सहरदेखि थोरै बाहिर विशाल फाँट थियो । त्यो फाँट कुनै खेतबारीको फाँट थिएन । गत वर्ष कोरोना भाइरस कोभिड नाइन्टिनको महामारीका कारण मरेकाहरूलाई गाडिएको चिहान थियो । कैयौँ एकड भूमिमा फैलिएको त्यो फाँट पूरै सुनसान थियो । मानिसको त कुरै छाडौँ, त्यहाँ चराचुरुङ्गी र कीटपतङ्ग समेत थिएनन् ।
माटोमुनि भने लामबद्ध पुरिएका हजारौँ ताबुत थिए । ताबुतभित्र क्रमशः गलित अस्थिपञ्जर । बाहिर जति सुनसान भए पनि भित्रभित्र अस्थिपञ्जर बजेका क¥याक्क¥याक् क्रुकक्रुक आवाज सञ्चारित हुनथाल्यो ।
अन्डाबाट चल्ला निक्ले झैँ हरेक ताबुतबाट क¥याककुरुक क्रुकक्रुक गर्दै एकएक मुर्दा फुत्तफुत्त बाहिर निक्लन थाले । हेर्दाहेर्दै त्यो विशाल चिहान फाँट एउटा ठूलो म्युजिक कन्सर्ट या कुनै मास पार्टीको आमसभा जस्तो देखियो । तिनको शरीर मानव कङ्काल जस्तो थियो भने लुन्द्रे टाउको कोभिड नाइन्टिनको जस्तो थियो ।
“म मरेको रे, हामी मरेका रे । हो ?”
“हैट् ! तिनीहरू मरेका । हामीलाई आइसोलेसनमा राख्नेहरू मरेका । हामीलाई मृत घोषित गर्नेहरू मरेका । हामीलाई राम्रो उपचार उपलब्ध नगराउनेहरू मरेका । हामीलाई यहाँ ल्याएर दफनाउनेहरू मरेका ।…”
“होहो ! हामी होइन, तिनीहरू मरेका । अँ, हामी ताबुत छाडेर त निक्ल्यौँ, तर अब कता लाग्ने ?”
“गाउँगाउँ जाने नि । त्यहाँ स्वच्छ हावापानी छ, इमानदारी छ, इमानको कमाइ छ ।”
“धत् । त्यहाँ दरिद्रता छ, अभाव छ ।”
“त्यसो भए सहरतिरै जाऊँ, जहाँ सम्पन्नता छ, समृद्धि छ, सुख छ, सुविधा छ र जहाँ हामीलाई अनुकूल छ ।”
“होहो यही पास ।” सुन्नेजति र भन्नेजतिको एउटै आवाज ।
“पक्का ?”
“पक्का !”
अग्लोबाट उसले घोषणा ग¥यो, “साथीहरू, सङ्क्षिप्त परामर्शबाट हामी सबै लर्को लागेर पुनः विकसित र समृद्ध सहर पस्ने निष्कर्षमा पुगेका छौँ । ठीक छ ?”
“ठीक छ ।” आकाश गुञ्जायमान भयो ।
त्यो कोरोना भाइरस कोभिड नाइन्टिनको नयाँ अवतार कोभिड ट्वान्टी वान थियो ।
२०७७ वैशाख १३




