महाविपत्ति पनि अवसर बनेर आउँदो रहेछ !

केहि दिन पहिले मेरा मित्र प्रवेशजीले फोन गरेर भन्नुभयो – सर ! म त करोडपति बनें नि ! मलाइ लाग्यो, निम्न आय भएका प्रवेशले आफुलाई व्यंग्य गरेर रोडपतिको ठाउँमा करोडपति भने होलान् |

म अलमल परेको अनुमान गरेर उनले थपे – हामी ६ जना मिल्ने साथीहरुले लकडाउन भएपछि बिभिन्न बिकल्पमा योजना बनाउंदै छलफल गर्यौं | हामीसंग पैसा थिएन | तर बाँच्नु थियो | हामीले सोच्यौं – यो लकडाउनको समयमा तथा लकडाउन पछि धेरै ब्यबसाय चल्ने छैनन् |

नचल्ने ब्यबसाय सुरु गरेर हामी थप डुब्ने काम गर्नु उपयुक्त लागेन | त्यसपछि एउटा योजना बनायौं |योजना अनुसार २ जना साथी धादिंग तथा नुवाकोटका गाउँगाउँ जानु भयो | एउटा साथीले प्रचारप्रसारको जिम्मा लिएर अनलाइनको काम सम्हाल्नुभयो | अर्को साथीले स्टोरको काम सम्हाल्नुभयो |

हामी २ जना बाइक लिएर घरघर पुग्ने भयौं | गाउँमा गएका साथीहरुले ओर्गानिक तरकारी, अन्न, दल्हन, तेल, घ्यु, मह संकलन गरेर सितापाइलास्थित स्टोरमा ल्याउने काम गर्नुभयो, अनलाइन बुस्ट गरेर प्रमोसन गर्ने, अर्डर लिने लिने काम हुँदै गयो |

हामी २ जनाले अर्डर आएका ठाउँमा सामान पुर्याउन थाल्यौं | कामको चाँप निकै बढ्यो | अर्डर निकै आयो | हामीलाई सामान पुर्याउन निकै गाह्रो भयो | त्यसपछि हामीले २ जन स्थानीय किसानसंग मिलेर अल्पकालको लागि सामान खरिद गर्ने, काठमाडौं ल्याउने गर्न थाल्यौं भने दीर्घकालिन ब्यबसायको लागि ६० रोपनी जग्गा लिजमा लिएर खेतीपाती सुरु गर्यौं |

उनीहरुको समुह यसरी खटेको छ कि त्यो खटाइ सुन्दा मलाइ लाग्यो, अब युग अनुसार आफुलाई ढाल्ने हो भने नेपालमा कोहि पनि बेरोजगार हुने छैन |

जग्गा लिजमा लिएको १ महिना नपुग्दै हामीले फापर, तोरी, रायो, मेथी, धनिया, चम्सुर, हरियो लसुन, हरियो प्याज, बन्दा,लाम्चो फर्सी, बकुला, केराउ लगायत तरकारी तयार गर्यौं | अर्को लटको लागि सिमी, बोडी, भिंडी, भान्टा, करेला, घिरौंला, लौका, चिचिन्नो, फर्सी, काँक्रो, मुला, गाजर, गोलभेंडा, भेंडे खुर्सानी लगायत तरकारी रोपेका छौं |

च्याउ खेतीको लागि १० वटा टनेल बनाउदै छौं | लोकल तथा ब्रोइलर कुखुरा, बाख्रा, बट्टाइ पालन गर्ने तयारी गर्दैछौं | थप जग्गा लिजमा लिएर मौसम अनुसारका बाली लगाउने सोंचमा छौं | फलफुल खेतीको लागि अध्ययन गर्दैछौं | त्यस्तै जडिबुटी खेतीको लागि परामर्श गर्दैछौं |

म छक्क परें | हिंजोसम्म काम खोज्न हिंड्ने प्रवेशजीले अहिले लगभग एकदर्जनलाई रोजगारी दिएका छन् | उनीहरुको समुह यसरी खटेको छ कि त्यो खटाइ सुन्दा मलाइ लाग्यो, अब युग अनुसार आफुलाई ढाल्ने हो भने नेपालमा कोहि पनि बेरोजगार हुने छैन | गाउँका बाँझा खेतबारी तथा पाखाहरु आवाद हुनेछन | ठूलो महामारी तथा बिपत्ति अवसर पनि बनेर आउदो रहेछ |

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।