कविता : राम साइँलो

आज मे १
अन्तर्राष्ट्रिय श्रमिक दिवस
सदाझैँ एकबिहानै उठ्यो राम साइँलो
र, सरासर आरनमा गएर बस्यो
आरनबाट खरानी उधिनेर निकाल्यो
ऊभित्रको शक्तिजस्तै
झरझराउँदो आगोको फिलुङ्गो
ततायो फलामका डण्डि र पिट्यो हम्मरले
बनायो हँसिया, बन्चरा र खुकुरीहरु

आज सदाभन्दा निक्कै खुशी छ ऊ
चारैतिरबाट औजारको माग आएको छ
भ्याई नभ्याई छ उसलाई
कतै हेर्ने फुर्सद छैन
त्यसैले प्रफुल्ल छ उसको अनुहार

उता, भेडाका बथान जस्तै मान्छेहरु
हामीलाई रोजगारी दे
श्रमको उचित मूल्य तोक जस्ता
बिश्वका श्रमिक एक हौं जस्ता
चर्का नारा लिएर आउँदै थिए उतिरै
सोच्यो,आज मजदुर दिवस रहेछ
बिश्वका श्रमिक एक हौं भन्दै
पाटीका फलामे साङ्लोमा बाँधिएर
ससाना झुन्डमा मनाउदै थियो देश
अन्तरास्ट्रिय श्रमिक दिवस

बिखण्डित गरेर श्रमिकलाई
माउतेहरु घोडा छाँदिएझैँ
छाँदिएर मालाका भारीले मन्चासिन थिए
श्रमिक दिवसको सुईँको नपाएको
रामसाहिलो भने सोच्दै थियो
श्रमिकको सम्मान गर्न
भाषण होइन, काम गर्नु पर्छ ।