हरेक प्रथम कुराहरु स्मरणीय हुन्छन्, पहिलो आँखाले प्राप्त गर्दाको अनुभूति अपरिमित हुन्छ । त्यस्ता क्षणहरुलाई मनको आँखाले कलात्मक ढङ्गले फोटो खिचेको हुन्छ, त्यही कलात्मक फोटोले मानिसलाई सधैँभरि मीठो स्मृतिमा रम्न सिकाइरहेको हुन्छ । तिनै प्रथम दृश्यहरु आँखामा छाइरहेका हुन्छन् ।
काठमाडौँबाट अत्यन्तै नजिक रहेको जिल्ला भए पनि मेरो नुवाकोटसम्म राम्ररी घुम्न जाने मौका जुरिसकेको थिएन । उसो त यस्ता अवसरहरु नजुरेका थुप्रै जिल्लाहरु छन्, यीमध्ये नुवाकोट पनि एक थियो । दिउँसो बाह्र एक बजेको हुनुपर्छ, नेपाल प्रज्ञाप्रतिष्ठानबाट मेरो मोबाइलमा फोन बज्यो । फोन त्यहाँको स्टाफले गरेकी थिइन् । उनले २०७२ भाद्र २५ गतेको नुवाकोटको एउटा कार्यक्रम छ ।
त्यसमा प्रज्ञा प्रतिष्ठानबाट प्रतिनिधित्व गर्दै विभिन्न व्यक्तित्वहरु जाँदै हुनुहुन्छ । सहभागी अतिथिको रूपमा तपाईको नाम पनि सिफारिसमा परेको छ । यहाँको अनुकूल के छ ? थप जानकारीका लागि प्राज्ञ ज्ञानु पाण्डेलाई फोन गर्नुस है भनेपछि मैले ज्ञानु पाण्डे दिदीलाई फोन गरेँ । दिदीले, “नुवाकोट बट्टारमा नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजना र नेपाली लेखक संघ नुवाकोटको सहआयोजनामा मोती जयन्तीलाई लक्षित गरेर एउटा कार्यक्रम गरिदैँ छ । तपाईको पनि एउटा गजल सङ्ग्रह प्रकाशन छ । नियात्रा कृति पनि अस्ति मात्रै बजारमा आएको छ । रुचि र समय छ भने हामीसँग हिँड्नहोस्” उहाँले भन्नुभयो । हुन्छ दिदी फुर्सदै छ । यति माया गरेर सम्झिनुभएको छ । फेरि हजुरहरुको सानिध्यता मेरा लागि अविस्मरणीय हुनेछ, जानेमा मेरो नाम ओके गर्नुस” मैले ढिला नगरीकन आफ्नो निधो तुरुन्तै दिएँ ।
“तपाईको यही स्पष्ट व्यवहार नै त मलाई मन पर्छ नि ।” दिदीले मायालु वाक्य मेरो मनभरि पोखिदिनुभयो । खै किन हो किन उहाँको आत्मीय व्यवहारले मलाई मीठो ऊर्जा दियो । म भोलिको कार्यक्रममा जाने मानसिकतामा फुरफुर बनेँ । कार्यक्रमको समय र गाडीको रुटबारे पछि स्टाफले फोन गर्नु हुन्छ है भनेर दिदीले भन्नुभएपछि म ज्ञानु दिदीसँग फोनबाट बिदा भएँ ।
बिहान आठ बजे वनस्थली, ढुङ्गेधारामा उभिनुस, प्रज्ञाप्रतिष्ठानको रातो गाडी आउँछ, त्यसमै हामी हुनेछौँ । अर्को गाडीसँग हामी कलंकीमा भेटिनेछौँ । एकछिनपछि सुरुमा फोन गर्ने स्टाफबाट खबर पाएँ ।
भोलिको साहित्यिक यात्राको टुंगो लागेपछि मैले मोबाइल टेबलमा राखेँ । मोबाइल हेरेर मेरो मनले आफैँसँग संवाद ग¥यो, “यो यन्त्र पनि अचम्मको छ, कहिले दुखद खबर सुनाएर मनै रुवाइदिन्छ । कहिले सुखद खबर सुनाएर आनन्दित पारिदिन्छ । अहिले आएको खबरले मेरो मन शीतल बनाएजस्तो लाग्यो । खुसी सानो थियो वा ठूलो तर मन फुर्किएजस्तो मानेँ, जसरी साना नानीहरु नयाँ लुगा लगाउन पाउँदा फुरुङ्ग पर्छन् ।
अब भोलि नुवाकोटको साहित्यिक कार्यक्रममा जाने भनेपछि के के तयार गर्नु पर्ने हो त भनेर मनले मोटामोटी मानसिक खाका तयार गर्न थाल्यो । गजलको कार्यक्रममा जाने भए पछि एउटा गजल पनि त वाचन गर्नै पर्छ भन्ने सोचेँ र नयाँ गजल लेख्न तम्सिएँ । कमसेकम कार्यक्रमका लागि नै भनेर पनि एउटा गजल लेख्न सकियो भने पनि नयाँ केही सिर्जना त हुन्छ भन्ने लाग्यो । धेरैबेर मेहेनत गरेर एउटा गजल पनि सिर्जना गरेँ ।
विदेश मोह
काखे छोरी रुवाउँदै, किन विदेश जान्छ्यौ दिदी ?
अपमान र हण्डरका सयौँ लात खान्छ्यौ दिदी ।
मन लागेर काम गरे सफल कहाँ भइन्न र ?
त्यसै किन बहकिदैँ विदेशलाई छान्छ्यौँ दिदी ?
सहयोगको जाल फाली, नजिकिन खोज्छन् सबै
एकैनास गरी सबलाई, दाइभाइ ठान्छ्यौ दिदी
समानताको गीत पनि कहाँ गाउने जान्नु पर्छ
अरू सबै गए भन्दै हुटहुटीलाई पाल्छ्यौ दिदी
कामै गर्न पराई देश सधैँ किन धाउँछ्यौ दिदी ?
आफ्नो देशको श्रम, सीप किन टाढा फाल्छ्यौ दिदी ?
भोलिका लागि कुन लुगा लगाउने भनेर सोचेँ । झोलामा गजलसहितको डायरी, कलम, पर्स लगायत नुवाकोटका स्रष्टाहरुको लागि आफ्नो गजल सङ्ग्रह ‘तृष्णाको पहाड’का केही प्रति पनि राखेँ । प्रायः सबै कुराको मोटामोटी तयारी गरिसकेपछि म नुवाकोटको बारेमा थप सोच्न थालेँ । उत्तर दिशामा पर्ने नुवाकोटलाई सम्झिनु अगाडि पृथ्वीनारायण शाहलाई पनि सम्झिएँ । गोर्खा जिल्लाका पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरेको कुरा इतिहासमा पढेकी थिएँ ।
नदीको छङछङ, किनाराको हरियाली, नयाँ बाटो अनि गाडीभित्रको ठट्टा मजाकले पनि उस्तै आनन्द आइरहेको थियो । करिब साडे १२ बजेतिर हामी बट्टार आइपुग्यौँ ।
यसअघि नुवाकोटको भूमिमा नै नटेकेकी त होइन । केही समय अघि रमणीय ठाउँ ककनीमा वनभोज खान त गएकी थिएँ तर त्यो बालाजु बाइपास, तारकेश्वर, झोर हुँदै अलिकति उकालो उक्लेपछि पिकनिक स्पट आइहालेजस्तो लागेको थियो । नुवाकोटको बजारतिर जान पाइएको थिएन । त्यहाँका मानिससँग साक्षात्कार गरेर दुई चार बात मार्न पनि पाइएको थिएन ।
भोलि जाने ठाउँ नुवाकोटको त्रिशुली नजिकै पो हो कि ? यसको बजारक्षेत्र पनि घुम्न पाइन्छ कि ? त्यहाँका स्रष्टाहरुसँग त पक्कै भेट हुन्छ भन्ने आशाले रमाइरहेकी पनि थिएँ ।
भोलिपल्ट आठ बजे वरिपरि नै प्रज्ञाप्रतिष्ठानको रातो गाडी म उभिएनेर आइपुग्यो । धेरै बेर बाटोमा पर्खिन नपर्दाको मुस्कान लिएर गाडीभित्र छिरेँ । प्रज्ञाप्रतिष्ठानका एक पुरुष कर्मचारी, साहित्यशिल्पी साधना प्रतीक्षा, शैलन्दुप्रकाश नेपाल, कवि राबत र एक जना मैले नचिनेकी महिला गाडीभित्र थिए । नमस्कार आदानप्रदान पछि हामी प्रासङ्गिक गफ गर्दै अगाडि बढ्यौ ।
साधना प्रतीक्षा म्यामले निकै मीठा गफ गर्नुहुँदो रहेछ । यसअघि औपचारिक कार्यक्रममा भेट त भइरहन्थ्यो । यसो हाइहेलो ग¥यो । गफ गर्ने फुर्सद हामी महिलालाई मिल्नै गाह्रो हुन्थ्यो । आज भने दिल खोलेर गफ गरिएला जस्तो लाग्यो । मैले नचिनेकी भन्ने महिला सिन्धुपाल्चोककी लक्ष्मी पौडेल हुनुहँुदो रहेछ, उहाँ पत्रकार पनि रे । एकछिनमा सबैसँग पालैपालो गफ भयो । गफका पोयोहरु फुक्न थालेपछि हाँसोमजाक पनि गाडीमा थपिँदै गयो ।
अर्को गाडीसँग भेटघाट हुने कुरा एकैचोटि गल्छीमा पुगेपछि भन्ने कुरा भयो । गल्छी नपुगुन्जेल हामीले विविध विषयमा गफ ग¥यौँ । शैलन्दु सर उस्तै मजाको हुनुहुँदो रहेछ । असाध्यै मीठा गफ गर्नु भयो । हामी साहित्यसुधा पान गरेर अघि बढ्दा गल्छी आइपुगेको थाहै पाएनौँ । बाटो जाम कत्ति थिएन । हामी गल्छी पुगेर गाडीबाट तल झर्दा विष्णुविभु घिमिरे दम्पती, ज्ञानु पाण्डे, ज्ञानुवाकार पौडेल, पुरु लम्साल, बाबु त्रिपाठी, समुन्द्रराज घिमिरेले एउटा होटलमा बसेर चिया खाँदै हाम्रो बाटो हेर्दै हुनुहुँदो रहेछ । हामी पनि सबै त्यही समूहमा मिसिएर चिया पानी खान थाल्यौँ । साहित्यिक मण्डलीको गफगाफमा रत्तिन पाउँदा निकै आनन्द पनि आयो । एउटै विचार र रुचि मिल्ने मान्छेहरुको जमघट सबैका लागि प्रिय हुन्छ होला शायद यस्तै महसुस भयो हामीलाई पनि ।
“दिदी नुवाकोट तपाईको पहिलो भ्रमण हो ?” पुरु लम्सालले सोध्नुभयो ।
“पहिलै भने पनि हुन्छ, खास राम्रोसँग नुवाकोटलाई चिन्न पाएकी छैन” मैले भने । “नाटककारका रूपमा पहिचान बनाइसकेका भाइलाई भने पहिलेदेखि नै चिन्थे नि नुवाकोटे भाइ भनेर” मैले हाँस्दै भने ।
“धन्यवाद दिदी” भाइले पनि मुस्कानको जवाफ मुस्कान नै दिएँ । शनिबारको दिन थियो । बाबु त्रिपाठी भाइ दैनिक पत्रिकाका शनिबारे साहित्यिक परिशिष्टाङ्ले घेरिएर बस्नुभएको थियो । “के छ भाइ पत्रिकामा आजको खास ?” मैले भनेँ ।
“ठीकै छ दिदी गाडीमा लगेर पढ्दै जाऊला नि है ?”
बेलुका फर्कन ढिला हुन्छ भनेर हामी सबै जना बट्टार जान हतारियौँ । खाजाको रूपमा चना, सेल चिया खाएका थियौँ । पेट पनि टन्न उक्सिएको थियो । अबको काम भनेको यात्रालाई रोचक बनाउनु मात्र थियो । विभिन्न खाले साहित्यिक गफ निस्किरहेका थिए । गल्छीदेखि नुवाकोटसम्मको यो बाटो भर्खर पिच गरिएको नयाँ बाटो रहेछ, हुन त हाम्रो नेपालमा बाटोले यो रूप लिन कति वर्ष लाग्यो होला र आज यो अवस्थामा आयो होला । मैले भने एकैचोटि नयाँ बनेपछि पाइला राख्न पाउँदा निकै खुसी लाग्यो । त्रिशुली नदीको छेउछाउबाट राम्रो बाटोमा सरर कुद्न पाउँदा पनि छुट्टै आनन्द आउँदो रहेछ ।
नदीको छङछङ, किनाराको हरियाली, नयाँ बाटो अनि गाडीभित्रको ठट्टा मजाकले पनि उस्तै आनन्द आइरहेको थियो । करिब साडे १२ बजेतिर हामी बट्टार आइपुग्यौँ । वरिपरि हरिया डाँडाले घेरिएको अलि गहिरो जस्तोे ठाउँमा बट्टार भन्ने ठाउँ रहेछ, अलिकति अगािड बढेपछि नुवाकोटको सदरमुकाम त्रिशुली पुगिन्छ भन्ने कुरा गर्नु भयो स्थानीयहरुले । भदौ महिना भएकोले अत्यधिक गर्मी थियो ।
“तराईकै जस्तो हप्प है यहाँ ?”
“अलि खाडल जस्तो छ नि त ठाउँ ।” नुवाकोट घर हुने पत्रकार बहिनी संगिता पनेरुले भनिन् ।
एउटा राम्रो होटलमा हाम्रा लागि खानाको व्यवस्था रहेछ । सबैले हातमुख धोइवरि खाना खाने कार्यक्रममा सरिक भयौँ । खाना तातो र मीठो थियो, सबैले थपीथपी खुब स्वाद लिएर खाइयो । काठमाडौँदेखि आएका पाहुनालाई राम्रै स्वागत गरिएको महसुस मैले गरेँ । नेपाली लेखक सङ्घ नुवाकोट आजको कार्यक्रमको सह–आयोजक थियो । नेपाली लेखक सङ्घ नुवाकोटका अध्यक्ष जयराम दाहालसहित अरु सदस्यहरु पनि निकै क्रियाशील भइरहनु भएको थियो । सकेसम्म कार्यक्रमलाई कसरी व्यवस्थित बनाऊँ भन्ने ध्येय त सबैलाई रहन्छ, शायद यही कारणले पनि होला व्यवस्थापन समितिहरु लागि परेका थिए ।
अब हामी आजको विशेष आकर्षणतर्फ उन्मुख भयौँ । कार्यक्रम हुने स्थल विशेष किसिमले सजाएर राखिएको थियो । भित्तामा सुन्दर प्लेक्स झुन्डिइसकेको थियो । प्रशस्त कुर्चीहरु दर्शकदीर्घाको प्रतीक्षामा थिए । दिउँसोको साडे एक भइसकेको थियो । नेपाली लेखक सङ्घका सदस्यहरुको व्यवस्थापनले कार्यक्रमलाई पर्खिरहेको थियो । बाबु त्रिपाठीले कत्ति पनि ढिला नगरी समयलाई छोप्नु भयो र कार्यक्रम सुरु गर्न थाल्नु भयो । काठमाडौँबाट गएका हामी सबै अतिथि बनेर मञ्चासिन भयौँ । साधना प्रतीक्षा, शैलन्दुप्रकाश नेपाल, ज्ञानवाकार पौडेलले गजल परम्पराका बारेमा तयार पारिएको कार्यपत्र प्रस्तुति, टिप्पणी र समीक्षासमेत गर्नु भयो । स्थानीय स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा खुल्ला गजल प्रतियोगितासमेत गरिएको थियो । गजल प्रतियोगितामा स्थानीय स्रष्टाहरुले निकै उत्साहपूर्वक भाग लिएका थिए ।
हाम्रा हतारहरु छड्किन थाले हाम्रा मस्तिष्कमा । फेरि फेरि भेट्ने वाचा ग¥यौँ एकअर्कामा र कोही कता लाग्यौँ कोही कता लाग्यौँ ।
कार्यक्रमको अन्त्यमा मोतीराम भट्टको गजलकारिताबारे चर्चा गर्दै विजयी स्रष्टाहरुलाई नेपाल प्रज्ञाप्रतिष्ठानका उपकूलपति विष्णुविभु घिमिरेले पुरस्कार वितरण गर्नुभयो । म लगायत काठमाडौँबाट गएका सबै सहभागीले अप्रतियोगी गजल वाचन ग¥यौँ । पुरु लम्साल भाइले काठमाडौँबाट ल्याएका थुप्रै साहित्यिक पुस्तकहरु सौजन्यस्वरुप बाँडिरहनुभएको थियो । साहित्यसँग सम्बन्धित यस्ता कार्यक्रम गर्न पाउँदा हामी सबैजना गौरवान्दित महसुस गरिरहेका थियौँ । काठमाडाँै फर्कनु पर्ने कारण समय निकै कम थियो । कार्यक्रम सकिएपछि ऐतिहासिक नुवाकोट दरबार हेर्न जाने कि भन्ने कुरा भयो । २०७२ वैशाखको भूकम्पले दरबारलाई नराम्ररी क्षति पु¥याएको कुरा सुन्नमा आएको थियो ।
यहाँसम्म आइसकेपछि दरबारसम्म जाऊँ न त भनेर हामी सबैले इच्छा जाहेर गरेपनि माथि गइसकेपछि एकछिन अलमल हुन्छ । अर्कोपटक आउँदा दरबार जाने कार्यक्रम गरौला अहिले काठमाडौँतिरै फर्कौ भनेपछि हामी सबै काठमाडौँका लागि सोझियौँ । तर समयलाई छोप्न सक्नु पर्छ । काठमाडौँ फर्कन एकछिन ढिला भए पनि के हुन्छ र ? आफ्नो साधन छदैँ छ । काठमाडौँबाट फेरि दरबार हेर्नै भनेर नुवाकोट आउने समय जर्न पनि त गाह्रै कुरा हो भनेर मेरो मनले सोचे पनि बाहिर व्यक्त भने गरिन् । अलिकति मन दुःखी भएँ जस्तो लाग्यो दरबार हेर्न नपाउँदा ।
फर्कने बेला पनि गाडीमा निकै रमाइलो भयो । नुवाकोटकै एक स्थानीय बहिनी दोहोरी गाउनमा खप्पीस रहिछन् । उनी पनि हामीसँग काठमाडौँकै लागि गाडीमा चढेकी थिइन् । उनी र पश्चिमका गजलकार भाइ सिद्धिनारायण आचार्यसँग निकै दोहोरी गाइन् । निकै रमाइलो भयो वातावरण । कति आएका गाउने फुँदा पनि जस्तो लाग्यो । कतिबेला गल्छी आइपुगिएछ पत्तै भएन । थानकोट कटेर अलि माथि उक्लिएका थियौँ ।
सेतोपाटीमा पत्रकारिता गर्ने समुन्द्रराज घिमिेर भाइले नेट हेर्नु भएछ । २०७१ सालको मदन पुरस्कार त विजयकुमार पाण्डेको कृति ‘खुसी’ले पो प्राप्त गरेछ नि भन्नुभयो । साहित्यजगत्मा विशेष मानिने यो समाचार बेलैमा सुनेर हामी सबै पुलकित भयौँ । मैले पनि पढिसकेको कृति थियो । राम्रै लागेको थियो पुस्तक । एउटा न एउटा कृतिले त पाउनु नै छ पुरस्कार । यो पटक ‘खुसी’ले पाएछ जस्तो लाग्यो । गफ गर्दागर्दै कलङ्की आइपुग्यौँ । हामी सबै जना छुट्टिने बेला आएको थियो । सबैले एकअर्कामा मोबाइल नम्बर साटासाट गर्न लाग्यौँ ।
आपूmलाई पायक पर्ने गन्तव्यतिर सोझिन हामी सबै तितरवितर भयौँ । साँझपखको काठमाडौँको हतारले सबैलाई निलेको थियो । यो भीडले अघि भर्खर अनुभूत गरेको ग्रामीण परिवेशको झल्को पनि हवात्तै निलेजस्तो लाग्यो । हामी पनि एकाकार भयौँ मानवसागरमा । हाम्रा हतारहरु छड्किन थाले हाम्रा मस्तिष्कमा । फेरि फेरि भेट्ने वाचा ग¥यौँ एकअर्कामा र कोही कता लाग्यौँ कोही कता लाग्यौँ । जे भएपनि आज बिहानदेखि बेलुकासम्मको यो समयलाई सदुपयोग गरेर हामीले पुरै दिन साहित्यमय बनायौँ । निकै खुसी लाग्यो । समयलाई छोप्न सक्नु पर्छ, समयलाई छोप्न सकियो भने ठूला ठूला काम गर्न सकिन्छ भन्ने कुराको उदाहरण आजको काम पनि हो भन्ने लाग्यो ।









