म उभिएको जमिनको
ठिक तल प्रतिध्रुवमा
फैलिएको छ बिशाल सागर
त्यही सागरको पिंधबाट ठिक माथी
युगौ देखि
लम्पसार छ मेरो देश
यहाँ पहाडसँगै
उसैगरी अग्लिरहेछ्न
दुखका पहाडहरु
यहाँ नदिसँगै
उसैगरी बगिरहेछ्न
आँसुका नदिहरु
यहाँ घामसँगै
उसैगरी अस्ताईरहेछ्न
उज्यालोका गीतहरु
यहाँ हरेक याम
बेस्सरी हुइकिन्छ्न पवन देव
र उडाउँछ्न खरकै छानाहरु
उसैगरी रापिन्छ्न सूर्यदेव
र जलाउँछ्न पसिनाका फूलहरु
अनि बेस्सरी वर्षीन्छ्न इन्द्रदेव
र बगाउँछ्न बस्तिका सपनाहरु
म उभिएको ठिक प्रतिध्रुवमा
विराजमान छ
एउटा विशाल देश
त्यही देशको कुनै चट्टानमा
उभिएका छन्
जर्ज ,जेफरसन ,रुजभेल्ट अनि लिङ्कन
त्यही चट्टानको प्रतिध्रुवमा
सदियौं पछाडि
लम्पसार छ मेरो देश
र यहाँका हरेक चट्टानमा
ब्याप्तछन्
ब्रम्हा विस्णु र महेश्वर
यहाँ देउता पुज्दा पुज्दै
देउता बनेका छन् मान्छे
यहाँ ढुङ्गा पुज्दा पुज्दै
ढुङ्गा बनेका छन् मान्छे
म सोधिरहेछु
शिवदेव!
किन रोप्दैनन जादुयी त्रीशुलहरु
सहाराका बन्जर भूमिहरुमा
र बगाउँदैनन
जीवनका त्रीशुलिहरु
किन उदाउँदैनन कहिल्यै अन्नदेव
कर्णालीका भोका भित्ताहरुमा
र सुम्सुम्याउँदैनन
करङ्ले निलेका छालाहरु
म उभिएको जमिनको
ठिक मुनि
वर्षौं देखि हुर्किरहेछ
आगोको आँधी
हो ! म त्यही आँधिको पर्खाइमा छु।









