कविताः महामारी कविता

महामारीमा त
महामारीले नै लेखिरहेको हुन्छ कविता

कयौँ हुल मजदुर कविताहरु
झिटीगुन्टा बोकेर
पैदलैै पैदल
आफ्नो देश फर्किए

अर्का थरि भोका कविता
ओछ्यान बनाएर सुते सडकलाई
आमा कविताको खुट्टालाई सिरानी बनाएर
भुइँमै सुते बालक कविताहरू

महामारीमा पनि
शासकको सयनकक्षमा
चलिरहन्छ मादक काव्य

महामारीमा त
महामारीले नै लेखिरहेको हुन्छ कविता

महामारीमा त
अदना शरीरमाथि
मृत्युले लेखिरहेको हुन्छ कविता

हो, त्यतिबेला तेजिलो भित्तामा होइन
विक्षुब्ध आँखामा लेखिएको हुन्छ कविता ।