कविता : तिम्रो कुरुप मुहार

कहिले ललाट,कहिले अधर
कहिले नयन कहिले पुरै अनुहार
हेरेर भन्छ
तिम्रो कुरुप मुहार
चन्द्रमा जस्तै सुन्दर देख्ने
नजर भएको भए
घाम जस्तै न्यानो माया दिने
हृदय भएको भए
कास नजर जुधाइ मृगनयनी देखेको भए
अथाह प्रेम गरेको भए
सुन्दरता त हेर्ने नजर मा भर पर्ने रहेछ

आज कुरुप अनुहार भन्नलाई
हिजो
किन ढु़ंङ्गा र माटो जस्तै जोडिन पुग्यौ?
ए मेरो सुन्दर प्रेमी
फुलको अनुहार मात्र हेरेर कति दिन
प्रेम गर्न सक्छौ?
तिमीलाई के थाहा
फुलहरु सुन्दर भएर मात्रै सम्मानित भएका होइनन्
मनहरु स्वार्थी भएर मात्रै अपमानित भएका होइनन्
प्रत्येक एक जोर आँखाको आकर्षण
कहिल्यै अमर प्रेम बन्न सक्दैन
ए मेरो स्वार्थी मायालु
सम्बन्ध मन र बिचारले अमर हुन्छ
सम्बन्ध निस्वार्थ प्रेम र व्यबहारले अमर हुन्छ
भन आज आफ्नै हृदय छामेर भन
कसैका एक जोर आखाले
तिमीलाई कुरुप भन्यो भने
तिम्रो मन दुख्छ नि दुख्दैन ?

ए मेरो मान्छे
सुन कान खोलेर सुन
दिल खोलेर सुन
कुरुप त्यो सोच
कुरुप त्यो विचार
आजैबाट फिर्ता लैजाउँ
फिर्ता लैजाउँ घरी घरी मलाई झस्काई रहने
तिम्रा कुरुप सम्झनाहरु