प्रियाले भन्छिन् मेरो ज्यान उनको त्यो माया जान्दछु
मेरो यो शरीर मेरै हो भन्ने पनि म मान्दछु
माने नि यो ज्यान उनको हो भनी ईश्वर स्वयंले
मेरा हर अङ्ग आमाकै अंश सत्य त्यो ठान्दछु
बाबाले जस्तो हार्दा नि साथ छोराले दिदैनन्
पत्नीले जस्तो लागेको घाउ पतिले धुदैनन्
हजारौ भिडले जितेको वेला जय जय गाय नि
आमाले जस्तो निस्वार्थ माया दिने कोही हुँदैनन्
सुखको सहर छ आकाशपारि स्वर्गको नाउँमा
भनेर मानिस त्यहि पुग्न खोज्छन ईश्वरको गाउँमा
पुगे नि त्यहाँ बादलभित्र खुसी त्यहाँ पाइन्न
खुसी त यही मिल्दछ आमा—बाबाका पाउमा
हाँस्दा साथ हाँस्ने सबैले रुदा यी आँखा छुदैनन्
मरेर जादा छोरीझै छोरा पीरमा हुँदैनन्
रुन त रोलान् दाजुभाइहरु चिताछेउ एक छिन
जीवनभर सम्झी आमाको जस्तो बाबा नै रुदैनन् ।




