लघुकथा: सर्प्राइज

साझँ उनले घरसभा बोलाए ।
पाँच पाँच सयका दरले आमालाई, छोराछोरीलाई र श्रीमतीलाई दिँदै भने “साहित्य लेखेर केही नापिन्न भनेर जहिल्यै टोकसो गर्थ्यौ नि यो सबै मेरा रचना छापिएर पाएको पारिश्रमिक हो ।” लेखकले गर्व गरे ।

सबैको मुहारमा गुराँस फूल्यो ।प्रमाणित भयो, “लेखेर पनि पो कमाई हुँदोरहेछ ।”

लेखकको साहित्यिक बजारमा राम्रै चर्चा थियो । उनको मूल्यांकन गर्दै एउटा संस्थाले पचास हजारको पुरस्कार दिने घोषणा गर्‍यो । प्रतिभाको कदर भएको खुसीमा भन्दा पनि दशैँकाे मुखमा यत्रो पैसा आउने सुनेर उनको आङमा न्यानो घाम लाग्यो ।

पुरस्कारको रकम सुनेपछि सबैको निर्धक्क माग पेश भयो । मानौं उनी मनचिन्ते भाँडो हुन् जसमा जे मागे पनि पाइन्छ ।

“बा ! दशैमा हाम्रोमा पनि खसी काट्ने ल यसपटक त । छोराको तिर्सना ।
“बाबु ! एउटा पछ्यौरी किन्दे है दशैँमा ।” आमाको आशा ।
” मलाई पनि देवी दिदीले लाएजस्तो गाउन चाहिन्छ ।”
छोरीको रहर ।
लेखकले पुलुक्क श्रीमतीतिर हेरे । उनले आँखा भुइँमा गाडिन् ।
“तिम्रो रहर थाहा छ मलाई सुनु । एउटा माइली तिलहरी सर्प्राइज दिन्छु तिमीलाई ।” उनले मनमनै भने ।

पुरस्कार वितरणको कार्यक्रम भव्य भएको समाचार टिभीमा लाइभ आयो । पुरस्कार थाप्दै गरेको फोटो फेस्बुक, अन्लाईनका भित्ता र छापाभरी भाइरल भए । फोनबाट र म्यासेजमा बधाईको ओइरो लाग्यो । आज पहिलोपटक “अक्षरको खेती ” गरेकोमा गर्व महशुस भयो लेखकलाई ।

बाहुनलाई सिदा दान गर्दा यजमानहरू सबैले छोएजस्तै आयोजक सदस्य सबैले किताबको बोरा हस्तान्तरण गरेको फोटो पनि विभिन्न पोजमा खिचाए ।

आशाका आँखा ओछ्याएर बसेका घरका सदस्यहरूलाई जत्तिकै उनलाई पनि हतारो थियो खाम हेर्न ।
घर पुग्ने बित्तिकै खाम निकाले खाममा ५० हजारको चेक नभएर पत्र थियो ।

तपाईंजस्तो स्थापित र चर्चित व्यक्तिलाई पुरस्कृत गर्न पाउनु हाम्रो अहोभाग्य हो । तपाईंले प्राप्त गरेको रकमको आधा भाग संस्थालाई नै सहयोग मागेका छौँ, आधा रकम बराबरको संस्थाबाट प्रकाशित कृति प्रदान गरेको छौँ ।चर्चित पुरस्कार पाएकोमा बधाई दिदै साहित्यिक यात्राको सफलताको कामना गर्दछौं ।”