धेरैतिर हार गुहार गरेर घरपाईको विद्यालयमा सरुवा भएको रमेश बढी नै व्यस्त थियो । बुढा बाबुआमा । ६ र ८ वर्षका स्कुले छोराछोरी । गोठमा एउटा दुहुनो भैँसी । खेतीका लागि थोरै जमिन । रोगीरोगी श्रीमती । गाउँको पढेको मानिस हुँदा थरीथरीका सामाजिक दायित्व । त्यसमाथि सरुवा मिलाइदिनेहरुप्रति पटक पटक पु-याउनु पर्ने कोसेली र जी हजुरी । अनि बेलाबेलामा आइलाग्ने अतिरिक्त आकस्मिक बोझहरु । यी सबै थेगेर धुरी खामो जस्तै बनी स्कुलको जागिर पनि धान्नु परेको छ ।
साँझको खानाखाई ओछ्यानमा पल्टेपछि उसका मनमा द्वन्द्वात्मक यस्ता केही तर्कनाहरु तरङ्गित हुन्छन्–
– सजिलो त सरुवा नहुँदा नै थियो । जागिर पकाएपछि फुर्सदैफुर्सद ।
– परिवारसँग बसेर खाँदाको मजा नै फरक छ नि ।
– खानेबेलासम्म न हो । त्यसपछि त सास फेर्ने फुर्सदै नहुने ।
– र त रात सजिलै कट्छ । सुतेपछि एकैचोटि बिहान बिम्झिइन्छ ।
– कस्तो मैलो धैलो भएर बस्नु पर्ने । पक्का जङ्गली जस्तो ।
– ए, बाहिरी कुरा त मिलाए मिलिहाल्छ नि । मन सफा हुनुप-यो । मनै कालो पेटै कालो पो हुनु भएन ।
– छोराछोरी, श्रीमती, बाबुआमा, इष्टमित्र भनेरै जिन्दगी जाने भयो । खै त आफ्नो जिन्दगी, अाफू हुनुको अर्थ ?
छोरो अगाडि देखेपछि भने– “बाबु, तल बितल परे पनि अब त ढुक्क छु । तँ घरै छस् ।”
त्यही बेला कोठीमा बाबुको एकोहोरो खोकी र आमाको “ए ठुली, ठुली !” भन्दै गरेको आवाज आयो । बुहारी तातो पानी र घरेलु दबाई लिएर कोठीमा पसी । आमाले दबाई खुवाउन थालिन् । रमेश पनि पुग्यो । बुढा अलि सहज जस्ता देखिए । छोरो अगाडि देखेपछि भने– “बाबु, तल बितल परे पनि अब त ढुक्क छु । तँ घरै छस् ।” नमिठो मान्दै आमा र श्रीमतीले भने– “के सोच्नु भएको त्यस्तो ? केही हुन्न हजुरलाई ।”
रमेशले बाबुको पैतला समायो । मैला, हिलोले खाएका र छियाछिया भई फुटेका वृद्ध पैतला देखेर उसको मन त्यसै सन्न भयो । र पनि पैतला मिच्दै आमा र श्रीमतीतिर निहा-यो । अनुभव ग-यो–उनीहरुको अवस्था झन् टिठलाग्दो र विद्रूप । फेरि सोच्यो– यदि यिनीहरुले पनि आआफ्नो जीवनको अर्थ खोज्न थालेका भए यो दुनियाँ कस्तो हुन्थ्यो होला !




