चीनको बुहानबाट विश्वमा सुरु भएको कोरोना (कोबिड(१९) भाइरसले अहिले विश्व त्रसित छ । विश्वका सबैजसो देशमा यसले असर गरेको र त्रास मच्याइरहेको छ । प्रविधि र शक्ति सम्पन्न देशहरुले पनि यसको महामारीलाई नियन्त्रण गर्न सकिरहेका छैनन् । दिनानुदिन संक्रमितको संख्या बढिरहेको छ, मृत्यु हुनेको ग्राफसमेत उकालिँदै छ ।
अहिले विश्वभरकै मानिस लकडाउनमा छन् । सबै राष्ट्रले जनतालाई अहिले जहाँ छौ, त्यही सुरक्षित भएर बस्न बारम्बार आग्रह गरेको गरिरहेका छन् । केही देशले विमानै चार्टर गरेर पनि आफ्ना नागरिक लगे । विश्वभरकै वायु सेवा करिब बन्द छ । नेपालमा पनि २०७६ साल चैत ११ गतेबाट गरिएको लकडाउन पटक पटक थपिदै जेठ ५ सम्म पुगेको छ । उद्योग, व्यवसाय र बाह्य जीवन पूरै बन्द भएपछि विश्व नै संकटमा छ । कोरोना कहर थपिँदै जाँदा आर्थिक संकट चुलिँदो छ, भोकमरीको सम्भावनासमेत औंल्याइँदै छ ।
विकसित देश जहाँ स्वास्थ सामग्रीदेखि लिएर भौतिक सामग्री यथेष्ट छन्, ती देशले पनि कोरोनालाई नियन्त्रण गर्न सकिरहेका छैनन् । अहिलेको अवस्थामा हाम्रो देशलाई त लकडाउन बाहेक अर्को विकल्प नै छैन । लकडाउनको समयमा अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द छन् । स्कुल, कलेज लगायत बजार ठप्प छन् । उद्योग, कलकारखाना लगायत निर्माणका काम पनि स्थगित छन् । हाम्रो समाजमा फरक फरक आर्थिक हैसियत भएका मानिसको बासोबास छ ।
यहाँ पटक पटक गर्दै बढिरहेको लकडाउनले दिनभरी काम गरेर बेलुका खाने निम्न वर्गका व्यक्ति छिट्टै मारमा परेका छन् । कतिपयको जीविका चलाउनै संकट भइसकेको छ । लकडाउन भएको केही दिनमै सामाजिक सञ्जालदेखि सबैतिरबाट विपन्न वर्ग मारमा परे राहत देऊ सरकार भन्ने आवाज उठ्यो । जुन समय परिस्थितिसँग मिल्ने सान्दर्भिक पनि थियो । सरकारले पनि जो जहाँ छौ, त्यही बस सरकारले राहत दिन्छ भन्यो ।
सरकारको निर्णयपछि राहत बाड्ने प्रक्रिया सुरु भयो । केही कागजात चाहिने र भरपाइ गराउदै स्थानीय सरकार हुँदै वडा, टोलमा यो कार्यक्रम पुग्यो । रातारात टोल प्रतिनिधि र जनप्रतिनिधि मिलेर डाटा संकलनमा लागे । केही दिनमा राहत आइपुग्यो । राहत सरकारी भएको हुँदा सुकुम्बासी र दलितले आफूहरु सुकुम्बासी र दलित भएकै आधारमा राहत पाउन पर्छ भन्ने तर्क गर्न थाले । धेरैले फर्म भरे, नाम टिपाए तर सबैलाई दिन सम्भव नभएको भन्दै अवस्था हेरेर दिन टोल प्रतिनिधिलाई लगाइयो ।
विभिन्न कठिनाइ छिचोल्दै पहिलो चरणको राहत बाँडियो । कहिकतै विरोधका घटना पनि आए । नपाउनुपर्नेले पाए, पाउनुपर्नेले पाएनन् । पाएको पनि थोरै भयो भन्ने आवाज सुनिए, जो स्वभाविकै थियो । म पनि आफ्नो टोलमा विपन्न पहिचान सिफारिस र वितरणको जिम्मेवारीमा परे । पटक पटक लकडाउनको समयावधि थपिएसङ्गै विपन्न र मजदुरलाई समस्या पर्ने नै भो विभिन्न संघ, संस्थाले राहत वितरण गरे । केही युवाले बाटोमा अलपत्र परेका व्यक्तिहरुलाई भात खुवाउने काम पनि गरे । जुन यो परिस्थितिमा जटिल र प्रशंसनीय काम थिए । यस्ता कार्यक्रम अझैसम्म जारी छन् । जसबाट यो संकटमा र महामारीको अवस्थामा केही राहत भएको छ ।
कोरोना कहर लामो समय रहे विश्वले नै अनेक संकट भोग्नुपर्ने देखिन्छ । खाद्यान्न संकट, आर्थिक मन्दी, अहिलेको अर्थव्यवस्था र सामाजिक प्रणालीमै उथलपुथल हुन सक्छ । यसले हामीलाई आत्मनिर्भर बन्ने शिक्षा दिएको छ ।
यस्तै क्रममा मेरो टोलमा दोस्रो पटकको राहत आयो, जुन सरकारको नभएर सहयोगी मनहरुको प्रयासमा आएको थियो । थोरै भएको र सिमित व्यक्तिलाई मात्र दिन सक्ने सूचना आएपछि स्थलगत अध्ययन गरेर दिने भनियो । जिम्मेवारी पाएपछि अधिकांश राहत पाएका र चाहियो भनेर मेरो घरै घेर्न आउनेहरूकोमा पुग्दा स्थिति विचित्रको देखियो ।
उनीहरुको घरमा दशैको जस्तो माहोल देखियो । जहाँ मासुको थुप्रो थियो । मनले यो निष्कर्ष निकाल्यो, वास्तविक पीडित र राहत चाहिनेले दशैँ जस्तो माहोलमा सिर्जना गर्न सक्दैनन् । जे देखियो, सम्बन्धित निकायमा त्यही जानकारी दिइयो । विभिन्न संघ, संस्थाले र मनकारीहरुले आफूले कठिनाइ भोगेर पनि दिएको राहतको दुरुपयोग भएको देख्दा निकै नरमाइलो लाग्यो ।
अहिले स्थानीय सरकारले राहत हैन, काम दिने निर्णय गरेको छ । आफ्ना निर्माणाधीन काम सुरु गरेको छ । संघीय सरकारले पनि लकडाउनलाई खुकुलो बनाएको छ । सुरक्षित रहेर सरकारको निर्देशन पालना गर्दै नागरिकले दायित्व निर्वाह गर्ने बेला आएको छ । अत्यावश्यक सेवा, केही उद्योग, खेतीपातीका काम गर्न सक्ने माहोल बन्दै गएको छ । संक्रमणबारे सजगता अपनाउँदै लकडाउनको समयलाई सिर्जनात्मक उपयोग गर्नु जरुरी छ । कोरोना कहर लामो समय रहे विश्वले नै अनेक संकट भोग्नुपर्ने देखिन्छ । खाद्यान्न संकट, आर्थिक मन्दी, अहिलेको अर्थव्यवस्था र सामाजिक प्रणालीमै उथलपुथल हुन सक्छ । यसले हामीलाई आत्मनिर्भर बन्ने शिक्षा दिएको छ ।
यसबाट छुटकारा पाउन आत्मनिर्भर अर्थतन्त्र जरुरी हुन्छ । परम्परागतै किन नहोस्, कृषिमा आधारित हाम्रो अर्थतन्त्रले यसमा त्राण थप्नेछ । हामी नेपाली लकडाउनको समयमा अधिकांश परिवारको साथमा छौ । पहिला यस्ता खालका अवसर हामीलाई वर्षमा १, २ पटक चाडपर्वले जुटाइदिन्थे । परिवारका अरु सदस्यको दुःख, पीडा बुझ्ने, सिर्जनात्मक सोच राख्ने, पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने अवसरको रुपमा यो समयलाई उपयोग गर्नुपर्छ । इतिहासमा हामीले अनेक महासंकट, महामारीलाई पराजित गरेका छौं । ढिलोचाडो कोरोनामाथि पनि मानव जाति विजयी हुनेछ, विस्तारै हामी पुरानै लयमा फर्किने छौं । त्यसअघिको समय हाम्रो परीक्षाको घडी हो । सजग, मितव्ययी, जिम्मेवार र सिर्जनशील बनौं ।









