक्रमितको दर र मृत्यु हुनेहरुको दरलाई आधार मान्ने हो भने ‘कोभिड-१९’ संक्रमणले बिश्वभर चार देखि पाँच करोड ब्यक्तिहरुको मृत्यु हुनसक्ने अनुमान गर्न सकीन्छ। कोभिड-१९ को दीर्घकालीन र स्थायी समाधान भनेको चिकित्साजन्य औषधि वा खोप मध्ये कुनै एक हो। यसको लागि सारा बिश्वनै एकभएर खोजमा जुटिरहेकोछ। खोजले पुर्णतः सफलता नपाउदासम्म यसबाट बच्ने एकमात्र उपाए भनेको यसको संक्रमणबाट आफुलाई जोगाउनु नै हो अर्थात सामाजिक दुरी कायम गर्नु नै हो।

बिश्वब्यापी रूपमा महामारीको रूपमा प्रस्तुत भैरहेको कोरोना संक्रमण नेपालका दुई छिमेकी मध्ये एउटा चीन सुरुमै यसको प्रकोपमा परेर नियन्त्रणमा आएको जनाएको छ भने अर्को, खुला सिमाना र उच्च जनसंख्या भएको तथा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। बिश्वकै पुरानो देशहरु मध्येको एउटा देश नेपालले पनि इतिहासको कालखण्डमा यस्ता महामारी, प्रकोप र युद्धको प्रत्यक्ष अप्रत्यक्ष पीडा र अनुभव नब्यहोरेको होइन। हिजोको प्रकोप, महामारीमा जे-जस्तो श्रोतसाधन र बिधिको प्रयोग गरेर भएपनि ब्यबस्थापन गरी आजको दिनसम्म आइपुग्यो। बिश्व स्वास्थ संगठनले समेत उच्च जोखिमपूर्ण देश मानेको, यस्तो अवस्था भएको छिमेकी देशहरुको बीचमा रहेको नेपाल समेत यसको संक्रमणको चपेटामा पर्ने निश्चित छ।

नेपालमा नोवल कोरोना भाइरस संक्रमितहरुको संख्या हालसम्म निकैकम रहेको हुँदा यो सङ्क्रमणको पूर्वानुमान गर्ने समय अझै भएको छैन। नेपालको कोरोना संक्रमणको परिक्षणको कमिको कारण हो वा स्वस्थ काल्पनिकताको सिद्धान्त हो वा भाइरसको नेपाल प्रवेशहुँदा अनुवांशिक परिवर्तन भएर के हो? अनुसन्धानको बिषय हुन सक्छ।

अवस्था हेर्दा निकै कम १३४ मानिसहरू मात्रै संक्रमित भएका छ्न। संक्रमितहरुमध्ये पनि ३३ जना उपचार पछी स्वस्थ भइ घर फर्केको नेपाल सरकार स्वास्थ मन्त्रालयको प्रतिबेदनमा उल्लेख छ। हालसम्म कोरोना संक्रमणको कारण हालसम्म कुनैनेपालीको नेपालभित्र मानवीय क्षति भएको छैन। जुन खुसीको बिषय समेत हो। कोरोना संक्रमणको अवस्था के छ? कुन तहसम्म फैलिएको छ? कहाँ कहाँ फैलिएको छ? भन्नेमा सरकार नै अस्पष्ट देखिन्छ। यो महामारी हो। महामारीको तयारी, सजग, सतर्कता, होशियार र ब्यबस्थापन आजको आवस्यकता हो।

सामाजिक दुरी कायम गरि कोरोना संक्रमणलाई न्यूनीकरण गर्न नेपाल सरकारले देशमा लकडाउन (बन्दाबन्दी) लगाएको पनि लगभग दुईमहिना पुगेको छ। लकडाउन समस्याको समाधान नभएको, यो अबधि भनेको संक्रमितहरुको उपचार तथा यसकालागि आवश्यक चिकित्सा सामाग्री र अल्पकालीन पुर्वाधारहरुको निर्माण र ब्यबस्थापनको लागिमात्र हो। लकडाउनको समय कहिले सम्म रहन्छ भन्ने आधार तत्काल देखिदैन। यो समय लम्बिदैजाँदा यसको प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव देश तथा नागरिकको दैनिकिमा पर्ने आगामी दिनहरूमा आउनसक्ने र आएको समस्याहरुलाई सम्बोधन गर्दै समाधान गर्नेतर्फ पाइला चाल्न ढिलो हुनजाँदा भोलिको दिनमा कोरोनाको प्रभाव भन्दा अन्य समस्याहरुले देश र नागरिकको जिबन अप्ठ्यारोमा पर्ने निश्चित छ। कोरोना(कोभिड-१९) भाइरसबाट नेपाललाई जोगाउन ‘कोरोनाको कहर’लाई चुनौतीको रूपमा स्वीकारगरी विकल्पहरु अवलम्बन गरि समस्याको समाधान गनुपर्छ।

हरेक प्रकोपलाई एउटा ‘अबसर’को रूपमा लिएर देशलाई सामाजिक आर्थिकरूपमा अगाडि बढाउनका लागि नेपालको केन्द्रीय सरकार, स्थानीय सरकारहरु, राजनैतिक पार्टीहरु, सरकारी एवं गैरसरकारी संघ संस्थाहरु तथा सम्पूर्ण नेपाली नागरिकहरु पनि जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ। यस कोरोना सङ्क्रमणबाट देशलाई जोगाउन र ‘कोरोनाको कहर’लाई चुनौतीलाई स्वीकारगरी यसलाई एउटा अबसरको रूपमा लिएर देशलाई यसबाट पार लगाउन द्रीढ इच्छाशक्ति भएको उच्च राजनैतिक नेतृत्वले मात्रै सक्दछ। भूकम्प,महामारी वा अन्य कुनै प्राकृतिक प्रकोप बिश्वभर जहिले र जहाँपनि आउँछन। त्यसको प्रतिरोध गर्नुपर्ने हुँदा ति देशहरुको सामाजिक-आर्थिक अवस्था केही कमजोर हुनु स्वभाविक नै हुनसक्छ। नेपालको सन्दर्भमा सामाजिक-आर्थिक अवस्था कमजोर हुनुमा यस्ता प्रकोप र महामारी मात्र नभई अक्षम राजनैतिक नेतृत्व र प्रशासनिक निकायहरू बढी जिम्मेवार छन्। सरकार, राजनैतिक नेतृत्व र पार्टीहरू आन्तरिक कलहमा अल्झेर यो सुनौलो समयलाई पुर्ण सदुपयोग गर्नुको सट्टा यसलाई हल्का रूपमा लिएको देखिन्छ। “समय छ कुशल ब्यबस्थापकिय नेतृत्व प्रदर्शन गर्ने नभए तिनलाई समयले नै बढार्ने निश्चित “।

१. आर्थिक र रोजगारीको क्षेत्रमा चुनौती र अबसर
लोकतान्त्रिक गणतन्त्र पछि बिस्तारै गतिलिदै अगाडि बढ्न खोजेको नेपाली अर्थ-ब्यबस्थाको गतिलाई कोरोना ‘कहर’ ले रोक्ने निश्चितनै छ। प्रजातन्त्रको पुर्नबहाली पछि नेपालीहरु वैदेशिक रोजगारका लागि तेस्रोमुलुक जानेक्रम सुरुभएको र समयको क्रमसंगै यसमा वृद्धिआएर कुलजनसंख्याको १७ प्रतिशत जनसंख्या देशबाहिर रहेको सन् २०६८ को जनगणनाले जनाएको छ। सामान्य अबस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मार्फत दैनिकरूपमा औसतमा १५०० नेपाली युवाहरू वैदेशिक रोजगारी (बिषेशगरी मलेसिया र खाडीमुलुकहरु) मा जानेगरेको विभिन्न तथ्यांक छ। यो तथ्यांकमा स्थलमार्गबाट खुला सिमा रहेको छिमेकी देशमा रोजगारीमा जाने नेपाली युवाहरुको संख्यालाई पनि वैदेशिक रोजगारीमा जानेको संख्या अझ बढ्ने निश्चित नै छ।

लकडाउन (बन्दाबन्दी) को कारण आर्थिक कारोबार, आन्तरिक तथा अन्तर्राष्ट्रिय ब्यापार संकुचित हुनजादा सरकारलाई राजस्वको लक्ष्य पुरागर्न चुनौती हुनेछ। आर्थिकबर्ष २०७६/७७ मा नेपालमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स (बिप्रेषण) भित्रिएको नेपालको कुल गर्हास्थ उत्पादनमा रेमिट्यान्सको योगदान २७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले अन्तर्देशीय सिमानामा कडाइ गर्दै अन्तर्राष्ट्रिय उडान अनिश्चित समय रोकेर देशमा लकडाउन घोषणा गरेपछि विदेश जानेक्रम पनि रोकिएको छ।वैदेशिक रोजगारीमा रहेकाहरुको कामगर्ने समयमा कटौती आउँदा विदेशमा रहेका अधिकांश नेपालीहरुको ब्यक्तिगत आम्दानीमा कमि आइसकेको छ। यसले कोरोना संक्रमणका कारण आ.ब. २०७७/७८ मा १८.५४ प्रतिशतले रेमिट्यान्स खुम्चने अनुमान तथ्यांक विभागले गरिसकेको छ। जुन नेपालको कुल गार्हस्थ उत्पादनको २५.४ प्रतिशत हो। नेपालको सामाजिक आर्थिक स्थिति उच्च राख्दै गुणस्तरीय जिबन कायमगर्ने उदेश्य राख्दै आ.ब. २०७७/७८ मा सरकारले आर्थिक वृद्धिदर करिब ८ प्रतिशतको लक्ष्य कोरोना संक्रमणको कारण यसको वृद्धिमा संकुचन आउने निश्चित भएर २+ प्रतिशत वरिपरि खुम्चने अनुमान नेपाल सरकारले गरिसकेको अबस्थामा आगामी दिनमा नेपालीको जीवन अझै कष्टकर हुने निश्चित छ।

रोजगारी सृजनागर्ने र राजस्वमा ठूलो योगदानगर्ने अधिकांश साना तथा ठुला औद्योगिक, कर्पोरेट, पर्यटन र ब्यापारीक क्षेत्रहरुमा कोरोनाको कारण आउनसक्ने सम्भाबित जोखिमहरुलाई सरकारले देशको अर्थ-ब्यबस्थाले धान्न सक्नेगरि यी व्यावसायिक फर्म र क्षेत्रको संकटमोचन गर्नुपर्ने हुन्छ। यसअबस्थामा अर्थतन्त्रलाई गतिदिने यस्ता क्षेत्रलाई अढ्याउन सकिएन भने फ़ेरि यसक्षेत्रमा दीर्घकालीन समस्याहरु देखापर्ने निश्चिति छ। संघीय संसद, प्रान्तीय र स्थानीय संसद/सभामा आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत हुने क्रममा छ। कोरोना संक्रमण, रोकथाम तथा उपचारका लागि जननिर्वाचित जनप्रतिनिधिहरुको लागि छुट्याइएको ‘सांसद बिकाश कोष’ लाई खारेज गरी उक्त बजेट नागरिकको स्वास्थमा खर्च गर्न संसदको मुख्य प्रतिपक्षी पार्टी र केही सत्तारूढ सांसदहरूले समेत आर्थिक लक्ष्यहरु सिमित राख्न र यो महामारी रोकथाम नभएसम्मका लागी स्थगित गर्न अनुरोध गरेको छ। यो अबस्थामा सरकारले तुरुन्त यो कोषको रकमले अर्थ ब्यबस्था चलायमान बनाउनेतर्फ निर्णय गर्नुपर्ने हुन्छ। ग्रामीण दुरसचार कोष, वैदेशिक रोजगारकोष लगायत आन्तरिक २४-२५ वटा ठुला कोषको रकम परिचालन गर्दा सरकारमाथि राजनैतिक दवाबपनि आउनसक्ने हुदाँ त्यसको मोडालिटी निर्माण गरेर अगाडि बढनुपर्ने हुन्छ।

वैदेशिक रोजगारीका लागि बिदेश गएका अधिकांश नेपाली कोरोनाका कारण फिर्ता हुदैछ्न। अन्तर्राष्ट्रिय क्षेत्रमा केहि समयकोलागि नेपाली श्रमिकहरुको मागमा पक्कै कमिआउने छ। सरकारले आफ्नो ‘निर्वाचन घोषणा पत्रमा’ नै आफू निर्वाचित भए खाडी लगायत वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरुलाई स्वदेश फिर्ता ल्याई उत्पादन र रोजगारी सृजनागर्ने भनेकोमा सरकारमा आएकोपनि लगभग तीन बर्ष पुराभैसकेको अबस्थामा यसबारे सरकारनै योजना बिहिन देखिएको छ। सरकार लगभग २/३ कै भएपनी आन्तरिक तथा अन्तर्राष्ट्रिय राजनैतिक घट्नाहरुको कारण धुमिल भैसकेको सरकारको छबिलाई सुधारगर्न, नेपालको बृहत उमेर संरचना अनुसार सबैभन्दा उच्च १५-५९ बर्षका जनसंख्या (लाभांश जनशक्ति) लाई उत्पादन र आयआर्जनको क्षेत्रमा अधिकतम प्रयोगगरि “जनसांख्यिक लाभ” प्राप्तगर्न, आन्तरिक श्रोतको परिचालन गर्न तथा श्रमजीवी नागरिक बिदेश पठाएर रेमिट्यान्सको भरमा अर्थतन्त्र चलाउने नेपालको पुरानो अर्थनितिमा परिवर्तन ल्याउन, “कोरोना कहर” एउटा ‘अबसर’ भएर आएको छ।

२. कृषिक्षेत्रमा चुनौती र अबसर
नेपालको अर्थतन्त्रलाई सहयोगगर्ने सबैभन्दा मुख्य र पुरानो पेशा कृषि हो। यो क्षेत्रमा ५९ प्रतिशत जनसंख्या आबद्ध छन। मुख्य पेशा कृषि भएपनि देशको कुल गर्हास्थ उत्पादनमा यो क्षेत्रको योगदान मात्रै ४० प्रतिशत छ। यो दर वार्षिक रूपमा घट्दै गईरहेको विभिन्न तथ्यांकले देखाउछ। कृषि मुख्य पेशा भएपनि, सरकारी नीति, परम्परागत प्रणाली, उत्पादन र बितरण प्रणाली, आधुनिक प्रबिधिको न्यून प्रयोग, सिचाइको अभावमा यो क्षेत्र अझसम्म व्यावसायिक बन्नसकेको छैन। आधुनिक प्रबिधिको न्यून प्रयोग हुँदा स्वदेशी उत्पादनको लागत उच्च हुनगइ आयातमुखी ब्यापारको उच्च मारमा पर्नजादा नेपाली कृषिक्षेत्र उपेक्षित हुँदै आइरहेको छ। जसका कारण गैर-कृषि क्षेत्रमा मानिसको सहभागिता बढ्दैगएको देखिन्छ।

प्रत्यक्ष-अप्रत्यक्ष, ठुला-साना औद्योगिक प्रतिष्ठान र उद्योगहरु कृषिक्षेत्रमै भरपरेका हुन्छ्न। कृषि परम्परागत र निर्वाहमुखी भएको कारण अधिकांश नेपाली उद्योगलाई चाहिने कच्चापदार्थ अभावको कारण बिदेशी उत्पादन र आयातमा भरपर्नुपर्ने हुँदा महामारी, प्रकोप र बेलाबेलामा हुने ‘नाकाबन्दी’को अबस्थामा औषधीजन्य, खाद्यान्न, वैदेशिक मुद्रा संचिति लगायत अन्यक्षेत्रमा समेत समय-समयमा समस्या देखापर्ने गर्दछ।

किसान, सर्वहारा, श्रमजीवी मजदुरलाई आधार बनाई राज्यसंचालनको नेतृत्वमा आएको सरकारले राज्य सन्चालनको तीन बर्ष पुग्नैलाग्दा समेत भुमिको प्रयोग, कृषिउत्पादन, बजार ब्यबस्थापन, सहज र सरल बैंकऋण, मलखाद उद्योग स्थापना, बिचौलिया मुक्त कृषिक्षेत्र आदि बिषयमा समय-सापेक्ष निति निमार्ण र त्यसको कार्यनयन पक्षमा उचित ध्यानदिन नसकेको कारण कृषिक्षेत्रलाई व्यावसायिक बनाउन सकिएको छैन।

बिश्वब्यापीरूपमा कोरोना संक्रमणको पारिस्थितिक बाध्यताका कारण स्थापित केही पेशा र ब्यबसायको स्वरुप कम्तीमा २-४ बर्षका लागि परिवर्तन हुनेछन्। यहीँ बाध्यता र परिस्थितिलाई आत्मसात गर्नकोलागी पनि मानिसहरू प्राचीन पेशा (कृषि) मा नै फर्कनुको विकल्प नहुन सक्छ। कोरोना संक्रमणको कारण वैदेशिक रोजगारमा गएका नेपालीयुवाहरू ढिलोचाँडो फर्कने नै छ्न। कम्तीमापनि १-२ बर्ष रोजगारदातहरुले बिदेशी श्रमिकलाई लैजाने छैनन्। देश औद्योगिक बिकाशमा प्रवेश गर्नेक्रममा कृषिक्षेत्रलाई समेत समेटेर लैजान सकेको खण्डमा मात्रै देशको आर्थिक वृद्धिदर उच्च हुनगई समग्रमा नागरिकको जिबनस्तर समेत गुणस्तरीय हुनेछ। नेपालले पनि ‘कोरोना कहर’ लाई ‘चुनौती’को रूपमा नलिई एउटा ‘अवसर’को रूपमा लिएर ‘दिगो बिकाश’को लक्ष्यलाई पूरागर्न प्रमुख प्राथमिकतामा कृषिक्षेत्रको बिकाश मार्फत पूरागरी आफ्नो नागरिकको ब्यबस्थापन गर्नुपर्ने हुन्छ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।