कविता : सरकार !आऊ मेला हेर्न जाऊँ

सरकार !
यतिबेला देशभरी
सन्त्रासको मेला लागेको छ
आऊ तिमी पनि
भोलि बिहान सबेरै,
राजधानीको सडकमा
हामी पैदल यात्रा गर्दै
जुम्ला, जाजरकोट जाउँला

तिमी आफ्नो झोलामा
दुई, चार पोका आश्वासन बोक
म मेरो झोलामा
दुई, चार बोतल आँसु बोकूँला
यात्रामा म जस्तै मजदुर भेटिन सक्छन्
तिनका झोलामा पनि होलान्
दुईचार पुरिया टुक्रिएका सपना
दुई, चार प्याकेट बाङ्गाटिङ्गा भाग्य
संगै मिलीजुली बाँडेर खाउँला

सरकार, तिमी आत्तिनु पर्दैन
थाक्यौ भने
त्यहाँ प्रशस्तै पिठ्युँहरु छन्
आफ्नो भविश्य फालेर
तिम्रो भविश्य बोक्ने
आफ्ना पैतला कुँजो बनाएर
तिम्रा पाउहरु हत्केलाले थाम्ने
आफ्ना तक्दिरहरु बेचेर
तिम्रो अभिमान किनिदिने

आऊ सरकार
भोलि बिहान सबेरै
बाटो लागौं
तिमी आफ्ना लागि टेक्न
देशको मेरुदण्ड बोक
म मक्किएको जीन्दगीको
लौरो बोकौंला
सँगै उकालो लागौं विकट बस्तीतिर ।

२०७७ वैशाख ६ गते