किट्टी : बालबालिकाको साथी

जन्मिँदा अवोध, अञ्जान मानिसले शारीरिक वृद्धिसँगै धेरै कुरा सिक्दै जान्छ । केही अनुभवबाट, केही अध्ययनबाट, केही अरुको सुनेर । सिक्ने, सिकाउने क्रम जीवनपर्यन्त चलिरहन्छ । यस अर्थमा केही विद्वान्ले सिकाईलाई नै जीवनसमेत मानेका छन् । बालबालिकालाई औपचारिक शिक्षा होस् या अनौपचारिक नैतिक ज्ञान, दुवै सिकाउन उपयोगी र प्रभावकारी विधि कथा हो । सिकाईसँगै कथाबाट बालबालिकाले प्रशस्त मनोरञ्जन पनि प्राप्त गर्छन् । यसै हेतुले विश्वका सबैजसो भाषामा बालकथाको विकास भएको छ । लोककथाहरु पनि बालबालिकालाई सिकाउन र मनोरञ्जन दिन प्रचलनमा छन् ।

बालबालिकालाई युवसापेक्ष शिक्षा, मनोरञ्जन र नैतिकता व्यवहारिक रुपमा सिकाउने बाल कथाकार हुन् सरस्वती श्रेष्ठ ‘सरु’ । उनको बालकथा सञ्चयन ‘किट्टी’ हालै बजारमा आएको छ । कविता र गीत लेखनमा लामो समयदेखि सक्रिय सरु बाल साहित्यमा समेत क्रियाशील भए पनि उनको बालसाहित्यको यो पहिलो कृति हो । जीविकोपार्जनका लागि बालबालिकासँगै रम्ने र उनीहरुलाई व्यवहारिक र उपयोगी शिक्षा दिने दायित्व निर्वाह गरिरहेकी सरुका कथाले बालबालिकालाई परिश्रमी र असल नागरिक बन्न उत्प्रेरित गर्छन् । १२ वटा बालकथा रहेको कृति बिएन पुस्तक संसारले बजारमा ल्याएको हो ।

पछुतो कथामा झगडालु र रिसाहा शंखेकीराले कोहीसँग मित्रता कायम गर्न सकेको छैन । अरुलाई झूठो पोल लगाएर सम्बन्ध बिगार्ने उसले अन्तिममा पछुतो मानेको छ । कोइली र काग कथामा चराहरुको मान्छेकै जस्तो समाज देखाइएको छ । चरा समाजको नयाँ कार्यसमिति चुनिएको छ । समाज समतामूलक र शान्तिपूर्ण बनाउन गल्ती गर्नेले माफी माग्नुपर्ने र पीडा भोग्नेले पनि माफी दिनुपर्ने सन्देश कथामा प्रवाहित छ ।

हाम्रो कर्तव्य कथाले बाल मस्तिष्कमा अमिट हुने गरी मानिसको कर्तव्य सकाउन खोजेको छ । भ्यागुताको बिहे संग्रहकै उत्कृष्ट र रमाइलो कथामा पर्छ । असल काम गरेपछि असल परिणाम आउने चित्रण गरिएको कथामा अल्छीले भोग्नुपर्ने कहर पनि देखाएको छ । समयमा काम नगर्दा सास्ती भोग्नुपर्ने शिक्षा दिने अर्काे कथा हो वनभोज । यहाँ कमिला र फट्यांग्रा वनभोज खान गएका छन् । जाँगरिलोको पेट भरिएको छ, लोसे भोकै परेको छ ।

बालबालिकालाई युवसापेक्ष शिक्षा, मनोरञ्जन र नैतिकता व्यवहारिक रुपमा सिकाउने बाल कथाकार हुन् सरस्वती श्रेष्ठ ‘सरु’ ।

पृथ्वी सबै जीवको साझा फूलबारी हो । सबै जीवको सन्तुलित व्यवहारमै यसको अस्तित्व अडेको छ । सृष्टि सुन्दर र अर्थपूर्ण देखिएको छ । यसमा तलमाथि गर्न खोज्नेले पीडा भोग्नुपर्छ । सांकेतिक रुपमै भए पनि छिमेकीको गुन कथाले यही सत्य उद्घाटन गर्न खोजेको छ । किताब र कापीको आत्मकथा कथाले बालबालिकालाई मनोरञ्जनसहित असल चरित्र सिकाएको छ ।

साथीको महत्व शीर्षकको कथा संग्रहको अर्काे उत्कृष्ट कथा हो । राजाले पिंजडामा पालेको चरो न उड्न जान्दछ, न हिड्न, न त शिकार खोज्न । शत्रुले आक्रमण गरे जोगिन सक्ने त सम्भावनै भएन । यस्तो चरोलाई एक दिन राजाले मुक्त गरिदिन्छन् । मुक्त भएपछि अभिमानी बनेको यो चराले अन्य चराले भोग्नुपर्ने खालका सबै संकट व्यहो¥यो । संकटबाट उ कसरी बाच्यो भन्ने यो कथामा वर्णन गरिएको छ । संग्रहको नामसमेत राखिएको किट्टी बालकथाको मुख्य पात्र बिरालाको छाउरो हो । माउले भनेको नमान्दा सजाय भोगेपछि किट्टीले सबक सिकेको छ । जीवनमा सुधारिने प्रतिवद्धता जनाएको छ । मौरी र भँमरा कथाले मानिसलाई आफू बाच्न र अरुलाई बचाउन योगदान गर्ने पाठ सिकाएको छ ।

संग्रहका अधिकांश कथा बालबालिकालाई अध्ययनमा लगनशील र परिश्रमी बन्न उत्प्रेरित गर्ने खालका छन् । धेरै जसो कथाले बालबालिकालाई मनोरञ्जन पनि दिएका छन् । औपचारिक अध्ययनमात्र नभएर असल चरित्र र व्यवहारको महत्व कथामार्फत् सरुले प्रकाश पारेकी छिन् । बालबालिकालाई जीवनोपयोगी व्यवहार सिकाउन र मनोरञ्जनका लागि किट्टी उपयुक्त पुस्तक हो ।

यो सरुको पहिलो बालकथा संग्रह हो । पहिलो बालकथा संग्रह भएकाले आगामी दिनमा उनका कथा र बालसाहित्यका अझ सशक्त र उपयोगी सिर्जना प्रकाशित हुने अपेक्षा गर्न सकिन्छ । अधिकांश कथाका कथानक झिना छन् । ती कथानक बुझ्न बालबालिकालाई केही कठिन देखिन्छ । स्वास्थ्यको ख्याल र मिली संग्रहका कमजोर कथा हुन् ।

संवाद, चरित्रचित्रण र कथानकको विकासमा ध्यान दिन सकिने ठाउँहरु कथामा भेटिन्छन् । बालकथामा एउटैमात्र भए पनि द्वन्द्व जरुरी हुन्छ । उनका आगामी कथामा द्वन्द्व विधान अझ प्रभावकारी हुने अपेक्षा गर्नु वाञ्छनीय हुन्छ । सरुको भाषा सरल, सहज र बालबालिकाको स्तर अनुरुपकै छ । बालबालिकालाई केही रमाइला र व्यवहारिक जीवनमा चलिरहेका झर्रा शब्द पनि उनका कथाले सिकाउँछन् । बालबालिकालाई नैतिक पाठ सिकाउँदै मनोरञ्जन प्रदान गर्न किट्टी बालकथा संग्रह सक्षम छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।