कविता : माेतिमाया

यसै देशको सरहदभित्रबाट
गुमनाम छ उसको छोरो,
र छोराको खोजीमा निस्केकी छ मोतिमाया ।

सत्तरी हिउँद काटिसकेको जीर्ण जिऊ र विदीर्ण मन लिएर
यतिबेला यो देशको नक्सा पल्टाइरहेकी छ
नक्सामा कोरिएका नदीका किरमिर धर्साहरू जस्तै छन्
उसको मुहारका मुजा
यिनै मुजाहरूमा अविरल बगिरहेछन् आँसुका नदीहरू
नदीहमा परेका अनिश्चयका भूमरीहरूमा
डुबुल्किंदै, तैरिंदै खोजिरहिछ ऊ आफ्नो छोरो
यसै देशको सरहदभित्रबाट गुमनाम छ उसको छोरो,
र छोराको खोजीमा छ मोतिमाया ।

सत्तरी हिउँदसम्म यो देशका कठिनाइहरू सँग जुध्दा
यो देशले दिएको उपहार
वेपत्ता परिवारको प्रमाणपत्र
आफ्नै मुटुमा किलो ठोकेर झुण्ड्याउँदै
छोराको स्मृति छातीमा टाँसेर
छोराको खोजीमा निस्केकी छ मोतिमाया ।

कहिले पत्रे चट्टान जस्ता कुर्कुच्चा घिसार्दै सडक नापिरहन्छे
कहिले उखर्माउलो गर्मीमा विद्रोहको आगो तापिरहन्छे
कहिले ब्यारेकको ढोकातिर फर्केर पिच्च थुकिदिन्छे
सत्तरी हिउँदपछिको साँझको धूमिल छायाँमा
वेपत्ता छोरो खोजिरहिछ मोतिमाया ।

शीरमाथि निराशाको निष्पट्ट अँध्यारो मडारिरहेछ
आँखामा आक्रोशको ज्वालामुखी बलिरहेछ
भर्खरै आफ्नो डमरु गुमाएपछि
जोकसैमाथि झम्टन तयार घाइते बघिनी जस्तै देखिन्छे मोतिमाया ।

यसघडी
सत्तरी हिउँदपछिको बुढेसकालमा पनि
आफ्नो तन्नेरी उमेरको ऊर्जा सम्झँदै
अन्तिम युद्ध लड्न निस्केकी छ
मोतिमाया ।

यसै देशको सरहदभित्रबाट गुमनाम छ उसको छोरो,
र छोराको खोजीमा छ मोतिमाया ।
छोराले बाँकी राखेको युद्ध लड्न निस्केकी छ मोतिमाया ।

– अादरणीय दाइ पूर्ण पाैडेलकाे बेपत्ता स्मृति दिवसका सन्दर्भमा अामा मोतिमायामा समर्पित