हेल्लो आमा, सञ्चै हुनुहुन्छ ?
मैले बिहानै भालेको डाँकोसंगै बूढी भएकी मेरो आमालार्इ फोन गरें । म भेट्न जान नपाए पनि मलार्इ आज आमाको मुख हेर्ने दिन हो भन्ने राम्रैसँग याद थियो । आमाले छोरा पाउने आसमा ४ छोरी छोरी पाउनु भयो । सबैको हेला सहेर पनि आमाले अनेक दुखसुख गरेर हामी चार छोरीहरुलाई पढाउनु भयो । आमाको पालामा छोरा र छोरीमा निकै विभेद थियो । छोरी जन्माएकै कारण आमाले धेरै रुनु पर्यो रे, धेरैं दुख कष्ट सहनु पर्यो । तर आज आमाले झेलेको दुख, बगाएको पसिना, गरेको मेहनेतले पूर्णता पाएको छ ।
आज हामी चार दिदी बहिनी सबै राष्ट्रको सेवक भएका छौं । कोही डाक्टर, कोही नर्स, कोही प्रहरी अनि म पत्रकार । ठूली दिदी डाक्टर हुनुहुन्छ । अहिले हजारौ बिरामीहरु कोरोनाबाट संक्रमित भएका छन् । उहाँ बिरामीको आत्मबल बढाएर कोरोना रोग ठीक पार्न अहोरात्र आफ्नो ज्यानको बाजी लगाएर खटिरहनु भएको छ, घर परिवार केही नभनी । माइली दिदी पनि नर्स हुनहुन्छ । उहाँको पनि अवस्था ठूली दिदीको भन्दा कम छैन । संक्रमित व्यक्तिहरुको हेरविचार र सेवामा अनवरत व्यस्त हुनुहुन्छ । भर्खर जन्मेको काखे बालकलाई छोडेर दूध पनि नचुसाइकन आफु क्वारेन्टाइमा बसेर भए पनि बिरामीको स्याहारमा कुनै आँच आउन दिनु भएको छैन ।
उता, साहिली दिदी पनि प्रहरी हुनुहुन्छ । न भोक, न तिर्खा न रातदिन नभनेर एक पोका चाउचाउको भरमा चर्को घाम र छिन मै पर्ने पानीमा भिजेर जनताको सेवामा खटिरहनु भएको छ । देश र जनताको रक्षाका लागि । अनि कान्छी म लकडाउनले सबै घरभित्र बसेका सबै जनतालाई यथार्थ सूचना प्रवाह गर्न आफ्नो कार्य थलोमा गएर सत्य, तथ्य समाचार सम्प्रेषणमा निरन्तर जुटेको छु । संसार कोरोनाले आक्रान्त छ । दिनानुदिन कोरोना संक्रमित को संख्या थपिएको छ । एक जनाबाट शुरु भएको संक्रमण यतिवेलासम्म ४५ जनामा पुगिसकेको छ । थाहा छैन, अझै यो क्रम कहिलेसम्म चल्छ र कसरी अगाडी बढ्छ ?
आज हामी चार दिदी बहिनी सबै राष्ट्रको सेवक भएका छौं । कोही डाक्टर, कोही नर्स, कोही प्रहरी अनि म पत्रकार । ठूली दिदी डाक्टर हुनुहुन्छ ।
कहाँ कति वेला को को सङक्रमित भए र सरकारले के के प्रयास गरेको छ भन्ने सूचना छिन छिनमा प्रवाह गर्नु मेरो प्रमुख कर्तव्य हो । आमा, हिजो हजुरले मेसेन्जरमा हामी सबैलाइ फोन गर्नु भएको रहेछ, दिदीहरुले फोन उठाउन नमिलेको कुरा गर्नु भएको थियो । मातातीर्थ औशीको दिन पनि जान नमिल्ने भनेर दुख मान्दै हुनुहुन्थ्यो । फोन नम्बरसम्म थिच्न नजान्ने मेरी आमालाई पल्लो घरकी भाउजूले फोन लगाईदिनु भएको रहेछ । संयोगबस हामी चारै दिदी बहिनीहरु व्यस्त भएकाले फोन उठाउनसमेत सकेनौ । जिम्मेवारीका कारण आमाको फोन पनि बेवास्ता गर्दै खटिरह्यौ दिनभर । क्षमाप्रार्थी छौं आमा हामी ।
आज हजुरले जुन कुरा भन्नु भयो नि हामीमा खुशीको सिमा नै छैन । हजुर अनपढ र अशिक्षित भए पनि हजुरको जुन महान् विचार र सोच छ, त्यसलाइ जो कसैले नकार्न सक्दैन । खुल्ला ह्रृदयले प्रशंसा गर्नैपर्छ । आमा, हामीले मात्रै होइन सम्पूर्ण नेपाली छोराछोरीले । मेरो फोन तिमीहरुले नउठाएर के भो त बा, म बुझ्छु नि तिमीहरुको बाध्यता, तिमीहरु आआफ्नो जिम्मेवारीमा खरो उत्रेका छौ । यति वेला नेपाल आमाको सेवानै महत्वपूर्ण र अपरिहार्य छ छोरी । मैले दिएको संस्कार तिमिहरुले भूलेका छैनौ यसमै मलाइ गर्ब छ बा । आफ्नो ज्यानको बाजी लगाएर तिमीहरु जिम्मेवारी र कर्तव्य पूरा गर्नमा लागि परेका छौं । आफ्नो कर्तव्य र जिम्मेवारी तिमीहरुले पूरा गर्नु नै मेरो लागि सबैभन्दा ठूलो उपहार र खुशी बनेको छ । छोरी कत्ति पीर नगर बा तिमीहरु । आमाको मुख हेर्नको लागि सारी, चोलो, मिठाइ र फलफूल चाहिन्छ भन्ने कदापि होइन नानी । मेरो मेहेनत, मेरो परिश्रम र मैले सिकाएको कर्तव्य, जिम्मेवारी र अनुशासनको पाठ कहिल्यै नभुल है ।
म सरकार जस्तै बहिरो र अन्धो हुन सक्दीन । छोरी फोन उठाउन नसकेकै भरमा सजायको भागिदार बनाउने र रिसाउने गर्न सक्दिनँ म ।
म एउटी आमालाई खुशी पार्न र मेरो मुहार हँसाउन भन्दा नेपाल आमाको मुहारमा हाँसो ल्याउन सके म यसैमा धेरै खुशी हुन्छु छोरी । आज मैले छोरा नपाएकोमा कुनै दुख छैन मलाई, कुनै आपत्ति छैन । मेरा छोरीहरु आज राष्ट्रको धरोहर, सुनौलो गहना भएका छन् देशको सेवक भएका छन् । यहि नै मेरो लागि अमूल्य उपहार भएको छ। तिमीहरुसंग जताततै जान पाउने पास छ, तर म तिमीहरु त्यो पासको प्रयोग गरेर मेरो मुख हेर्न आउ म भन्न चाहन्न । किनकी अहिले देशलाई तिमीहरुको खाँचो छ ।
म सरकार जस्तै बहिरो र अन्धो हुन सक्दीन । छोरी फोन उठाउन नसकेकै भरमा सजायको भागिदार बनाउने र रिसाउने गर्न सक्दिनँ म । मेरा छोरी जस्ता डाक्टरहरु जो अहोरात्र खटिएका छन्, यस्तो संकटको घडीमा, उनीहरुलाई मनोवल बढाउन खाँचो छ यतिवेला । तर म सुन्दै छु, सरकारबाट मनोबल गिराउने प्रयास भइरहेको छ । अरु त के भनौ र छोरी तिमीहरु देश र जनताको हितकै निम्ति निरन्तर, अविचलीत लागि रहनू है, मेरो यही शुभकामना र शुभ आर्शिवाद छ तिमीहरुलाई ।्
आमाले हासेर फोनमा कुरा गर्नुभयो । मलाई आमाको मुख हेरेभन्दा बढी असीम आनन्द प्राप्त भयो । म खुसीले गदगद भएँ ।









