कोरना, प्राकृति र आत्मबल

कोरना भाइरस अहिलेसम्म जीव हो वा तत्व भन्ने बहस टुंगिइ सकेको छैन । संसारका ठूला विश्व विद्यालयका अनुसन्धान खोजले पनि निर्गोल दिन सकिरहेका छैनन् । कसैले जोडजाड गरेर यो भइरसको बाहिरी भाग ( जुन बोसोयुक्त छ )लाई जीव र भित्रि भागलाई तत्वको रुपमा लिएको अवस्था पनि छ । यो कुनै प्रयोगशालामा निर्माण गरिएको भन्ने पनि छ । राजनैतिक वादको आधारमा त्यो प्रयोगशाला बारे दोषारोपण भैरहेको छ । आफु नबोले पनि हुने ठाँउमा अजासु ( अति जान्ने सुन्ने ) भै व्याख्या विश्लेषण गर्नेको पनि कमी छैन । विभिन्न कोणबाट आएका विचारलाई जोडजाड गरि अर्कै नरसिंह बनाईएका पनि छन् । आजको सन्दर्भले एउटा कथाको याद दिलाउँछ ।

एकपटक स्वर्गका देवताहरुले एउटा यज्ञ लगाएछन् । यज्ञ सम्पन्न भए पछि एक जना ऋषिले यज्ञस्थलको यत्रतत्र छरिएका दुना र टपरीमा जमेको घिउ जम्मा गरेछन् । त्यस घिउ र सिन्काबाट एउटा भद्दा जिउ भएको जीव बनाइ प्राण भरेछन् । त्यस जीवलाई यज्ञस्थलमा पोखिएको तथा दुना टपरीमा टाँसिएको घिउ र अन्य पोखिएको चीज खानु भनि छोडि दिएछन् । त्यस जीवले पनि घि घि गर्दै थुतुनाले अोल्टाइ पल्टाइ गरि खोजेर खान थालेछ । स्वर्गमा खाना सकिए पछि त्यो जीव ऋषिकाहाँ गई आफ्नो समस्या पोखेछ । ऋषिले अब पृथ्वीमा गई जे भेटिन्छ त्यहि खानु भनि पठाइ दिएछन् । त्यो जीव पृथ्वीमा आए पछि मानिसलाई खान थालेछ । मानिसहरु तुरुन्त एकजुट भै त्यो जीवलाई कब्जामा लिएछन् । त्यसलाई आफ्नो बिष्ट खान दिएछन् । घि घि गर्दै घिउ खोजे पनि घिउ र बिष्ट छुट्टाउन सकेन । यो जीव अरु केही नभएर सुँगुर हो । मानिसले सुँगुर पाल्न थाले । अहिले मानिसले आफ्नो बिष्ट सुगुरलाई, सुगुरको बिष्ट माछालाई र माछा स्वाद मानि आफुले खाने चक्र निर्माण गर्न जानिसकेको छ । कोरना भइरस प्रयोगशालामा निर्माण गरेको यदि भए पनि अरुलाई खान बनाएकाले वा घिउ खान बनाएकाले आफ्नै जिउ खान थाले पछि बनाउनेको भित्रि चेत कान अवश्य खुल्यो होला ।

यदि यो जीव होइन भने किन यसलाई धातुमा तीन दिन, पलाष्टिकमा एक दिन बाच्दछ जस्ता भनाइ प्रचार गरिएको छ । बाच्ने र मर्ने जीवन भएको प्राणी मात्र हुन्छ । बनस्पति पनि जीवित हो । आधा प्राणी आधा बनस्पति भएका यर्सागुम्वा जस्ता जीव पनि यस पृथ्वीमा छन् । हाम्रा नाग्गा आँखाले देख्न नसकिने जीव धेरै प्रजातिका र शक्तिशाली भएको कुरा समय समयमा यसले फिँ जाएको साम्राज्यबाट प्रमाणिात भै सकेको छ । यस्ता शुष्म जीवहरुमध्ये केही हाम्रोलाई अती आवश्यक र उपयोगी छन् । दहीमा हुने शुष्म जीवले यस्तै शुष्म रोगका जीवसंग लडने शक्ति राख्दछ । बदलिँदो वातावरण अनुकुल जीवहरुले रुप र गुण फेरिरहेका छन् । घनाबस्ति भएका शहरसंग जोडिएको समुद्रमा रहने जलचरहरुले बिषाक्त पदार्थ पचाउने शक्तिको विकास गरिसकेका छन् । समुद्रमा रहने एक प्रजातीको जलचरले जन्मजात एउटा बन्दुक लिएर आएको हुन्छ । उक्त जीवले मुख जस्तो खुला रहेको बन्दुक एक सेकेन्डको हजारौ भागभन्दा छोटो समयमा बन्द गर्दा पड्कन्छ । यस पड्काइको आवाजले विजुलीको तरंग निस्कि माछा जस्ता उसका आहारा अचेत बनेपछि खाने गर्दछ । एक जातको भ्यागुताले पोखरीमा फुल पार्दा जलचरले खाने, जमिन र रुखमा फुल पार्दा अन्य स्थलचरबाट बचाउन मुस्किल भए पछि रुखमा चडि धागो निकालि रुख र पानीको वीचमा फुल झुन्डाएर राख्न जानेको छ ।

प्राणीहरुले मात्र होइन वनस्पतिहरुले पनि बाच्न र आफ्नो वंश बिस्तार गर्न धेरै प्राकृतिक गुण पाएका छन् ; विकास गरिरहेका छन् । एक प्रकारको वनस्पति प्रजातिको फल जोडले फुटि बीउ टाढा मात्र जादैन बरु टाढा पुगेपछि त्यस बिउमा भएको विद्धुतले चल्ने प्रकृतिक बर्मा फनफनी घुमेर साडे दुई इन्च माटामुनि बीउ पु-याएर रोकिन्छ र बीउ उम्रन्छ । यस्ता हजारौं हजार आचार्य लाग्ने कुरा प्राकृतिले आफै बनाएको छ । यसलाई कसैले दैवी र कसैले प्राकृतिक रुपमा व्याख्या विश्लेषण गरेका छन् ; खोज अनुसन्धान भैरहरका छन् । सबै प्राणी र बनस्पतिले अा-आफ्नै अनुकुल विष, नन्ग्रा , दाँत, झुस, बल, प्वाँख, काँडा आदि पाएका छन् । प्राकृतिक वातावरण परिवर्तन भए अनुकुल यिनीहरु आफुमा परिवर्तन ल्याउने गर्दछन् । यसलाई बाच्नको लागि संघर्ष भनिन्छ । यो संघर्ष मा त्यो जाती बाच्दछ जुन सबभन्दा योग्य हुन्छ । यो योग्यता भनेको शारिरीक बल होइन । डाइनोसर जस्ता बलिया प्राणी पनि लोप भएका छन् । आफ्नो जातीभित्र जसले व्दन्द नगर्ने र सहयोग गर्ने जाती नै अस्तित्वमा रहन सक्षम भएका छन् । यस्ता जाती प्राकृतिक प्रकोप माहामारी र अरु जातीको आक्रमणको बेला एक आपसमा सहयोग गर्दछन् । कमिलालाई सबैभन्दा विकसित सामाजिक प्राणी मानिन्छ । एउटा भोको कमिलाले अर्को अघाएको कमिलालाई भेटेर यदि खानको लागि माग्यो भने अोकलेर खुवाइ उसको जीवन रक्षा गर्दछ । त्यसैले डार्विनले कमिलाको दिमागलाई संसारको सबैभन्दा मुल्यवान वस्तु मानेका छन् । प्राणीहरु खाना र प्रतिकारको लागि मात्र होइन बरु खेल, माया, साथित्वको भावना, नाच्न गाउन समेत संगै मिलेर बस्दछन् । समाज र एकता मानिसको सिर्जना होइन । मानिस मानिस हुनुभन्दा अगाडि नै यो भएको थियो । सहयोग बाच्नु र व्दन्द मृत्युको बाटो हो । मानिस सामाजिक हुन धेरै दुखदायी पाठहरु सिक्नु परेको छ । इतिहासका भयावह मूर्खतापूर्ण र अनाश्यक युध्दहरुबाट पनि अझसम्म पाठ नसिकेको प्रतीत हुन्छ । मानव मानववीच सहयोग र भाइचारा कायम नगरी आरोप प्रतिआरोप चर्काउदै मानिस वर्तमान संसारको सबै प्राणीहरुको मालिक हुन कोसिस गरिरहेको छ । यो एक विरोधाभास कुरा हो ।

कोरना माहामारी बिरुद्धको अहिलेसम्म कुनै खोप र अौषधि पत्ता नलागिरहेको अवस्थामा यसलाई जित्ने भनेको आवश्यक सामधानी र आत्मबल नै हो । आत्मबल हाम्रो विचारबाट उत्पन्न हुने आन्तरिक उर्जा हो । सकारात्मक सोचबाट सकारात्मक विचार आँउछ । विचारलाई कार्यरुपमा परिणत गर्न इच्छाशक्ति र संकल्प चाहिन्छ । कुनै काम गर्न सक्छु भनि पूर्ण विश्वास कार्यसिध्दि समान हुन्छ भन्ने पनि गरिन्छ । अब्राहन लिंकन गरिब अपहेलित बच्चा थिए । उनले शिक्षाको लागि धेरै संघर्ष गरे । उनले विद्यालयको तल्लो कक्षा पढदा विद्यालयको तल्लो कक्षा पढदा नै आफ्नो डेक्सको दाहिनेतिर अंग्रेजी अक्षरको पि अक्षर लेख्ने गर्दथे भनिन्छ । यसको अर्थ म एकचोटि अमेरिकाको प्रेसिडेन्ट (राष्टपति) बन्दछु भन्ने थियो । नभन्दै उनी अमेरिकाको लोकप्रिय तथा सूधारक राष्ट्रपति बनी छाडे ।

हाम्रो समाजमा सहयोगका धेरै राम्रा पक्षहरु भए पनि जानेर हो वा नजानेर बिरामीप्रति गरिने व्यवहार र कुराकानी बिरामीमैत्री नभएको पाइन्छ । हाम्रो समाजमा कोहि बिरामी हुदा बिरामीलाई भेटने प्रचलन छ । बिरामी भेटदा प्रथमत: प्रायः सबैले भन्ने गर्दछन् – विचरा ! कति दुब्लाएछन् । सामन्य ज्वरो अाएको छ भने पनि भन्ने गरिन्छ – यस्तै ज्वरोले फलानो मरेको थियो , ढिस्कानोले धेरै दु:ख पाएको थियो , यस्तो रोगबाट सन्चो हुन गाह्रो छ आदि । केही रोगले वढी चापेको तथा पाको उमेरको बिरामी छ भने भेट्न जाने मानिसले भन्ने गर्दछन् – मलाई चिन्नु भो ? अब हरि नाम भन्नुहोस् । अब दशदान गर्नु पर्दछ आदि । यसरी बिरामीको आत्मबल गिराउने काम हुन्छ । कुनै रोगका किटाणु शरिरमा प्रवेश गर्दा हाम्रो शरिरले तिनीहरूलाई स्वागत सत्कार गर्दैन । रोगलाई हटाउनु हाम्रो शरिरको स्वभाविक धर्म हो । यो हामीले पाएको प्राकृतिक देन हो । हामीलाई आफ्नै हातबाट चोट लाग्दछ भने त्यो त्यति पीडादायक हुदैन । तर त्यस्तै चोट अरुले लगाउँछ भने सापेक्षरुपले धेरै पीडादायक हुन्छ । हामीले कुनै प्रकारको अग्रीम ठूलो भय दु:ख निराशा रोगव्यादिको चिन्ता गर्नु हुदैन भनिन्छ ।

अाज एकतर्फ कोरना भाइरस र अर्कोतर्फ सिंगो मानव समुदायवीच युध्द चलिरहेको छ । यो भइरसले युद्धका रणनीति फेर्दै र एकतामा जोड दिइरहेको छ । अर्कोतर्फ मानव समुदाय कुनै न कुनै रुपले विखण्डन भै एक जमनाको डाइनोसर जस्तै भिडन उन्मुख भएको जस्तो देखिन्छ । प्राकृतिको नियममा मानव अलग्गै हुन्छ भन्ने सोच्नु भूल हुनेछ । कोरना भाइरसले कुनै जात, लिङ्ग, वर्ग, धर्म, पेशा, देश, ठूलो, सानो, बलियो, निर्धो, बच्चा, वृद्ध, धनी, गरिब, भिन्न जीवनस्तर आदि कुनै तहले विभेद नगरी समनताको सिद्धान्तमा अडिट भै आफ्नो साम्राज्यको अभियान हाकिरहेको अवस्थामा हामी पनि उसैको रणनीति अवलम्वन गरि अघि बढन ढीला त भएको छैन ?