गजल

नालापानी त बिर्स्यौं अब, कालापानी दुख्छ,
कोरिया र अरव गर्दै यो जवानी दुख्छ

हराभरा काठमाडौँको नारा एकातिर
प्रदुषणले पछारिदै यो राजधानी दुख्छ

भन्न हुन्न धेरै कुरा, थाहा भए नि हजुर
घरमूलीकै धेरैजसो आनीबानी दुख्छ

कति घाउ त यस्ता छन् कि बर्षौंदेखि दुख्ने
डाक्टर जस्तो डाक्टर छैन, जानी जानी दुख्छ

मिर्मिरेमै उज्यालोलाइ ढाक्दा बादलुले
नउघ्रेर आकाश अझै, यो बिहानी दुख्छ ।

ऋषि बस्ताकोटी मुलत: गजलकार हुन् । नेपाली गजल साहित्यमा प्रगतिशील गजल लेख्ने थोरै मात्र गजलकारमा उनको नाम अग्रपंक्तिमा आउछ । आज भन्दा तेईस वर्ष अगि लेखिएको यो गजल अहिले पनि उत्तिकै सान्दर्भिक छ । भारतीय पक्षबाट हाम्रो सिमा मिच्ने क्रम आजसम्म पनि रोकिएको छैन। चर्चित प्रगतिशील पत्रीका कलममा २०५३ सालमै प्रकाशित यो गजल लिपु लेक अतिक्रमण हुँदै गर्दा झन् सान्दर्भिक भएको छ । महाकाली सन्धिको पक्षमा हस्ताक्षर गर्नेहरु अहिले उच्च तहमा छन् । अहिले नेपालको नक्सा सार्वजनिक गर्न समेत सकेको छैन । प्रस्तुत गजल ऋषि बस्ताकोटीको ज्वालाका रापहरु गजल संग्रह २०५४ मा संग्रहित छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।