सरकार ! भित्री बस्तीमा गस्ती खै ?

म घरको छतमा छु | रिंगरोडमा साना / ठूला सवारी साधनहरु निर्बाध चलिरहेका छन् | बाटोमा मान्छेहरु समुह समुहमा गफिंदै हिंडिरहेका छन् | बस्तीभित्र मोटरसाइकल चलिरहेका छन् | इभिनिंग वाक गर्नेमा बालबालिकादेखि बुढाबुढीसम्म सबै उमेरका छन् | सबैले घांटीमा मास्क लगाएका छन् |

सुरक्षाकर्मी मेनरोडमा छन् | मेन रोडमा मान्छे बस्दैनन् | मान्छे भित्री बस्तीमा हुन्छन् | सुरक्षाकर्मी भित्री बस्तीमा छैनन् | भित्री बस्तीको आवतजावत नियन्त्रण नगरेसम्म लकडाउनको कुनै अर्थ छैन | सरकारले यो तथ्यलाई किन बुझ्न सकेको छैन ? के कोरोना भाइरस सरकार हिंड्ने मुख्य बस्तीमा मात्र हिंड्छ ?

हामी जनताले कोरोना भाइरसलाई किन नजरअन्दाज गरेका छौं ? के हामी नागरिकमा यसको गहिराई थाहा नभएको हो ? १०० जना पुग्न समय लाग्छ | त्यसपछि १००० जना पुग्न धेरै समय लाग्दैन |

मर्निंग वाक / इभिनिंग वाक नगरौं ! हामी हिंड्ने बाटोमा को हिंडेको छ, हामीलाई थाहा हुँदैन | हाम्रा जुत्ता चप्पलमा भाइरस चिप्केको छ कि, हामीलाई थाहा हुँदैन |

उपत्याका भित्रिने दर्जनभन्दा धेरै नाका छन् | ती नाका शिल गर्न कसले रोकेको छ ? पावर छ भन्दैमा जो पायो त्यहि व्यक्तिलाई पास दिने अधिकारीलाई कारबाही किन नगर्ने ? सबै नाकामा २४ घण्टा गस्ती किन नबढाएको ? यस्तै लापरबाहीले गर्दा धेरै देश कोरोना संक्रमणको दलदलमा फसेको कुरा कहिले आत्मसात गर्ने ?

छिमेकी भारतमा संक्रमित र मृतकको ग्राफ बढिरहेको छ | भारतमा न्युनतम ५ – १० लाखलाई कोरोना संक्रमण हुने र हजारौंको मृत्यु हुने अनुमान गरिएको छ | त्यो आगोबाट बच्न हाम्रो तयारी पुगेको छैन | अझैपनि बिभिन्न ठाउँबाट आवतजावत चलिरहेको छ | यसको बारेमा कतै पनि छलफल, बैठक भएको छैन | के हामी लपस्तरो भएका हौँ ?

कृपया ! घरभित्रै बसौं | हामीले फेरेको सासमा संक्रमित व्यक्तिको सास मिसिएको छ कि छैन ? हामीलाई थाहा हुँदैन |