पर्खालभित्र छु म यतिखेर
मनलाई पनि पर्खालभित्रै राखेकी छु
नचिहाउनु यादहरूले पनि
पर्खालबाहिरबाट ,
यादहरूकै छाता ओडी
नतप्किनु बलेसी पर्खालभित्र
पर्खालभित्र जेजे छन्
त्यसैमा रमाउनु छ
पर्खालभित्र जोजो छन्
उनैसँग पनि दूरी कायम राख्नु छ
कुक्क कुक्क बाडुलीमा
नउभिनु तिमी पनि
नपठाउनु शितका थोपाहरू
बिहानैबिहानै दुवोका पातहरूमा
पर्खालभित्र छु म यतिखेर
नचिहाउनु हावाले पनि
पर्खालबाहिरबाट
नपस्नु सुटुक्क गौँथलीहरू
पर्खालभित्र
नपस्नु खुरुक्क पुतलीहरू पर्खालभित्र
नपस्नु भँवराहरू खुसुक्क
पर्खालभित्र
यतिखेर पर्खालभित्रै संसार अटेको छ
यतिखेर पर्खालभित्रै सुरक्षित अनुभूत भएको छ
पर्खालबाहिर छेपाराहरू सल्बलाएका छन्
पर्खालबाहिर गोमन सर्पहरू
सल्बलाएका छन्
चिथोर्न लालायित छन्
डस्न लालायित छन्
पर्खालबाहिरको आकशमा
कालो बादल मडारिएको छ
थाहा छैन कतिबेला चट्याङ पर्न सक्छ
मन चर्किने गरि
पर्खाल भत्किने गरि
आँधीले पछ्याइरहेको छ पर्खालबाहिर
उँडाउन सक्छ यावत खुसीहरू
पर्खालबाहिर उम्रिएका छन्
सिस्नोका झाङहरू
पर्खालबाहिर उभिएका छन्
सिउँडीका काँडाहरू
घाइते बनाउन सक्छ सपना
डुबाउन सक्छ रगतको आहालमा
पर्खालबाहिर
सल्बलाई रहेछ अज्ञात शक्ति
त्यसैले
पर्खालबाहिर नचिहाउनु
पर्खालभित्र पनि नचिहाउनु
तिमी पनि नजानु पर्खालबाहिर
पर्खालभित्र छु म यतिखेर ।
२०७७/०१/१६









