पोखरा देखि एक्लै पैदलयात्रा गर्दै मुस्ताङ आएकी एक महिलालाई मुस्ताङको थासाङ गाउपालिका–४ घासाको क्वारेन्टाईनमा पठाईएको छ ।
क्वारेन्टाईन पठाईएकी महिला १० दिनअघि पैदल यात्रा गर्दै पोखराबाट मुस्ताङ हानिएकी थिईन् । उनलाई घासा प्रहरी चौकी तथा स्थानीय वडा प्रतिनिधिको रोहबरमा सोमबार साँझ करिव ८ बजे क्वारेन्टाईनमा पठाईएको थासाङ –४ का वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए ।
क्वारेन्टाईन पठाईएकी अन्दाजी ३० वर्षिया महिला थासाङ–४ झिप्रा देउरालीकी हुन् ।उनलाई क्वारेन्टाई व्यवस्थापन समितिले जनता आधारभुत विद्यालयको महिला क्वारेन्टाई गृहमा राखेको वडाध्यक्ष शेरचनले बताए । कोरोना भाईरस प्रति सचेत रहेकी उक्त महिला क्वारेन्टाईनमा बस्न राजी भएको शेरचनले खुलाए । आईतबार पोखराबाट पैदलयात्रा गरी सिमाक्षेत्र घासा आईपुगेका ३ युवा र ट्रकमा चढेर आएका १ युवालाई समेत पुरुष क्वारेन्टाईनमा राखिएको छ । लक डाउनको पहिलो चरणमा आएका ७ युवाले १४ दिन बिताएर स्वास्थ्य परीक्षण गरी घर पठाईएको वडाध्यक्ष शेरचनले उल्लेख गरे ।
थासाङको घासामा १६ बेडको ४ कोठे क्वारेन्टाईनको व्यवस्था गरिएको छ ।यो संगै मुस्ताङको थासाङ–४ घासा क्वारेन्टाईनमा बस्नेको संख्या अब १२ जना पुगेको छ । यस्तै घरपझोङ–१ र घरपझोङ–३ मा ५ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ
मुस्ताङका ५ स्थानीय तहले १६ स्थानमा ९६ बेडको क्वारेन्टाईन स्थापना गरेका छन् । पछिल्लो समय मुस्ताङ आउनेको संख्या बढेकाले क्वारेन्टाईन क्षमता बढाउन स्थानीय तहलाई सुझाईएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जानकारी दिए ।
फोटो क्याप्सन : थासाङको घासा क्वारेन्टाईन ।




