लघुकथा : महसुस

“बाबा ! खै मेरो टिफिन ? “
“बाबा ! खाना पाकेन, ढिला भैसक्यो भन्या, गाडी आउन लाग्यो । “
“बाबा ! छिटो ड्रेस लाइदिस्यो न मलाई ।”
“बाबा ! मेरो बेल्ट र टाई कहा छ ?”

” ए ! पख पख, नकराओ न, खाना पाक्दैछ, म आइहाल्छु अब ।”

फडिन्द्र आफ्ना दुइ वटा बच्चाहरुलाई थुम्थुम्याउदैछन, सधैं विहान ओछ्यानमै चिया पिएर ७ :३० मा मात्र उठ्ने बानी परेका फडिन्द्रलाई आज सबैरे उठेर खाना बनाउन र छोराछोरीहरुलाई स्कुल तयारी गर्नको चटारो छ, तेसो त आफु पनि ९ :०० बजे तयार भएर अपिस जानु छ । श्रीमती सरितालाई सधैं बेलामा खाना बनाउदिन भनेर गनगन गर्ने फडिन्द्रको आज ९ वज्दा दाल पाकेर भात भर्खर पाक्दैछ भने तरकारी काट्नै भ्याएको छैन, हुन त उनकी श्रीमती सरिता पनि खरिदार पदमा जागिरे छिन तर पनि विहानको एक एक समयलाई ख्याल गरेर आफना दुइ बच्चाहरुलाई स्कुल पठाएर श्रीमानलाई समयमै खाना खुवाएर आफु पनि संगै कार्यालय जान तयारी हुने गर्दथिन ।

तर पनि उनले ढिला गरेको खप्की श्रीमानबाट सधैं खानुपर्दथ्यो । माइतीमा बुबा विरामी भएको खबरले हिजो बेलुकी नै सरिता माइत गएको कारणले आज एक दिनलाई फडिन्द्रले यो संकट झेल्नु परेको छ । आखिरमा आज फडिन्द्रले घरको बिशेष जरुरी कारणले अपिस आउन नसक्ने जानकारी कार्यालयमा गराए ।

भोलीपल्ट विहान चिया लिएर सरिता आउदै गर्दा, “ए सरिता ! सुन त, लु छिटो गरेर तिमी बच्चाहरुको खाना लिएर आउ, त्यो बेलासम्ममा म उनीहरुलाई स्कुलको लागि तयारी पार्नेछु अनि दुबैजना मिलेर भान्साको काम गरौंला, नत्र तिमीलाई तयार हुन ढिला हुन्छ ।”

सरिताले अचम्मीत आखाले पुलुक्क हेर्दा फडिन्द्रको रसिला आखा र ओठमा मुस्कान देखिन अनि कति बेला आफ्ना आखा पनि रसाए पत्तै पाइनन ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।