कविता : सम्बन्धको इसिजी !

म थिएँ
हामी भयौँ
हाम्राहरू भए

आँखाहरूमा
रहरहरू थिए
छन् र रहनेछन्
ह्रदयमा
सपनाहरू थिए
छन् र रहनेछन्
सम्बोधित छु म
तिनै रहरहरूले
आल्हादित छु म
तिनै सपनाहरूसँग
मबाट हामी रहर
हामीबाट हाम्रा सपना
प्रिय छ हरदम्
तिमीजस्तै ।

आजकै दिन त हो
रहरहरूले
स्वरूप ग्रहण गरेको
मबाट
हामी बनेको

बिहानै छोरीले
अनलाइनमा भनी :
ल आज दिनभर
कत्ति कचकच नगरी बस्नू त
कस्तो हुने रैछ ।

साँच्चै ,
अलिअलि कचकच नि न नगरे
कसरी जीवन्त हुन्छ सम्बन्ध ?
सम्बन्धको इसिजिमा
जति धेरै उतारचढाव
उति धेरै सुमधूर
अनि,
जति गज्याङमज्याङ
उति राम्रो हुन्छ हैन र ?

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।