लघुकथा:- नवआगन्तुक

नेपाल टेलिभिजनमा आइरहेका कोरोना समाचारले म अलि चिन्तित देखिएकी थिएँ। ठाउँ ठाउँमा नवआगन्तुकको प्रवेशले कोरोना पोजेटिभ थपिँदै थियो। अस्ति पल्लो गाउँको गोपालको घरमा पनि एक नयाँ पाहुना आएकोले वरिपरिकाले शंका गरेर सुरक्षा निकायलाई खबर गरेका थिए।

उनीहरु आएर स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखियो। उत्तिखेरै त्यस घरका ६ जना र नवआगन्तुक गरि एउटै घरबाट ७ जना कोरोना पोजेटिभ थपिएको समाचारले मनमा एक किसिमको त्राश उत्पन्न भएको थियो ।

आज बिहान प्रात: भ्रमणबाट आएको छोरोले फेरि अर्को समाचारको कोसेली बोकेर आयो। “आमा पल्लो चोकको मिया अलिको घरमा पनि हिजो राति ९ बजेतिर नवआगन्तुक आएको छ रे !” छोराको यो कुरा सुनेर मन गह्रुङ्गो भएर आयो। अस्तिको नवआगन्तुकले तेत्रा बढायो फेरि अब कति बढ्ने हो उस्sssss ।

छोरालाई मैले सोधेँ -” तँलाई कसले भनेको यो कुरा ?” उसले जवाफ दिँदै भन्यो -“त्यही बाटो भएर आउँदै थिएँ उतापट्टिकी साइँलीले भनेकी।” यो सुनेपछि छोरालाई सम्झाउँदै अब देखि प्रात: भ्रमणमा नजाने सल्लाह दिएँ। त्यसपछि हामीले वरिपरिका छिमेकीलाई पनि जानकारी दियौं। अब छिट्टै नै त्यो घरकालाई कोरोना परिक्षण गराउन लैजानुपर्छ भनेर सम्बन्धित निकायलाई खबर गर्यौँ। उत्तिखेरै सम्बन्धित स्वास्थ सुरक्षाकर्मी आएर मियाको घरमा सोधपुछ गर्न थाले।

“जानकारी विना किन आए तपाईंको घरमा नवआगन्तुक ? अब उसलाई परिक्षण गर्न लैजानुपर्छ, बाहिर बोलाउनुस् त्यो नयाँ मान्छेलाई।” उनीहरूका कुरा सुनेर मिया अली केही बोलेनन्। फेरि उनीहरु कडा स्वरले बोल्न थाले -” यसरी आफ्नो मान्छे भनेर नलुकाउनुहोस् । उसलाई कोरोना देखियो भने तपाईंहरु लगायत छिमेकीहरु पनि यसको शिकार हुनेछन् । बेलैमा जाँच गर्नुपर्छ।” स्वास्थ्य सुरक्षाकर्मीका कुरा सुनेर मिया अलीले न्याउरो मुख लगायो । अरु व्यक्तिहरुले पनि कराउन थाले । -” छिटो बाहिर बोलाउनुहोस् मिया साहेब ! यस्तो कुरामा ढाकछोप गर्न हुन्न।”

सबैका कुरा सुनेर मिया अलिकी पत्नी सायदा मियाले नवआगन्तुकलाई लिएर बाहिर निस्किइन्। नवआगन्तुक भने सबैको गाली र हल्लाले डराएर थरथर काँप्दै , कट्टुमा नै पिसाब गरेर च्याहाँ च्याहाँ गर्दै रोइरहेको थियो ।