रङ, रङ मिलेका हुन्छन् इन्द्रेणीमा
रङकै संयोजनले बन्छ सुन्दर संसार
दिनहुँ रङ फेर्ने राजनीतिज्ञको देशमा
अहिले मलाई समान लाग्छ
छेपारो र मेरो रंगीन सपना
कहिल्यै नसुनेको, कतै नजन्मेको
देख्नै नसकिने भाइरसको त्रासमा
कुजिएको मेरो दैनिकी छेपारोकै जस्तो छ
बिहानै उठ्ने, खाने, घाम ताप्ने
पुन सुत्ने दिक्क लाग्दो उपक्रम
योजना त छन् मेरा पनि
सपना अटाइनअटाइ छन् आँखाभरि
समय र परिस्थितिले पालैपालो
सहिद बनाइदिएका छन् मेरा सपना
बनेका छन् इच्छा छेपारोका कथा जस्ता
बिहानै आइपुग्छ घाम बिस्तारा
सुनिन्छ चरीको चिरविर
देखिन्छन् चाँदीजस्ता हिमाल
ज्योति नयाँ भए पनि घाम त पुरानै हुन्
अचले मलाई घाम पनि नवीन लाग्छ
नलागोस् पनि कसरी ?
म घरभित्रै छु ३२ दिनदेखि
घाम देख्न अनुमति छ, ताप्न निषेध
घाम अर्थात सूर्य
पुरानै त होला, त्यही मतपत्रको जस्तो
जहाँ यिनै हातले हानेका थिए स्वस्तिक छाप
म जस्तै अभिषप्त नागरिकको सरकार
यो सरकार पनि कसरी नहोस् छेपारोजस्तो
घरी घाम तापेर सुत्ने, घरी रङ फेर्ने
आज पूरै ठीक, भोलि पूरै गलत
नागरिकको होइन, कार्यकर्ताको सरकार
भजनेहरुलाई दान दिनै मस्त छ
बिचल्ली परेका नागरिकको जुठो लाग्दैन मन्त्रीहरुलाई
कात्रो किन्न पर्दैन उनीहरुले
मलामी जुटाउनु पर्दैन उनीहरुले
बस, विस्तारै बाँडिरहेछन् हामीलाई
दुःख, आस्वासनको पोकाभित्र मृत्यु
छेपारोको रङ छन् फेरिएका छन् वाचा
लाखौं मरेको सुन्छु र आफैं मरेतुल्य हुन्छु
दरबारका छेपारा नयाँ कथा लेख्दै होलान्









