नोबेल कोरोना
मृत्युको अर्काे नाम बन्न खोज्दै छ ।
यस्तो सन्त्रासमा
याङ्की सनकमान सिंहवादी
महास्वाँठ डोनाल्ड ट्रम्पहरु
खुलस्त देखियो, लन्ठु ट्रम्पहरुको गति पनि
नवऔपनिवेशवादको झ्यानाकुटी
प्रजातन्त्र र मानवअधिकारको स्वाङ
महास्वाँठ ट्रम्पहरुलाई भन्नु केही छैन
भन्नु छ, आफ्नै प्रिय मान्छेहरुलाई
सपनाका चुचुरो टेकेकाहरुलाई
चुचुरो चुम्ने सपना बुनिरहेकाहरुलाई
होनहार नेपाली युवालाई
विश्वमै हुँकार गरिरहेको प्रकोपसँग
हामीहरुले धेरै कुरा सिक्नुपर्नेछ
१८ घण्टा ती देशमा घोटिनुभन्दा
रुम ब्वाय, हेल्पर र स्वीपर बन्नुभन्दा
बरु, स्वदेशमै ८ घण्टा गिट्टी कुटौं
आफ्नै खेतबारीमा हलगोरु नारौं
सके चलाऔं ट्याक्टर र मिनी ट्याक्टर
हाम्रा यी पौरखी हातहरुले
आफ्नै खेतबारीलाई सम्याउँ
डल्ला फुटाऔं, आँठा खनौं
लहलह पारौं अन्नका बाला
फूलहरु रोपौं र बगैचा सजाऔं
कोही छैनन् महाशक्तिशाली र दुर्वल देश
कहीँ छैनन् सपना र विपनाका भूखण्डहरु
हामीलाई यस्तो साझा अनुभूति होस्
यो सुन्दर फूलबारी हामी सबैको साझा हो
हामी सबै फूलबारीको साझा अंसियार हौं




